पीएम कप  : एपीएफ र प्रदेश २ विजयी

पीएम कप : एपीएफ र प्रदेश २ विजयी

  काठमाण्डौ, पुस २७ । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा एपीएफले वाग्मती प्रदेशलाई सात विकेटले हराएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज मङ्गलवार भएको खेलमा वाग्मतीले दिएको एक सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमव ४ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । बलिङतर्फ वाग्मतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिस जिसीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । वाग्मतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे । बलिङतर्फ एपीएफका अविनाश बोहराले चार विकेट लिए । 

यस्तै आजै भएको अर्को खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई दुई विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले दिएको एक सय १७ रनको लक्ष्य प्रदेश २ ले १८ दशमलव १ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रदेश २ का लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रनको योगदान गरे । यस्तै सन्तोष कार्कीले २१ बलमा २३ रन जोडे । बलिङतर्फ गण्डकीका कृष्ण पौडेलले तीन विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले २० ओभरमा सात विकेट गुमाएर एक सय १६ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रनको योगदान गरे । यस्तै सन्दीप क्षेत्रीले २७ रन जोडे । बलिङतर्फ प्रदेश २ का मोहम्मद आदिल आलमले दुई विकेट लिए । 

 माधव नेपाललाई कोरोना सङ्क्रमण

माधव नेपाललाई कोरोना सङ्क्रमण

  काठमाण्डौ, पुस २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष नेपालको हिजो सोमवार कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँलाई आज मङ्गलवार कोरोना पुष्टि भएको हो । 

अहिले उहाँ घरमै आइसोलेशनमा बसिरहनुभएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पुष्टि भएको थियो । उहाँहरू पनि होम आइसोलेशनमा हुनुहुन्छ । 

 नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा

  काठमाण्डौ, पुस २७ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।

कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको हो । कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ । 

‘नारायणहिटी दरबार सङ्ग्रहालयमा मैले सही मनसायले काम गरेको छु । विभिन्न सञ्चारमाध्यममा गलत तथा दुष्प्रचार र नेपाल सरकारले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा छानबिन समिति समेत गठन गरेकाले त्यो समितिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नैतिकताका आधारमा त्यस पदमा रहेर मैले काम गर्न उचित नभएकाले राजीनामा पेस गरेको छु’, कार्यकारी निर्देशक दाहालको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

अहिले नारायणहिटी सङ्ग्रहालयको विवाद बढ्दै गएको छ । बतास समूहले नारायणहिटी सङ्ग्रहालयमा मनमौजी संरचना निर्माण गरेको आरोप पनि लागेको छ । 



 आज एकै दिन २ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि

आज एकै दिन २ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि

  काठमाण्डौ, पुस २७ । पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा १६ दशमलव २५ प्रतिशत अर्थात् दुई हजार चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय १३ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १४ हजार सात सय ९८ पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय सात पुगेको छ ।

यस्तै अहिले नेपालमा नौ हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८० हजार चार सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

 एमालेको प्रदेश अधिवेशन सर्‍यो

एमालेको प्रदेश अधिवेशन सर्‍यो

  काठमाण्डौ, पुस २७ । नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उहाँले बताउनुभयो ।  

 नेप्से झन्डै ५० अङ्कले बढ्यो, यी ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्से झन्डै ५० अङ्कले बढ्यो, यी ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

  काठमाण्डौ, पुस २७ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार १९ अङ्कले बढेको नेप्से आज ४९ दशमलव १९ अङ्कले बढेर दुई हजार आठ सय ३४ दशमलव १३ विन्दुमा पुगेको छ । 

आज उत्पादनबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको शेयर ६ दशमलव १५ प्रतिशतले बढेको छ । 

आज दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जीको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

 कालापानी, लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहँदा पनि सरकार मौन छ, यसले प्रश्न उठेको छ : एमाले

कालापानी, लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहँदा पनि सरकार मौन छ, यसले प्रश्न उठेको छ : एमाले

  काठमाण्डौ, पुस २७ । लिपुलेकको नेपाली भूमिमा भारतले सडकलगायतका संरचना बनाइरहँदा पनि सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डाक्टर राजन भट्टराईले आज मङ्गलवार विज्ञप्ति निकालेर सीमालगायत थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमति विपरीत भारतले नेपाली भू–भागमा सडकलगायत संरचना निर्माण गरेकोमा एमालेको ध्यानाकर्षण भएको बताउनुभएको हो । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेले जनाएको छ ।  

राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौँ प्रश्न उठेको विज्ञप्तिमा भनिएको छ । साथै एमालेले भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू–भागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।

नेपाल –भारत संयुक्त  आयोगको बैठकमा सीमालगायत दुई देशबीच थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी सहमति भए पनि त्यसको विपरीत भारतीय पक्षबाट संरचना निर्माणलाई तीव्रता दिएको भन्दै एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 


 भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

  काठमाण्डौ, पुस २७ । आज देशभरको मौसम आंशिक बद्ली रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ ।

भोलि पनि प्रदेश-१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपात हुनेछ ।

देशका अन्य प्रदेशमा भने मौसम सफा नै रहने अनुमान गरिएको छ । हुम्लामा भने हिजोअस्ति जस्तो आज हिमपात नहुने मौसमविद्ले बताएका छन् । धेरैजसो ठाउँमा केही दिनयता पारिलो घाम लागेको छैन ।

 विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

बीबीसी

दाङ, पुस २७ । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ ।

आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति भएका छन् । मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने आशा व्यक्त गरेका छन् ।

डाक्टरका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले सुँगुरको मुटु प्रत्यारोपणको प्रक्रिया गर्न विशेष छुट दिएको थियो ।

सुँगुरको मुटु प्रत्यारोपण गर्ने डाक्टरको टोलीले परीक्षण सफल भएपछि विश्वभरका मानिसको जीवनलाई परिवर्तन गर्न सक्ने आशा जगाएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

शल्यचिकित्सक बाट्र्ली पी। ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ ।

अहिले अमेरिकामा मात्रै दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ । यसअघि सन् २०२१ को अक्टोबरमा न्युयोर्कमा मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो ।