प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

  काठमाण्डौ, पुस २७ । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई र मुलपानी मैदानमा दुई वटा खेल हुनेछन् । त्रिवि मैदानमा आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्।

हिजो भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई र पुलिसले सुदूरपश्चिमलाई हराएको थियो ।

यस्तै त्रिवि मैदानमा आज हुने दोस्रो खेलमा वाग्मती प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।

वाग्मतीले हिजो भएको खेलमा लुम्बिनीलाई र एपीएफले प्रदेश–२ लाई हराएको थियो । काठमाण्डौको मूलपानी मैदानमा आज हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली तथा दोस्रो खेलमा प्रदेश–२ र गण्डकी प्रदेश खेल्दैछन् ।

हिजोदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। 

आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

  काठमाण्डौ, पुस २७ । आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो ।

शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ ।

आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाण्डौ ल्याएको छ । शाहले एकीकरणका बेला तय गरेको बाटोबाट सेनाले टर्च ल्याएको हो । हनुमानढोकामा राखिएको टर्च आज जङ्गी अड्डा लगिने सेनाले जनाएको छ ।

एकीकरण पदयात्राको टोली पुस २१ गते टर्च लिएर गोरखाबाट हिँडेको थियो । यसैबीच राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखेर ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजको दिनले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।

पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरी जनचाहना र प्रगतिसँग सरोकार नराख्ने प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताउनुभएको छ । आज सरकारले सार्वजनिक बिदा दिएको छैन । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका विभिन्न दल र नेताले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्दै आएका थिए । 

 लमहीमा कपडा गोदाममा आगलागी हुँदा २५ लाख बराबरको क्षति

लमहीमा कपडा गोदाममा आगलागी हुँदा २५ लाख बराबरको क्षति

  दाङ, पुस २७ । दाङको लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको छ ।

विद्युतको तार सर्ट भएर भएको आगलागीबाट २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ ।

आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका छन् ।

 काठमाण्डौ र ललितपुरका बालबालिकालाई आजदेखि खोप

काठमाण्डौ र ललितपुरका बालबालिकालाई आजदेखि खोप

  काठमाण्डौ, पुस २७ । काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइँदैछ ।

भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन सुरु भए पनि काठमाण्डौ र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो ।

आजदेखि विद्यालय बन्द गर्ने सरकारले निर्णय गरे पनि बालबालिकाका लागि विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको छ ।

पालिकाहरुले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका छन् । काठमाण्डौमा मात्रै करिब दुई लाख ७० हजार बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । सरकारले तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ ।

यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्नाको पहिलो खोप दिइएको छ । काठमाण्डौ उपत्यकासहित बाँकी २० जिल्लामा फाइजर खोप दिने भनिए पनि सरकारले अहिलेलाई काठमाण्डौ र ललितपुरमा मात्र फाइजर खोप दिन लागेको हो । काभ्रेमा पनि बालबालिकालाई खोप दिन सुरु भएको छ ।

चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा पनि बालबालिकालाई छिटै खोप लगाइने सरकारले जनाएको छ ।

 चोरी मुद्दामा फरार दुई जना पक्राउ

चोरी मुद्दामा फरार दुई जना पक्राउ

दाङ, पुस २६ । दाङ प्रहरीले चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका १ निवासी गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले सुनको बाला ५ थान, मंगलसुत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक थान मोबाइल सेट बरामद गरेको छ ।  

पक्राउ पर्नेमा राप्ती गाउँपालिका १ निवासी अन्दाजी १८ बर्षीय वशन्त खत्री र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षिय खेमराज चौधरी रहेकोे प्रहरीले बताएको छ । खत्री र चौधरीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 लुम्बिनीलाई हराउँदै वाग्मतीको विजयी सुरुवात

लुम्बिनीलाई हराउँदै वाग्मतीको विजयी सुरुवात

  काठमाण्डौ, पुस २६ । वाग्मती प्रदेशले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

आज सोमवार भएको खेलमा एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलव ४ ओभरमा ६५ रनमै समेटियो । कप्तान कृष्ण कार्कीले १६ र बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । वाग्मतीका लागि नन्दन यादवले तीन विकेट लिए । यस्तै रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुईरदुई विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । वाग्मतीका लागि सुवास खुकुरेलले ५१ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुईरदुई विकेट हात पारे ।

प्रतियोगितामा भोलि मङ्गलवार पनि चार खेल हुनेछन् । मुलपानी र कीर्तिपुर मैदानमा गरी दुईरदुई खेल हुनेछन् । 

 प्रदेश २ लाई हराउँदै एपीएफको विजयी सुरुवात

प्रदेश २ लाई हराउँदै एपीएफको विजयी सुरुवात

  काठमाण्डौ, पुस २६ । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले प्रदेश नम्बर २ लाई २४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । 

कीर्तिपुरको त्रिवि मैदानमा आज सोमवार भएको खेलमा एक सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो । उसका हरिशंकर साहले २६ बलमा ३६ रन र मोहमद आदिल आलमले १४ बलमा ३५ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

बलिङतर्फ एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुईरदुई विकेट लिए । यस्तै शरद भेषवाकर र किशोर महतोको नाममा एकरएक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६३ रन जोडेको थियो । एपीएफका लागि आसिफ शेखले ६३ र प्रदीप ऐरीले ६० रनको योगदान गरे ।

बलिङतर्फ प्रदेश २ का रितेश सिंहले चार विकेट हात पार्दा विवेक यादवले एक विकेट लिए । 

 छानबिन समितिले प्रतिवेदन बुझायो, दोषीलाई कारबाही गर्ने मन्त्री आलेको प्रतिबद्धता

छानबिन समितिले प्रतिवेदन बुझायो, दोषीलाई कारबाही गर्ने मन्त्री आलेको प्रतिबद्धता

  काठमाण्डौ, पुस २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।

दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका विषयमा गठन गरिएको छानबिन समितिले आज सोमवार प्रतिवेदन बुझ्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि दिइएको अनुमतिका विषयमा छानबिन समितिले प्रतिवेदन पेस गरेको छ, समितिले पेस गरेको प्रतिवेदनमा कमजोरीहरू उल्लेख गरिएको छ, ती कमजोरी गर्ने जिम्मेवार व्यक्ति वा संस्थालाई कानुनअनुसार कारबाही हुन्छ ।’

मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने अहिलेसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि तीन दिनअघि एक समिति गठन गरिएको थियो । प्रतिवेदनमा क्यान्टिनरक्याफेटेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरिएको छ । 

यसैगरी सम्झौता विपरीत बि म्यानेजमेन्ट प्रालिले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकले कुनै कानुनी कारबाही नगरेको पनि प्रतिवेदनमा भनिएको छ । 

छानबिन समितिमा मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा र समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहनुभएको थियो ।

मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिनुभएको थियो ।समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो । 

 ललिता निवास जग्गा हिनामिनासम्बन्धीको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता, हदम्यादले मुद्दा नरोकिने

ललिता निवास जग्गा हिनामिनासम्बन्धीको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता, हदम्यादले मुद्दा नरोकिने

  काठमाण्डौ, पुस २६ । बालुवाटारको ललिता निवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाण्डौले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै फर्काएको छ । जग्गा हिनामिनामा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन आज सोमवार सीआईबीमै फर्काएको हो ।

अनुसन्धानमा केही कुरा अपुग देखिएको र केही विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले फिर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख गंगाप्रसाद पौडेलले बताउनुभएको छ । थप के–कस्ता विषयमा अनुसन्धान गर्नुपर्ने हो भन्नेबारेमा खुलेको छैन ।

सीआईबीले सरकारी कागजात किर्ते गरेको भन्दै ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका रामकुमार सुवेदी र उहाँकी पत्नी माधवीलाई यही पुस ७ गते पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका सिलसिलामा अरू पनि दोषी देखिएको भन्दै तीन सय जनाभन्दा धेरैलाई मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको थियो ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार किर्ते मुद्दामा थाहा पाएको दुई वर्षभित्र मुद्दा चलाइसक्नुपर्छ । यसअनुसार ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दा दायर गर्ने हदम्याद आज नै सकिएको छ । तर दुई वर्षे म्यादले मुद्दा नरोकिने जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख पौडेलले बताउनुभएको छ ।