इन्टरनेट बैंकिङबाट २० लाखसम्म भुक्तानि

इन्टरनेट बैंकिङबाट २० लाखसम्म भुक्तानि



काठमाडाैं, फागुन २० । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ । बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न व्यवसायीलाई समस्या पर्दै आएको थियो । केन्द्रीय बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा दोब्बर गरेको हो ।

१० लाख बढी नगद कारोबारमा कडाइ गरेको राष्ट्र बैंकले विद्युतीय माध्यममा पनि अधिकतम १० लाख मात्र गर्दा व्यापारीलाई भुक्तानी दिन असहज हुँदै आएको थियो । विद्यतुीय कारोबारलाई अझ सहज बनाउन र व्यवसायीलाई भुक्तानी कार्य सहज बनाउन इन्टरनेट बैंकिङबाट पैसा ट्रान्सफर गर्दा अधिकतम २० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख, मर्चेन्ट बैंकिङबाट प्रतिदिन २० लाख र एकाउन्ट ट्रान्सफर २० लाख रुपैयाँको अधिकतम सीमा कायम गरिएको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

 

काठमाण्डौं, माघ २१ । ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आगामी दिनमा बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाईदिएपछि ट्राफिकले सुचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए ।

ट्राफिक जरिवाना ईसेवाबाट भुक्तानी गर्न सकिनेछ । ईसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ । ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमता अनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।

के टिकटकमाथि नेपालमा पनि प्रतिबन्ध लाग्दैछ ?

के टिकटकमाथि नेपालमा पनि प्रतिबन्ध लाग्दैछ ?

 

काठमाडौं, माघ १९ । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको टिकटक एपमाथि छिमेकी देश भारतमा प्रतिबन्ध लागेको सात महिना पुरा भएको छ । केही दिन अघि मात्रै भारत सरकारले टिकटक लगायतका चिनियाँ एपमाथिको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

आफ्ना नागरिको जानकारी चीन सरकारलाई उपलब्ध गराएको आरोप लगाइए पनि भारतमा टिकटक एपमाथि प्रतिबन्ध लाग्नुको मूख्य कारण दुई देशबीचको सम्बन्धमा आएको टकराव नै हो । अमेरिका लगायतका देशमा समेत बेलाबखत टिकटकमाथि प्रतिबन्ध लगाउने चर्चा चल्ने गरेको छ ।

तर पछिल्लो समय नेपालमा समेत एकाएक टिकटकमाथि प्रतिबन्ध लाग्ने हल्ला चलेको छ । कतिपय टिकटक प्रयोगकर्ताले फागुन एक गतेदेखि टिकटकमाथि प्रतिबन्ध लाग्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

हामीले यो हल्ला हो कि वास्तविकता भन्नेमा प्रवेश गर्नुअघि यो हल्ला कसरी चल्यो भन्ने विषयमा कुरा गरौं । केही नाम नसुनिएका अनलाइनहरुले सनसनिपूर्ण समाचार बनाउने नाममा टिकटक बन्द हुने हेडलाइन सहितका समाचार प्रकाशित गरेका थिए ।

तिनै भ्रामक समाचारमा आधारित रहेर युट्युव र टिकटकमा अनेकौं भिडियो समेत बनेका छन् । ‘फागुन १ देखि टिकटक बन्द हुँदै, यस्तो छ कारण’ जस्ता सनसनिपूर्ण शीर्षकमा तयार पारिएका त्यस्ता सामग्रीमा साइबर ब्युरोका एसपी पशुपति रायलाई उद्धृत गरिएको छ ।

टेकपानासँगको कुराकानीमा रायले आफूले त्यसरी कुनै पनि मिडियामा कुरा नगरेको बताए । टिकटक प्रतिबन्ध हुने समाचारमा उद्धृत गरिएको विषयमा उनले आश्चर्य समेत व्यक्त गरे ।

‘मलाई त्यस विषयमा कसैले सोधेको पनि छैन,’ एसपी रायले भने, ‘त्यसरी जवाफ दिनका लागि म यहाँको प्रवक्ता पनि होइन । कसैले भ्युज बढाउन हावादारी समाचार बनाएको हुनसक्छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समेत टिकटक प्रतिबन्ध हुने हल्लामा कुनै सत्यता नरहेको भन्दै त्यसको पछि नलाग्न भनेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् टिकटकमा रमाइरहेका छन् ।

आफ्नो टिकटक आईडी समेत बनाएका उनले बेलाबखत टिकटकका प्रसंग निकालेर भिडलाई हसाँउने समेत गर्दै आएका छन् । टिकटकप्रति प्रधानमन्त्री नै आशक्त देखिएको अवस्थामा प्रतिबन्ध हुने कुरामा कुनै आधार र सत्यता छैन ।

पठाओ, यसरी बन्दै छ नेपालीको सारथी

पठाओ, यसरी बन्दै छ नेपालीको सारथी

 

काठमाडौं । आइतबार साँझ मलाई भक्तपुर पुग्नु थियो । त्यो पनि हतारमा । अनामनगरमा रहेको कार्यालयबाट पठाओ बुक गरेर निस्किएँ ।

चोकमा कुर्दै गर्दा पठाओको ड्रेसमा सजिएका एक व्यक्ति बाइकमा आइपुगे र ‘तपाईं नै हो ?’ भनेर सोधे ।

‘हो’ भन्दै म बाइकको पछाडि बसेँ र यात्रा सुरु गरेँ ।

करिब साझ ७ बजेको थियो होला । यो समयमा भक्तपुरको यात्रा जामले गर्दा साँच्चिकै झन्झटिलो र लामो हुन्छ । मैले बाइकमा बसेको केही बेरमै ती बाइक चालकसँग कुरा गर्न थालेँ ।

यसअघि कतै नभेटिए पनि बाइकमा सवार गरिरहँदा ‘हामी पहिल्यै देखिका साथी हौं’ वाला सोच आउँदो रहेछ ।

कुराकानीबाट थाहा भयो, उनी कैलालीका रहेछन् । एक वर्षदेखि पठाओको राइडर बनेर काठमाडौंमा जीविका चलाइरहेका रहेछन् ।

उनको ड्युटी अर्थात् पठाओको राइडिङ बिहान ६ बजेदेखि बेलुकी साढे ७ बजेसम्म चल्दो रहेछ । कहिलेकाहिँ समय तलमाथि हुनसक्ने भन्दै उनले दिनको अधिकांश समय पठाओमा यात्रु चहार्ने र पुर्‍याउँदैमा बित्ने गरेकाे उनले सुनाए ।

अच्चम्म मान्दै मैले उनलाई सोधेँ, ‘भनेपछि तपाईं अन्त कतै काम गर्नुहुन्न ?’

‘एक वर्षअघि काम नभएको बेला पठाओमा जोडिएको थिएँ । अहिले काम नै यही, दैनिकी नै यही हो जस्ताे लाग्छ,’ उनले जवाफ फर्काए ।

उनको जवाफले मलाई थप काैतुहल बनायाे ।

‘दिनमा कति टिप गर्नुहुन्छ ?’ मैले साेधेँ ।

‘त्यस्तै १५ देखि २० सम्म’ उनले तुरून्त उत्तार फर्काए ।

यात्रा रमाइलाेसँग बढिरहेकाे थियाे । मैले ‘उसाेभए पठाओबाट राम्रै कमाई होला है’ भनेर प्रश्न तेर्साएँ ।

‘महिनामा चानचुन ४० हजार चानचुन बच्छ । विहानदेखि बेलुकैसम्म पठाओमै दिन जान्छ । यति कमाउँदा पनि आनन्द लाग्छ,’ उनी पनि निर्धक्क आफ्ना कुरा खोल्दै थिए ।

‘सुरुमा मेरो पुरानो बाइक थियो । मैले पठाओमा राइडरको काम गर्न थालेसँगै विस्तारै नयाँ बाइक किनेँ । त्यसको किस्ता निरन्तर तिरिरहेको छु । किस्ता सहित मलाई काठमाडौंको कोठाभाडा तिरेर गुजारा टार्न पुगेको छ ।’

उनको यो जवाफ जागिर नपाएर भौतारिरहेका धेरैलाई प्रेरणा बन्न सक्ला । सक्ला हाेइन, सक्छ नै ।

उनीसँगकाे भलाकुसारीपछि म स्पष्ट भएँ कि, पठाओले काठमाडौंमा रहेका धेरै युवाको मुहारमा खुसी ल्याइदिएको छ । अझै धेरैलाई खुसी दिन सक्छ ।

कुनै समय अञ्जान व्यक्तिको बाइकमा बस्दा लुटिएला कि भन्ने त्रास हुन्थ्याे । बाटोमै अलपत्र पार्दिन सक्छन् कि भन्ने डर हुन्थ्याे ।

तर, आज सहजताका लागि त्यही अञ्जान व्यक्ति हाम्रा सारथी बनेका छन् । भने, त्यही सारथिको पनि सारथी ‘पठाओ’ बनेको छ ।

नाकाबन्दीको समयमा पेट्रोल र डिजेलको अभाव हुँदा सुरु भएको ‘लिफ्ट’ दिने कल्चरलाई व्यवसायिक योजनामा परिणत गरी अघि बढेको पठाओ आज हजारौं नेपालीको जिवनयापनको स्रोत र लाखौं नेपालीको सवारी बनिसकेको छ ।

‘म आफैंले पनि नाकाबन्दीको बेलामा बेला धेरैलाई लिफ्ट दिएँ,’ पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यात भन्छन, ‘मलाई विदेशी कम्पनीमा काम गर्ने एक जना साथीले तेल र उसको इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको थियो । मैले त्याे इलेक्ट्रिक स्कुटरमा धेरै मान्छे बोकेँ । गाडी चलाउँदा पाँच जना अट्ने भएता पनि ६–७ जनासम्म हालेर हिँडेको थिएँ ।’

त्यति बेला बल्ल मान्छेमा लिफ्ट लिँदा र दिँदा केही हुन्न भन्ने खालको एउटा भावना सिर्जना भएको थियो । उनी सम्झँदै भन्छन, ‘त्यति बेला म अर्को कम्पनीमा काम गर्थेँ । उक्त कम्पनीले नेपालमा अर्काे चर्चित राइड सेयरिङ एप ‘उबर’ ल्याउने तयारी गरेको थियो ।’

त्यसका लागि गाडीका चालकलाई तालिम दिनेदेखि सम्पूर्ण काम सकिएको थियो । तर, सोही समयमै भारतको दिल्लीमा भएको बलात्कारको घटनालाई लुकाउन खोजिएको भन्दै उबरका माथिल्ला तहका धेरै कर्मचारी निलम्बनमा परे । जसको असर, उबर नेपाल भित्र्याउने सपना तुहियो ।

त्यसपछी बस्न्यातले उनका साथिहरुसँगै त्याे कम्पनी छाडे । कम्पनी छाडेको एक वर्षपछि फेरि केही गर्ने योजना उनीहरुको टिमले बनायो । उबर त सफल भएन, अब त्यस्तै तर अर्को सेवा किन नगर्ने भनेर सल्लाह भयो ।

उनी भन्छन, ‘हामीले विभिन्न कम्पनीसँग प्रस्ताव गर्‍यौं । भारत, बंगलादेशका कतिपय कम्पनीबाट प्रस्ताव आयो । त्यसबाट हामीले पठाओ रोज्यौं ।’

अशिममान सिंह बस्न्यात

पठाओले उनीहरुलाई लगानी खोज्दिनेदेखि प्रविधिसम्म आफैं उपलब्ध गराउने प्रस्ताव राखेको थियो । तर, उनीहरु ब्राण्ड मात्रै चाहन्थे । त्यसैले ब्राण्डको भ्यालुसहितको शेयर मिलाएर सेवा उपलब्ध गराउने निर्णय भयो ।

‘ब्राण्डसँगै अमेरिकाबाट लगानी पनि आयो,’ उनी भन्छन, ‘लगानी पनि आयो, प्रविधि पनि तयार भयो । तर अब कहाँबाट सुरु गर्ने भनेर हाम्राे समूहमा कसैलाई पनि जानकारी थिएन ।’

नेपालमै यही क्षेत्रमा काम गरिरहेका एक जना साथी उनीहरुको टिममा जोडिए । ती साथिसँग भएको अनुभवले विस्तारै कम्पनीलाई अघि बढाइयो । उनी भन्छन, ‘हामीले परियोजना लहैलहैमा सुरु गरेका थियौं ।’

तर, त्यही लहैलहैबाट सुरु भएको पठाओ आज नेपालमा प्रयोगका हिसाबले सबैभन्दा धेरै प्रयोग गरिने एपमध्ये पर्छ । भने, समस्या पर्दा रेस्क्यु गर्न आउने एप जस्तै भएको छ ।

आज पठाओ नेपालकाे एप साढे १२ लाख डाउनलोड भइसकेको छ । सँगै ९० हजार राइडर र ड्राइभरको एप डाउनलोड भएको छ । कोभिडका कारण सम्पूर्ण मापदण्ड पुरा गरेर चलाउने बाइक राइडर १० हजारको हाराहारीमा पुगेका छन् ।

त्यस्तै ट्याक्सी ड्राइभरको संख्या २ हजारभन्दा बढी पुगेकाे छ । जसमार्फत दैनिक ४० हजारको हाराहारीमा टिप हुने गरेको बस्न्यात सुनाउँछन् । तर पनि उनी यसलाई सन्तुष्टिको आधार भने मान्दैनन् ।

भन्छन, ‘बजारमा अहिले च्याउसरी कम्पनी आउने र बिलाउने क्रम चलिरहेको छ । पठाओले अहिले दैनिक दिने सेवा सम्भावनाको २० प्रतिशत पनि हाेइन । त्यसैले यहाँ प्रतिस्पर्धी बजार स्थापना हुन आवश्यक छ । किनकि नेपालको हकमा एकतर्फी १०० रुपैंयाँ तिरेर यात्रा गर्नु महंगो हो ।’

उक्त शुल्कलाई कसरी कम गर्न सकिन्छ र आम मानिसको यात्रा गर्ने साधन कसरी बन्न सकिन्छ भन्ने नै कम्पनीकोे मुख्य उदेश्य हो ।

उनी भन्छन, ‘कुनै समय मैले इलेक्ट्रिक स्कुटरमा धेरै मान्छे बोकेको थिएँ । सायद भोलिको भविष्य इलेक्ट्रिक हो कि ? सबै सवारी इलेक्ट्रिक भइदिएको खण्डमा तेलको मूल्य तिर्नु नपर्दा मूल्य कम हुन्छ कि ? अथवा सरकारले नीतिगत रुपमा सहयोग गरेको खण्डमा केही हुन्छ कि भन्ने नै हो ।’

तर, यसका लागि एउटा कम्पनी मात्रै उफ्रिएर हुने केही होइन । सरकारले सहज नीति बनाउनु पर्‍यो । टेलिकम सेवा प्रदायकले राइडरको हकमा सस्तो इन्टरनेट प्याकेज उपलब्ध गराइदिनु पर्‍यो । यी सबै भएको खण्डमा नेपालीका लागि पार्ट टाइम जब र यात्रा गर्न सहजता खोजी राख्नु नपर्ने उनी दाबी गर्छन् ।

भन्छन, ‘पठाओले अहिले १८ वर्षको उमेरमा आफूसँग लाइसेन्स छ भने पकेटमनीका लागि परिवारसँग निर्भर हुनुपर्दैन भनेर प्रमाणित गरिदिएकाे छ ।’

पठाओमाथिको आक्रमण युवा उद्यमीका लागि सिकाई

नेपालीलाई दुई वटा कुरा कसैले पनि सिकाउनै पर्दैन रे । उनी हाँस्दै भन्छन, ‘एउटा खाली जग्गामा प्लटिङ गर्न र अर्काे कसैले केही गर्न खोज्यो भने विरोध गर्न । पठाओमाथिको आक्रमण पनि त्यसैको एउटा शिकार हो । कम्पनीले पाएको सफलताबाट लोभिनेहरुको हो ।’

विभिन्न माग राख्दै भएको पठाओको कार्यालयमा भएको तोडफोडमा ५० जना जति सहभागी थिए । त्यसमध्ये कतिपयलाई जबरजस्ती सहभागी गराइएको थियो । भने, कतिपय त तोडफोडका लागि दुई दिनअघिमात्रै पठाओमा आबद्ध भएकाहरु पनि भेटिए ।

कतिपय कम्पनीको नीतिभन्दा बाहिर गएर काम गरेबापत जिन्दगीभर बन्देज लगाएका थिए । ‘उनीहरुबाट मलाई विभिन्न माध्ययबाट धाकधम्की पनि आएकै थियो,’ उनी भन्छन, ‘यस्तै हो भने बस्दाको परिणाम तोडफोडमा परिणत भयो ।’

यदि उनीहरु साँच्चिकै राइडर हुन्थे भने आफ्नो आम्दानीको स्रोतमाथि यसरी आक्रमण गर्ने थिएनन् । तर, पनि मैले यसलाई समग्र स्टार्टअपका लागि सिकाईको रुपमा लिएको छु । उनी भन्छन, ‘यस्ता घटनाले म लगानी गरेर केही गर्छु भन्ने नयाँ उद्यमीहरुलाई निरुत्साहित पक्कै गर्नेछ । विशेषगरी ईकमर्स, अनलाइन बिजनेशका लागि यो पाठ हो ।’

बाइकबाट ट्याक्सीमा किन ?

हामी प्रविधिमा काम गर्ने मान्छे । हामीसँग प्रविधि छ भने उक्त प्रविधिमार्फत थप सेवा किन नदिने भनेर नै हो । उनी भन्छन, ‘त्योभन्दा पनि ट्याक्सी चालकहरुमा पठाओले प्राइभेट गाडीको सेवा सुरु गर्ने हो कि भन्ने चिन्ता रहेछ ।

यदि त्यसो भएको खण्डमा हाम्रो व्यवसाय धरापमा पर्छ भन्ने ट्याक्सी चालकको चिन्ता र कम्पनीको मनसाय मिल्दा ट्याक्सी सेवा थप भएको हो ।’

अहिले हामीसँग २ हजारभन्दा बढी ट्याक्सी जोडिएका छन् । जोडिएका ट्याक्सीलाई सोध्ने हो भने कम्तीमा पनि ५ टिप पठाओबाट गर्ने गरेको बताउँछन् ।

उनी भन्छन, ‘उनीहरुले पेट्राेलमा पहिलेभन्दा ५ सय बढी खर्च गर्लान् । तर आम्दानी पहिलेभन्दा ३ गुणाले बढेको छ । अहिले शुक्रबार बाइक र शनिबार ट्याक्सीको प्रयाेग सबैभन्दा बढी हुने गरेको छ ।’

पठाओमा ‘कार प्लस’ के हो ?

पठाओले एपकाे कार सेक्सनमा कार लाइट अर्थात् ट्याक्सी मात्रै सञ्चालनमा ल्याएको छ । तर, ‘कार प्लस’ भन्ने सेक्सेन त्यहाँ उपलब्ध भएता पनि सेवा सुरु भएको छैन ।

‘यसको कारण कम्पनीले प्राइभेट कार भित्र्याउने तयारी गरिरहेको छ भन्ने धेरैलाई परेको छ,’ उनी भन्छन, ‘जुन कुनै योजनामै छैन । कार प्लसको उद्देश्य जब हाम्रो ट्याक्सी २० वर्ष लागू भएर नयाँ ट्याक्सी किन्नुपर्ने हुन्छ, त्यति बेला आउने एसीयुक्त ट्याक्सीलाई हामीले यसमा समावेश गर्ने योजना बनाएका हौं ।’

अबको योजना

कम्पनीले चाँडै ‘रियल टाइम पार्सल’ सुरु गर्दैछ । यसको अर्थ यदि तपाईं कार्यालयमा हुनुहुन्छ, तर घरमा सामान बिर्सिनुभयो भने अब त्यो सामान तपाईंको घरमा पुगेर तपाईंको कार्यालयसम्म ल्याइदिने काम पठाओका राइडरले गर्नेछन् ।

‘यसको उद्देश्य मान्छेले घरमा पाकेको खान अफिसमा बसेर खान पाओस भन्ने हो,’ उनी भन्छन, ‘यदि त्यो सेवा सुरु भएको खण्डमा पठाओबाट घरबाट खाना मगाएर खान सक्छ । यसले ठूलो सहयोग पुर्‍याउने छ भन्ने विश्वास हामीले लिएका छौं । यसले ईकमर्स कम्पनीलाई पनि सहयोग पुर्‍याउनेछ ।’

इन्टरनेटमा पनि ‘क्लिन फिड’को माग, तर कति सम्भव ?

इन्टरनेटमा पनि ‘क्लिन फिड’को माग, तर कति सम्भव ?

 


काठमाडौं । अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले गत पुस ३ गते सर्वोच्च अदालतमा एउटा रिट दायर गरेका छन्, जसमा दुईवटा माग राखिएको छ । पहिलो- विदेशबाट नेपालमा बिना अनुमति प्रसारण भइरहेका श्रब्यदृश्य सामग्रीको प्रसारण बन्द गर्नुपर्छ । दोस्रो- विदेशी विज्ञापनरहित (क्लिन फिड) सामग्री मात्रै प्रसारण गर्न दिनुपर्छ ।

यदि रिट निवेदकको माग बमोजिम सर्वोच्चले फैसला गर्‍यो भने युट्युब, नेटफि्लक्स, हटस्टार, हंगामा, गानासहित विभिन्न टेलिभिजन च्यानलका एपहरु पनि प्रतिवन्धमा पर्न सक्छन् । राष्ट्रिय प्रसारण नियमावलीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नेगरी हुने श्रव्यदृश्य प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने भने पनि यस्ता विदेशी वेबसाइट, एप र ओटीटी -ओभर दि टप) प्लेटर्फमले नेपालमा अनुमति नलिएको दावी रिट निवेदकले गरेका छन् ।

विदेशी टेलिभिजन च्यानलको हकमा नेपालमा आएर डाउनलिंक अनुमति नै लिनुपर्छ । हाल यस्ता कानून र नियम मिचेर सामग्रीहरु प्रसारण भइरहेको दावी रिटमा गरिएको छ ।

त्यसैगरी इन्टरनेट प्लेटर्फममा बज्ने विदेशी विज्ञापन नेपालको विज्ञापन नियमन गर्ने ऐन २०७६ विरुद्ध भएकाले त्यसलाई रोक्नुपर्ने माग पनि निवेदकको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग नेपाल दूरसञ्चार प्राधिकरण र विज्ञापन बोर्डलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

नेपालमा श्रब्यदृश्य सामग्री प्रसारण गरेर अर्बौं कमाउने तर, नेपालको कानूनअनुसार अनुमति नलिने र एक रुपैयाँ पनि कर पनि नतिर्ने प्रवृत्ति रहेको निवेदक गौतम बताउँछन् । विज्ञापन देखाएर अर्बौं कमाउने कयौं इन्टरनेट प्लेटर्फमहरु नेपालको कानूनअनुसार अवैध भएको उनको भनाइ छ ।

‘अश्लिल प्रसारण गर्ने भएकाले ६ हजारभन्दा बढी पोर्न साइट अवैध ठहर गरेर सरकारले बन्द गर्‍यो,’ उनी भन्छन्, ‘कानूनअनुसार अनुमति नलिएका र क्लिन फिड सामग्री नदिने इन्टरनेट प्लेटर्फम पनि अवैध भएकाले रोक्नैपर्छ ।’

नेपालमा गत कात्तिक ३ बाट क्लिफिडको नीति लागू भएको छ । तर, यसले टेलिभिजनलाई मात्रै समेट्ने भन्दै क्लिन फिड पनि टेलिभिजनमा मात्रै लगाइएको छ । रिट निवेदक गौतमले इन्टरनेट सामग्रीमा पनि ‘क्लिन फिड’ लागू हुनुपर्ने माग गरेका छन् ।

आईपी टीभीले जन्माएको बहस  

इन्टरनेटका सामग्रीलाई प्रतिवन्धित गर्ने माग अदालतसम्म पुग्नुको कारण भने अलग छ । विशेषगरी केबल -तार) प्रविधिबाट टेलिभिजन प्रसारण गर्नेहरुको जोडबलमा यो विवाद अदालतसम्म पुगेको हो ।

अहिले केबल टेलिभिजन विस्थापन हुने गरी आक्रामक ढंगमा आईपी टीभीको उदय भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटसँगै ‘एन्ड्रोइड आईपी टिभी सेटअप बक्स’ ग्राहकलाई दिँदैछन् । त्यसले इन्टरनेटसँगै टेलिभिजन सेवा पनि सुलभ मूल्यमा पाइने अवस्था बनेको छ ।

तर, यसको वैधतामाथि केबुल टेलिभिजन व्यवसायीले प्रश्न उठाउँदै आएका छन् । आईपी टिभीको सेटटप बक्स एन्ड्रोइड प्रविधिको हो, अर्थात् त्यसमा मोबाइलमा जसैगरी एपहरु राख्न मिल्छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले त्यसमा युट्युब लगायतका विभिन्न एपहरु राखेर ग्राहकलाई दिँदैछन् । यसले गर्दा टीभीमा नै युट्युब लगायतका एपहरु राखेर हेर्न थालिएको छ ।

यसरी आईपी टीभीमार्फत इन्टरनेटबाट टीभी हेर्दा क्लिन फिडको नियम लाग्दैन । यसमा केबुल टेलिभिजन व्यवसायी असन्तुष्ट छन् । त्यतिमात्रै हैन, नेपालमा डाउन लिंक अनमति नलिएका च्यानलका एप पनि आईपी टीभीमा राख्न थालिएकाले त्यसलाई रोक्नुपर्ने माग उनीहरुको छ । त्यस्ता एपबाट बज्ने श्रब्यदृश्य सामग्री रोक्नुपर्ने भन्दै उनीहरुले सरकारमाथि दबाव बढाउँदै आएका थिए ।

यसैबेला सर्बोच्चमा दायर रिटमा त्यसभन्दा अघि बढेर नेपालमा इन्टरनेटका माध्यमबाट प्रसारण हुने विदेशी विज्ञापनहरु रोक्नुपर्ने मागसमेत गरिएको छ । यदि विज्ञापन नरोकिने अवस्था आए एप र वेबसाइटलाई नै ‘ब्लक’ गर्नुपर्ने माग रिटमा छ ।

नेपाल केबुल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धु्रब शर्मा टेलिभिजनमा क्लिन फिड कन्टेन्ट बजाए पनि आईपी टिभी लगायतका डिभाइसमा रहेका एपहरुमा विज्ञापनसहितका कन्टेन्ट बजिरहेको गुनासो गर्छन् ।

‘यहाँ आजतकले डाउन लिंक अनुमति लिएको छैन, उसको प्रसारणमा क्लिन फिड पनि छैन,’ उनी भन्छन्, ‘तर, यहाँ एप डाउनलोड गरेर भिडियो सामग्री पनि हेर्न मिल्छ, देशभित्र विज्ञापन पनि बज्छ । त्यस्तो अवैध काम रोकिनै पर्छ ।’

रोक्न कति सम्भव ?

अहिले नेपालमा धेरै डाउनलोड हुने विदेशी एप र यहाँ हेरिने वेबसाइटहरुमा विज्ञापनहरु देखिन्छन् । मनोरन्जनक एपमा मात्रै हैन, समाजिक सञ्जालका एपदेखि गेमिङ एपसम्ममा यस्ता विदेशी विज्ञापनहरु हुन्छन् । यदि सर्बोच्चले रिटअनुसारको दावी स्वीकार गर्‍यो भने त्यस्ता सबै इन्टरनेट प्लेटर्फम र कन्टेन्टरु रोक्नुपर्ने हुन्छ ।

इन्टरनेटकै क्लिन फिड मागिएको विषयमा सूचना प्रविधि विज्ञहरुको फरक-फरक मत छ । सूचनाप्रविधि विज्ञ आनन्दराज खनाल टेलिभिजनको लाइसेन्स लिएका सबै सेवा प्रदायकलाई राज्यले समन्यायिक ब्यबहार गर्नुपर्ने बताउँछन् ।

‘जुनसुकै प्रविधिबाट भएपनि आईपी टीभीले डाउनलिंक अनुमति नभएका क्लिफिडरहित कन्टेन्ट बजाएका छन् भने त्यो रोकिनुपर्छ,,’ उनी भन्छन्, ‘प्रविधि फरक भए पनि एउटै कानूनबाट निर्देशित हुने, एउटै दरको कर लाग्ने, अनुमतिपत्र शुल्क तिर्नेमाथि राज्यले फरक-फरक व्यवहार गर्न मिल्दैन ।’

उनले इन्टरनेटमा बज्ने विज्ञापन रोक्न पनि सकिने भन्दै त्यसका लागि सरकारले प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

‘इन्टरनेटमा विदेशी विज्ञापन रोक्न नसकिने हैन, फिल्टर प्रविधिहरु छन्,’ उनी भन्छन्, ‘तर, त्यसअघि नै त्यस्तो प्रविधिमा ठूलो लगानी गर्दा प्राप्त हुने प्रतिफल के हुन्छ भनेर विश्लेषण गर्नुपर्छ ।’

साइबर कानूनका विज्ञ प्रविण सुवेदी भने विज्ञापन नियमन गर्ने ऐनले इन्टरनेटमा बज्ने विदेशी विज्ञापन रोक्ने परिकल्पना नै नगरेको बताउँछन् । ऐनले टेलिभिजनमा बज्ने विज्ञापनमा मात्रै क्लिन फिडको कुरा गरेकाले विद्यमान कानूनकै आधारमा क्लिन फिड नभएका इन्टरनेट समाग्रीलाई रोक्न कठिन हुने उनको भनाइ छ ।

ऐनको दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले विज्ञापनरहित -क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था छ । तर, ऐनको परिभाषा खण्डमा ‘विज्ञापन’लाई अनलाइन माध्यममा राखिने प्रचारप्रसार सामग्रीलाई पनि मानिएको छ ।

अर्का साइबर कानूनका विज्ञ सन्तोष सिग्देल एन्ड्रोइड वा ओईओसएस प्रविधिबाट प्रसारण हुने टेलिभिजन सामग्री र इन्टरनेटमार्फत देखाइने विदेशी विज्ञापनलाई नियमन गर्ने कानून नै नभएको बताउँछन् ।

‘यो अब अदालतले नै ब्याख्या गर्ने विषय बन्यो,’ उनी भन्छन्, ‘भविष्यमा सरकारले अहिले उठेका सवाललाई सम्बाधेन गर्ने गरी नियामक कानून ल्याउनुपर्छ ।’