कर्णालीमा बाढी पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले दुई लाख रुपैयाँ राहत पाउने

कर्णालीमा बाढी पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले दुई लाख रुपैयाँ राहत पाउने

  सुर्खेत, कात्तिक ५ । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुर्घटना बीमाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले दुर्घटना बीमाबाट तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले प्रदेशका नागरिकको सामूहिक विपद् दुर्घटना बीमा गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले राहत स्वरुप तत्काल बीमाबाट रकम उपलब्ध गराइने जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर चार जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् । यस्तै,  विपदमा परि घाइते भएका व्यक्तिहरुको उपचार निस्शुल्क गर्ने र बन्द भएका सडक, पुल, खानेपानी, सिँचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने गरी काम थाल्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै, खेतीबालीमा भएको क्षतिको यकिन विवरण सङ्कलन गरी किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, पूर्णरुपमा क्षति भएका घरहरुको विवरण सङ्कलन गरी सङ्घीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने, विपद्का कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत सङ्कलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । 

राज्यको निती कार्यान्वयमा लागि पर्छु : मन्त्री चौधरी

राज्यको निती कार्यान्वयमा लागि पर्छु : मन्त्री चौधरी

 

 दाङ, कार्तिक ३ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले राज्यको निती कार्यान्वयमा आफु लागि पर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । राज्यको निती कार्यान्वयन नहुँदा धेरै समस्या हुने गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि आफु अगाडि वढने उनको भनाइ रहेको छ ।

‘सबैले आफनो जिम्मेवारी पुरा गर्नु पर्दछ जिम्मेवारी पुरा नगर्दा समस्या भएको छ’ मन्त्री चौधरीले भने । राज्यका निती कार्यान्वयन गराउनका लागि नागरिकले पनि सहयोग गर्नु पर्ने उनले बताए । प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा तथ्याङक समेत नभएको हुदा कुन अवस्थामा रहेका छौ भनेर पहिचान गर्न समेत समस्या भएको मन्त्री चौधरीको भनाइ छ । स्वास्थ्य अवस्थाको वारेमा पहिचान गरे अगाडि वढने उनले बताए । ‘प्रदेश सरकारले दिने उपचार खर्च प्रदेशमा नै उपचार गर्न खर्च हुने गरि स्वास्थ्य सेवा लाई अगाडि वढाइने छ’ मन्त्री चौधरीले भने ।

एउटा क्षेत्रमा समस्या हुदा अन्य क्षेत्रमा समेत समस्या हुने भएकाले सुधार गरेर अगाडि वढनु पर्ने बताए । सबै मिलेर स्वास्थ्य क्षेत्रको विकासमा लाग्नु पर्ने उनको भनाइ रहेको छ । ‘विगाने होइन सहयोगिको भुमिका खेल्न आवस्यक छ ’ मन्त्री चौधरीले भने । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले जिल्लाको विकासका लागि संघले थालेका तथा अन्य विकासका आयोजना अगाडि वढाउन पहल गर्ने आग्रह गरेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

 लुम्बिनीको स्थायी राजधानीका लागि सशस्त्र र वनको जग्गा सिफारिस

लुम्बिनीको स्थायी राजधानीका लागि सशस्त्र र वनको जग्गा सिफारिस

मुख्यमन्त्री केसीले गरे स्थलगत अवलोकन

रुपन्देही, कार्तिक ३ । लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न दाङको राप्ती गाउँपालिकास्थित भालुवाङनजिकै सशस्त्र प्रहरी बलको नाममा दर्ता कायम भएको वन क्षेत्र र वन विभागको करिब ६० विघा खाली जग्गालाई सिफारिस गरिएको छ ।

सो क्षेत्रको मुख्यमन्त्री कुलप्रसाद केसीसहितका टोलीले मंगलबार निरीक्षण गरी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेको छ । उक्त स्थानमा मन्त्रालयका भौतिक संरचना निर्माण गर्दा उपयुक्त हुने भन्दै प्रक्रिया अगाडि बढाउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

मंगलवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा मुख्यमन्त्री केसीसहितको बैठकले सशस्त्र प्रहरीको नाममा दर्ता कामय भएको वन क्षेत्र र वन क्षेत्रको खाली जग्गालाई लुम्बिनी प्रदेश सरकारको नाममा हक हस्तान्तरणको लागि आवश्यकता अनुसार चार किल्ला क्षेत्रफल छुट्याइ राप्ती गाउँपालिकाले सिफारिस गर्ने निर्णय भएको शर्माले बताए ।

बैठकले सशस्त्रलाई सो क्षेत्रफल बमोजिमकै जग्गा सोध भर्ना गर्ने व्यवस्था गर्ने, राप्ती गाउँपालिकाले सिफारिस गरेको जग्गा नाप जाँच गरी क्षेत्रफल एकिन लगायतका काम दुई÷तीन दिनभित्र मालपोत र नापी कार्यालयले काम अगाडि बढाउने, राप्ती गाउँपालिका, मालपोत र नापी कार्यालयबाट प्राप्त भएको जग्गा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा रहने जग्गा व्यवस्थापन सिफारिस समितिको बैठक बसेर लुम्बिनी प्रदेश सरकारको नाममा जग्गा तथा हक हस्तान्तरणको लागि संघीय सरकारलाई सिफारिस गर्ने गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारको लागि जग्गा व्यवस्थापन गर्ने कार्य र डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले अतिक्रमित जग्गा खाली गर्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाको आधारमा रहेको क्षेत्रमा बसोबास गर्ने स्थानीयको व्यवस्थापनको सम्बन्धमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको संयोजकमा कार्यदल गठन गरी उचित व्यवस्थापनको लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

बैठकमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा सूचना सञ्चार मन्त्री तिलकराम शर्मा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री, ऊर्जा जलस्रोत सिंचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, पर्यटन ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल विक, प्रदेशसभा सदस्य दामा शर्मा, सरस्वती गौतम, धमकली चौधरी, रेवतीरमण शर्मा सहभागी रहेका थिए ।

मुख्यमन्त्री कुलप्रसाद केसीले यो वर्षबाट राजधानीको प्रशासनको भवनहरु निर्माण गर्ने जग्गा प्राप्त र प्राप्त जग्गासँगै निकट भविष्यमा सम्झना लायक गुरुयोजनासहितको सुन्दर राजधानी र शहर निर्माण गर्ने बताएका छन् ।

उनले आवश्यक जग्गा संघीय सरकारले उपभोग गर्न अधिकार दिएकै दिनबाट भौतिक संरचना निर्माणको कामलार्ई अगाडि बढाउने गरी बजेट विनियोजन भइसकेको बताए ।

प्रदेश सरकारले अहिले आवश्यक ठानेको जग्गामध्ये केही ठाउँमा स्थानीयले लामो समयदेखि आफूहरु बस्दै आएकाले आफ्नो व्यवस्थापन नहुँदै जग्गा नदिने बताउँदै आएका छन् ।

धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गयो

धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गयो

 

  धनकुटा, कात्तिक ३ । लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनकुटाको चौबिसे गाउँपालिका–१ मा पर्ने बुधबारे बजारमा ६ जनाको ज्यान गएको छ ।

गए राति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा वर्ष ६० का भीमबहादुर श्रेष्ठ, उहाँका नौ वर्षीय नाति विनोद श्रेष्ठ, पाँच वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का वर्ष ३९ का सञ्जीव श्रेष्ठ, वर्ष ३८ की लक्ष्मी श्रेष्ठ र वर्ष ७ का दिप्सन श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायाले बताउनुभयो । यस्तै पहिरोमा परेर ६ जना घाइते भएका छन् ।

डीएसपी रायाका अनुसार घाइतेमध्ये वर्ष ३१ का भेषबहादुर श्रेष्ठ, वर्ष २९ की लिला श्रेष्ठ र वर्ष ५४ की गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको छ । घाइतेलाई हेलिकोप्टरबाट उपचारको लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायाले बताउनुभयो ।

त्यही वडाको सौरेबजारमा दिलीप गजमेरको घर पनि पहिरोले पूर्णरुपमा बगाएको छ । तर मानवीय क्षति भने नभएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताउनुभयो । यता वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका–६, फेदीमा २ सय मिटर सडक लेउती खोलाले बगाउँदा हिजो मंगलबारदेखि नै सडक अवरुद्ध रहेको छ ।

 

आज कर्णाली र सुदूरपश्चिममा कम पानी पर्ने : प्रदेश १, २, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने धेरै पर्ने अनुमान

आज कर्णाली र सुदूरपश्चिममा कम पानी पर्ने : प्रदेश १, २, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने धेरै पर्ने अनुमान

 

  काठमाण्डौ, कात्तिक ३ । देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रदेश १ का केही ठाउँमा आज पनि लगातारजसो झरी पर्ने मौसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिममा भने पानी पर्न केही कम भएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश  २, बागमती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा आज पनि मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, आज हिजोको भन्दा पानी अलि कम पर्ने पूर्वानुमान गरिएको छ ।

भोलिदेखि बिस्तारै क्रमशः मौसम खुल्दै जाने मौसमविद् शाक्यले बताउनुभयो । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव परेकाले गएको आइतबारदेखि लगातार पानी परिरहेको छ । सामान्यतया अक्टोबर, नोभेम्बर र प्रि मनसुनको समयमा बंगालको खाडीमा चक्रवात विकास हुने समय भएकाले यो समयमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिलेको मौसमी प्रणालीले चक्रवात विकसित हुन नसके पनि लगातार पानी पारिरहेको छ । मौसम सम्बन्धी जानकारी इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा आइरहेकाले त्यहीअनुसार आफ्नो कामलाई अगाडि बढाउन पनि मौसमविद्ले आग्रह  गरेका छन् । मौसम सम्बन्धी प्राप्त जानकारी पालना गरे क्षति न्यूनीकरणमा सहयोग पुग्ने भएकाले लापरबाही नगर्न मौसमविद्को आग्रह छ ।