स्थानीय तहको चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

स्थानीय तहको चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

  काठमाण्डौ, पुस ३० । स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज शुक्रवार सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने आयोगले जनाएको छ ।

बिहान ११ बजेपछि सुरु हुने बैठकमा आयोगले पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाएको छ । आयोगका पदाधिकारीले गएको कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पालिकाको चुनाव निर्धारित मितिमै गर्नुपर्ने सुझाव दिएका थिए । गएको पुस ९ गते प्रधानमन्त्री देउवालाई भेटेर आयोगका पदाधिकारीले वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए । तर सरकारले अहिलेसम्म यसबारे कुनै निर्णय गरेको छैन । आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले दलहरूसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने जानकारी दिनुभएको थियो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्ने व्यवस्था छ । साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ । 

 दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा, दृष्टिविहीनले समेत पहिचान गर्न सक्ने

दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा, दृष्टिविहीनले समेत पहिचान गर्न सक्ने

  काठमाण्डौ, पुस ३० । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको छ ।

यस्तै सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ । त्यसैगरी सिक्को पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र रही त्यसको भित्र वर्गाकार आकृतिको बाहिरिपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति रहेको छ । 

आज ३ हजार ७५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

आज ३ हजार ७५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

दाङ, पुस २८। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएको छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

यस्तै, गरी २४ घण्टामा २ सय ७८ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले जानकारी दिनुभयो ।

 नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा

नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा

  काठमाण्डौ, पुस २८ । नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगको छन् । 

ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।

पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

पहिलो पटक विश्व वरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्सले धेरै खुसी व्यक्त गर्दै यसले अझै राम्रो गर्न प्रेरणा दिने बताएका छन् । दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार पाँच सय अङ्क छ ।

मलेसियाका जस्टिन होह नौ हजार पाँच सय ९० अङ्कसहित दोस्रो स्थानमा रहँदा मलेसियाकै मोहम्मद रजिफ ६ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन् ।

 सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

  काठमाण्डौ, पुस २८ । कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्ट सङ्क्रमणको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ । कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्र पत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

मन्त्रालयले आज बुधवार निकालेको सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा प्रवेश पाउनेछन् ।

चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गयो, ५ वर्षीया बालिका घाइते

चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गयो, ५ वर्षीया बालिका घाइते

  स्याङ्जा, पुस २८ । स्याङ्जाको वालिङ नगरपालिका १० भकुण्डेमा आज बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएको छ । 

पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेका हुन् । उनले वालिङ १२ सिर्सेकोट घर भइ एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । 

 निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

  काठमाण्डौ, पुस २८ । निर्वाचन आयोगले पर्सि शुक्रवार २९ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ ।

माघ १२ गते राष्ट्रिय सभा चुनावसँगै पालिका र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

पालिका, प्रदेश तथा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १६ दललाई बैठकमा बोलाइएको प्रवक्ता पौडेलले बताउनुभयो । छलफलमा पालिकाको मिति घोषणाबारेमा छलफल हुने उहाँको भनाइ छ । 

आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयोगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । आयोगका पदाधिकारीले गएको ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका भए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । विं।सं। २०७४ सालको वैशाख र असारमा पालिकाको चुनाव भएको थियो ।

 नारायणहिटी दरबार सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशकलाई कारबाही गर्न सिफारिस

नारायणहिटी दरबार सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशकलाई कारबाही गर्न सिफारिस

  काठमाण्डौ, पुस २८ । नारायणहिटी दरबार सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशकसहित संलग्नहरूलाई सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्बन्धित निकायलाई सिफारिस गरेको छ ।  

प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालसहितलाई कारबाहीको सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले हिजो मङ्गलवार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा दिनुभएको थियो ।  

दाहाल नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिमा २०७६ साल पुसमा नियुक्त हुनुभएको थियो । उहाँ नारायणहिटी प्रवेश गरेपछि बतास समूहलाई क्यान्टिन भाडामा लगाइएको थियो । तर बतासले क्यान्टिनसँगै राजाहरूले प्रयोग गर्ने बङ्कर र वरिपरिको १४ रोपनी जग्गामा भौतिक संरचना बनाएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले अस्ति सोमवार  प्रतिवेदन दिँदै दाहालको कमजोरी औँल्याएको थियो ।

 दाङमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम गर्न नपाईने

दाङमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम गर्न नपाईने

दाङ, पुस २७ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दाङमा कुनै पनि मेला महोत्सव, भेला, सभा तथा सम्मेलनलाई रोक लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको विपत व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण दर बढ्ने अबस्थामा रहेको भन्दै २५ जना भन्दा बढी भेला हुने कुुनै पनि कार्यक्रममा रोक लगाउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले मेला महोत्सव तथा भेलाबाट कोरोना संक्रमणको दर बढ्ने देखिएकाले अबस्था सहज नहुदा सम्म त्यस्ता कार्यक्रमहरुलाई रोक लगाउने निर्णय भएको हो । अन्य ठाउँहरुमा पनि २५ जना भन्दा बढी मानिसहरुको जमघट नगर्ने, अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, सावुुन पानी वा स्यानिटाईजरले हातलाई सफा राख्ने कार्यलाई अनिवार्य पालना गर्ने गराउने निर्णय समेत भएको छ ।

त्यस्तै गरी भारत सहित बहिरी देशहरुबाट आउने नागरिकहरुको वडा तहबाट निगरानी गर्ने, सुरक्षित रहन स्वय व्यक्तिले साबधानी र होसियारी अपनाउनुु पर्ने भएको छ । साथै संक्रमितहरुको उपचारका लागि स्रोत साधन, जनशक्तिलाई तयारी अबस्थामा राख्ने तर्फ काम गर्ने समेत निर्णय भएको छ ।