आज स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना गरिँदै

आज स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना गरिँदै

  काठमाण्डौ, असोज २५ । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना गरिँदै छ।

नवदुर्गाको पाँचौं दिनमा शक्ति स्वरुपा देवी स्कन्दमाताको पूजाआराधना गरिन्छ भने असोज शुक्ल षष्ठी तिथिमा शक्तिस्वरुपा देवी कात्यायनीको पूजा गरिन्छ ।

स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । यस्तै, कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय मान्यता छ।  

 बुटवलको मोतीपुरमा कर्फ्यु कायमै, सुरक्षा समन्वय समितिको बैठक बस्दै

बुटवलको मोतीपुरमा कर्फ्यु कायमै, सुरक्षा समन्वय समितिको बैठक बस्दै

 बुटवल , असोज २५ । बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु लागेको छ ।

झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो । त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।

हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि गोली चलाएको प्रहरीले जनाएको छ । झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ ।

 मन्त्रीहरूलाई माधव नेपालको निर्देशन : ‘बदनामी कमाउने र विवादमा पर्ने काम नहोस्’

मन्त्रीहरूलाई माधव नेपालको निर्देशन : ‘बदनामी कमाउने र विवादमा पर्ने काम नहोस्’

  काठमाण्डौ, असोज २४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र कर्तव्यनिष्ठाका साथ देश र नागरिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । 

पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आज आइतवार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले इमानदारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताउनुभयो । उहाँले देश र नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराउनुभयो । कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उहाँले सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, ‘तपाईँहरूले इमानदारिताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । काम गर्दा देशको हितलाई र आफूले जिम्मेवारी सम्हालेको संस्थाको हितलाई केन्द्रविन्दुमा राखेर अनि नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर तपाईँहरूले काम गर्नु हुनेछ ।’

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुन नहुनेमा जोड दिनुभयो । पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न उहाँले निर्देशन दिनुभयो । कुनै पनि प्रकारका दुर्व्यसन र आचरणसँग जोडिने काम नगर्न अध्यक्ष नेपालले निर्देशन दिनुभयो । उहाँले गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गर्नुभयो । मन्त्रीहरूको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । 

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडि नै सामूहिक रूपमा बसेर, छलफल गरेर, साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताउनुभयो । सिङ्गो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जसरअपजसको भागीदार सबै मन्त्री हुने उल्लेख गर्दै उहाँले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई समेत जानकारी गराइ, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । 

 बाँके घटनाका दोषीमाथि कारबाही हुन्छ : गृह मन्त्री

बाँके घटनाका दोषीमाथि कारबाही हुन्छ : गृह मन्त्री

  काठमाण्डौ, असोज २४ । गृह मन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । गृह मन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताउनुभएको हो । 

आज आइतवार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले त्यो घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दै गृह मन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस क्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाली नागरिकको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली नागरिकले अनाहकमा जीवन गुमाउन नपरोस् भन्नेमा हामी गम्भीर छौँ । नागरिकको जीवन रक्षाका लागि, महिला दिदीबहिनीहरूको रक्षाका लागि राज्य र सरकार गम्भीर छ । यी भएका घटनाहरूको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अब कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुनअनुसार नै कारबाही हुन्छ ।’

गृह मन्त्री खाणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको बताउनुभयो । 

त्यस क्रममा महिला अधिकारकर्मीहरूले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । महिला सुरक्षा दबाब समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनुपरेको बताउनुभयो । उहाँले सरकारले यो घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न कुनै चासो नदिएको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

महिला अधिकारकर्मीहरूले यो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगञ्जबाट पैदल नै काठमाण्डौ आइ शान्तिपूर्ण प्रर्दशन गरिरहेकाहरूलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

 लुम्बिनीमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

लुम्बिनीमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

  काठमाण्डौ, असोज २४ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।  

योसँगै अब लुम्बिनीमा १६ सदस्यीय मन्त्रिपरिषद् भएको छ । 

को–को भए मन्त्री र राज्यमन्त्री ?



 बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गयो

बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गयो

  रुपन्देही, असोज २४ । रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको ज्यान गएको हो ।

उपचारका लागि पाँच जना प्रहरीसहित १३ जनालाई ल्याएकोमा तीन जनाको अस्पताल आइपुग्दा नै ज्यान गइसकेको र थप एक जनाको उपचारका क्रममा ज्यान गएको युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा सबै सर्वसाधारण रहेका छन् । ज्यान गुमाउनेमध्ये एक जना कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियार रहेका छन् । अरूको भने पहिचान खुलेको छैन ।

पाँच जना प्रहरी र चार जना सर्वसाधारण गरी नौ जनाको उपचार भइरहेको गुरुङले बताउनुभयो । ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीयवासी प्रहरीमाथि जाइ लागेका थिए । त्यही बेला झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले चार किल्ला तोकेर आज दिउँसो चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

 लुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार बनाउने, ३ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता पत्रमा हस्ताक्षर

लुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार बनाउने, ३ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता पत्रमा हस्ताक्षर

  काठमाण्डौ, असोज २३ । बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार बनाउने भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तयाबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र बङ्गलादेशबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बौद्ध विहार बनाउन लागेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीको पश्चिम क्षेत्रमा रहेको प्लट नम्बर डब्लुसीमा ८० वर्गमिटर क्षेत्रफलमा विहार बनाउने गरी बङ्गलादेशले सम्झौता गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बङ्गलादेशले बौद्ध विहार बनाएपछि लुम्बिनीमा प्रतिनिधिमूलक विहार निर्माण गर्ने देशको संख्या १८ पुग्नेछ ।

 थप सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

थप सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

  काठमाण्डौ,असोज २३ । पछिल्लो २४ घण्टामा नेपालभर थप सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ३१ जनाको नमुना परीक्षण गरेकोमा सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख एक हजार ६ सय ३३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार नौ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ सय ९९ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ७२ जना पुगेको छ ।

थप ११ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय २१ जना पुगेको छ । अहिले नेपालमा १५ हजार तीन सय ४० जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय १७ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ९० हजार नौ सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेको छ । ८१ लाख २७ हजार दुई सय ६२ जनाले पहिलो मात्रा खोप लगाएका छन् । 

 मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेकोमा दुस्ख लागेको छ : प्रधानमन्त्री देउवा

मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेकोमा दुस्ख लागेको छ : प्रधानमन्त्री देउवा

  काठमाण्डौ, असोज २३ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेको बताउनुभएको छ ।

बालुवाटारमा भएको विश्वेश्वरप्रसाद कोइराला स् शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले हिजो मन्त्रिपरिषद्लाई सङ्ख्यात्मक हिसाबले पूर्णता दिए पनि केही महत्त्वपूर्ण व्यक्ति छुटेको बताउनुभयो ।

केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दुस्ख लागेको देउवाको भनाइ छ । ‘सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन पाउनुभएको छैन, मलाई राम्रोसँग थाहा छ ’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि बल्ल हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । त्यसमाथि प्रधानन्यायाधीशका आफन्तलाई समेत भागबण्डामा मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।