कर्णालीमा बाढी पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले दुई लाख रुपैयाँ राहत पाउने

कर्णालीमा बाढी पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले दुई लाख रुपैयाँ राहत पाउने

  सुर्खेत, कात्तिक ५ । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुर्घटना बीमाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले दुर्घटना बीमाबाट तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले प्रदेशका नागरिकको सामूहिक विपद् दुर्घटना बीमा गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले राहत स्वरुप तत्काल बीमाबाट रकम उपलब्ध गराइने जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर चार जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् । यस्तै,  विपदमा परि घाइते भएका व्यक्तिहरुको उपचार निस्शुल्क गर्ने र बन्द भएका सडक, पुल, खानेपानी, सिँचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने गरी काम थाल्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै, खेतीबालीमा भएको क्षतिको यकिन विवरण सङ्कलन गरी किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, पूर्णरुपमा क्षति भएका घरहरुको विवरण सङ्कलन गरी सङ्घीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने, विपद्का कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत सङ्कलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । 

राज्यको निती कार्यान्वयमा लागि पर्छु : मन्त्री चौधरी

राज्यको निती कार्यान्वयमा लागि पर्छु : मन्त्री चौधरी

 

 दाङ, कार्तिक ३ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले राज्यको निती कार्यान्वयमा आफु लागि पर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । राज्यको निती कार्यान्वयन नहुँदा धेरै समस्या हुने गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि आफु अगाडि वढने उनको भनाइ रहेको छ ।

‘सबैले आफनो जिम्मेवारी पुरा गर्नु पर्दछ जिम्मेवारी पुरा नगर्दा समस्या भएको छ’ मन्त्री चौधरीले भने । राज्यका निती कार्यान्वयन गराउनका लागि नागरिकले पनि सहयोग गर्नु पर्ने उनले बताए । प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा तथ्याङक समेत नभएको हुदा कुन अवस्थामा रहेका छौ भनेर पहिचान गर्न समेत समस्या भएको मन्त्री चौधरीको भनाइ छ । स्वास्थ्य अवस्थाको वारेमा पहिचान गरे अगाडि वढने उनले बताए । ‘प्रदेश सरकारले दिने उपचार खर्च प्रदेशमा नै उपचार गर्न खर्च हुने गरि स्वास्थ्य सेवा लाई अगाडि वढाइने छ’ मन्त्री चौधरीले भने ।

एउटा क्षेत्रमा समस्या हुदा अन्य क्षेत्रमा समेत समस्या हुने भएकाले सुधार गरेर अगाडि वढनु पर्ने बताए । सबै मिलेर स्वास्थ्य क्षेत्रको विकासमा लाग्नु पर्ने उनको भनाइ रहेको छ । ‘विगाने होइन सहयोगिको भुमिका खेल्न आवस्यक छ ’ मन्त्री चौधरीले भने । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले जिल्लाको विकासका लागि संघले थालेका तथा अन्य विकासका आयोजना अगाडि वढाउन पहल गर्ने आग्रह गरेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

 लुम्बिनीको स्थायी राजधानीका लागि सशस्त्र र वनको जग्गा सिफारिस

लुम्बिनीको स्थायी राजधानीका लागि सशस्त्र र वनको जग्गा सिफारिस

मुख्यमन्त्री केसीले गरे स्थलगत अवलोकन

रुपन्देही, कार्तिक ३ । लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न दाङको राप्ती गाउँपालिकास्थित भालुवाङनजिकै सशस्त्र प्रहरी बलको नाममा दर्ता कायम भएको वन क्षेत्र र वन विभागको करिब ६० विघा खाली जग्गालाई सिफारिस गरिएको छ ।

सो क्षेत्रको मुख्यमन्त्री कुलप्रसाद केसीसहितका टोलीले मंगलबार निरीक्षण गरी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेको छ । उक्त स्थानमा मन्त्रालयका भौतिक संरचना निर्माण गर्दा उपयुक्त हुने भन्दै प्रक्रिया अगाडि बढाउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

मंगलवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा मुख्यमन्त्री केसीसहितको बैठकले सशस्त्र प्रहरीको नाममा दर्ता कामय भएको वन क्षेत्र र वन क्षेत्रको खाली जग्गालाई लुम्बिनी प्रदेश सरकारको नाममा हक हस्तान्तरणको लागि आवश्यकता अनुसार चार किल्ला क्षेत्रफल छुट्याइ राप्ती गाउँपालिकाले सिफारिस गर्ने निर्णय भएको शर्माले बताए ।

बैठकले सशस्त्रलाई सो क्षेत्रफल बमोजिमकै जग्गा सोध भर्ना गर्ने व्यवस्था गर्ने, राप्ती गाउँपालिकाले सिफारिस गरेको जग्गा नाप जाँच गरी क्षेत्रफल एकिन लगायतका काम दुई÷तीन दिनभित्र मालपोत र नापी कार्यालयले काम अगाडि बढाउने, राप्ती गाउँपालिका, मालपोत र नापी कार्यालयबाट प्राप्त भएको जग्गा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा रहने जग्गा व्यवस्थापन सिफारिस समितिको बैठक बसेर लुम्बिनी प्रदेश सरकारको नाममा जग्गा तथा हक हस्तान्तरणको लागि संघीय सरकारलाई सिफारिस गर्ने गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारको लागि जग्गा व्यवस्थापन गर्ने कार्य र डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले अतिक्रमित जग्गा खाली गर्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाको आधारमा रहेको क्षेत्रमा बसोबास गर्ने स्थानीयको व्यवस्थापनको सम्बन्धमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको संयोजकमा कार्यदल गठन गरी उचित व्यवस्थापनको लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

बैठकमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा सूचना सञ्चार मन्त्री तिलकराम शर्मा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री, ऊर्जा जलस्रोत सिंचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, पर्यटन ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल विक, प्रदेशसभा सदस्य दामा शर्मा, सरस्वती गौतम, धमकली चौधरी, रेवतीरमण शर्मा सहभागी रहेका थिए ।

मुख्यमन्त्री कुलप्रसाद केसीले यो वर्षबाट राजधानीको प्रशासनको भवनहरु निर्माण गर्ने जग्गा प्राप्त र प्राप्त जग्गासँगै निकट भविष्यमा सम्झना लायक गुरुयोजनासहितको सुन्दर राजधानी र शहर निर्माण गर्ने बताएका छन् ।

उनले आवश्यक जग्गा संघीय सरकारले उपभोग गर्न अधिकार दिएकै दिनबाट भौतिक संरचना निर्माणको कामलार्ई अगाडि बढाउने गरी बजेट विनियोजन भइसकेको बताए ।

प्रदेश सरकारले अहिले आवश्यक ठानेको जग्गामध्ये केही ठाउँमा स्थानीयले लामो समयदेखि आफूहरु बस्दै आएकाले आफ्नो व्यवस्थापन नहुँदै जग्गा नदिने बताउँदै आएका छन् ।

धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गयो

धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गयो

 

  धनकुटा, कात्तिक ३ । लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनकुटाको चौबिसे गाउँपालिका–१ मा पर्ने बुधबारे बजारमा ६ जनाको ज्यान गएको छ ।

गए राति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा वर्ष ६० का भीमबहादुर श्रेष्ठ, उहाँका नौ वर्षीय नाति विनोद श्रेष्ठ, पाँच वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का वर्ष ३९ का सञ्जीव श्रेष्ठ, वर्ष ३८ की लक्ष्मी श्रेष्ठ र वर्ष ७ का दिप्सन श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायाले बताउनुभयो । यस्तै पहिरोमा परेर ६ जना घाइते भएका छन् ।

डीएसपी रायाका अनुसार घाइतेमध्ये वर्ष ३१ का भेषबहादुर श्रेष्ठ, वर्ष २९ की लिला श्रेष्ठ र वर्ष ५४ की गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको छ । घाइतेलाई हेलिकोप्टरबाट उपचारको लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायाले बताउनुभयो ।

त्यही वडाको सौरेबजारमा दिलीप गजमेरको घर पनि पहिरोले पूर्णरुपमा बगाएको छ । तर मानवीय क्षति भने नभएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताउनुभयो । यता वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका–६, फेदीमा २ सय मिटर सडक लेउती खोलाले बगाउँदा हिजो मंगलबारदेखि नै सडक अवरुद्ध रहेको छ ।

 

आज कर्णाली र सुदूरपश्चिममा कम पानी पर्ने : प्रदेश १, २, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने धेरै पर्ने अनुमान

आज कर्णाली र सुदूरपश्चिममा कम पानी पर्ने : प्रदेश १, २, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने धेरै पर्ने अनुमान

 

  काठमाण्डौ, कात्तिक ३ । देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रदेश १ का केही ठाउँमा आज पनि लगातारजसो झरी पर्ने मौसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिममा भने पानी पर्न केही कम भएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश  २, बागमती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा आज पनि मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, आज हिजोको भन्दा पानी अलि कम पर्ने पूर्वानुमान गरिएको छ ।

भोलिदेखि बिस्तारै क्रमशः मौसम खुल्दै जाने मौसमविद् शाक्यले बताउनुभयो । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव परेकाले गएको आइतबारदेखि लगातार पानी परिरहेको छ । सामान्यतया अक्टोबर, नोभेम्बर र प्रि मनसुनको समयमा बंगालको खाडीमा चक्रवात विकास हुने समय भएकाले यो समयमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिलेको मौसमी प्रणालीले चक्रवात विकसित हुन नसके पनि लगातार पानी पारिरहेको छ । मौसम सम्बन्धी जानकारी इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा आइरहेकाले त्यहीअनुसार आफ्नो कामलाई अगाडि बढाउन पनि मौसमविद्ले आग्रह  गरेका छन् । मौसम सम्बन्धी प्राप्त जानकारी पालना गरे क्षति न्यूनीकरणमा सहयोग पुग्ने भएकाले लापरबाही नगर्न मौसमविद्को आग्रह छ । 


 विराटनगर विमानस्थल जलमग्न, सबै उडान रद्द

विराटनगर विमानस्थल जलमग्न, सबै उडान रद्द

  काठमाण्डौ, कात्तिक ३ । लगातारको वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको छ ।  विराटनगर विमानस्थल जलमग्न भएकाले काठमाण्डौ–विराटनगरका सबै उडान रद्द भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  

केसलीया खोलामा आएको बाढी पस्दा विराटनगर विमानस्थलको रनवे, पार्किङ लगायतका ठाउँ डुबानमा परेका छन् । अन्य क्षेत्रमा भने उडान हुन थालेको कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो एकै दिन एक सय वटा आन्तरिक उडान रद्द भएका थिए ।

 बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको पुष्टि, उद्धारमा कठिनाइ

बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको पुष्टि, उद्धारमा कठिनाइ

  काठमाण्डौ, कात्तिक ३ । ​आइतबारदेखिको वर्षाका कारण आएको बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयकाअनुसार धनकुटामा ६, पाँचथरमा ४ इलाम र डोटीमा २, कालिकोट र डडेल्धुरामा एकरएक जनाको ज्यान गएको छ ।

बाढी पहिरोमा परेर केही हराइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यस्तै लगातारको  वर्षापछि पहिरोले ४ वटा घर पूर्ण रुपमा भत्किएका छन् । झण्डै पाँच सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

यस्तै, पहिरोमा परेर हुम्लाको खार्पुनाथ–५ खर्पेल गाउँमा ६ जना पुरिएका छन् ।​खर्पेल गाउँमा रहेको बिचदउडामा रहेको धनबिरे शाहीको घर पहिरोले पुरिएको हो । हिजो रातिको समय भएकाले उद्धार हुन नसकेपछि अहिले बिहानदेखि खोजी कार्य सुरु गर्ने तयारी भएको छ । खोजी कार्यका लागि नेपाली सेनासहित सुरक्षाकर्मी खटाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । 

उद्धारमा कठिनाइ

लगातारको बाढी पहिरोका कारण धेरै ठाउँमा सञ्चार र विद्युत् सेवा ठप्प  भएको छ । यसले गर्दा सूचना आदानप्रदान र उद्धारमा कठिनाइ भएको गृह मन्त्रालयले जनाएको छ । निरन्तरको वर्षाले सडक, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवा प्रभावित भएका छन् । सुदूरपश्चिम र प्रदेश एकमा अत्यावश्यक सेवाका पूर्वाधारमा धेरै क्षति भएको छ । पाँच मुख्य राजमार्गसहित ९ वटा सडक अवरुद्ध छन् । सुदूरपश्चिमका कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडीमा विद्युत् र सञ्चार सेवा पूर्ण रुपमा ठप्प छ । अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत् आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा पनि अवरुद्ध भएको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयले जनाएको छ ।

यस्तै सुनसरीको दुहबीमा रहेको सबस्टेसन डुबानमा परेपछि प्रदेश एकमा विद्युत् आपूर्ति ठप्प छ । हिजो बेलुकादेखि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको विद्युत प्राधिकरणले जनाएको छ । दुहबी सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

उद्धार र राहतलाई प्रभावकारी बनाइने 

गृह मन्त्रालयले प्रभावित जिल्लामा खोज उद्धार तथा राहत वितरणलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह सचिवसहित चार वटै सुरक्षा निकायका प्रमुखको बैठकले खोज उद्धार तथा राहत वितरणलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार  जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर राहत तथा उद्धारका काम हुनेछ । 

 चीनले नेपाललाई थप २० लाख खोप अनुदान दिने घोषणा

चीनले नेपाललाई थप २० लाख खोप अनुदान दिने घोषणा

काठमाडौं, कार्तिक २ । जनवादी गणतन्त्र चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । नेपाली समकक्षी डा।नारायण खड्कासँग चीनिया विदेश मन्त्री वाङ यीको भर्चुअल वार्तापछि चीनिया राजदूत होउ यान्छीले सो जानकारी दिएकी हुन् ।फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

२० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ ।

सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विदेशमन्त्री यीले परराष्ट्रमन्त्री डा खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

बझाङमा पहिरोले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङमा पहिरोले ७ घर पुरिए, २३ जना बेपत्ता

  बझाङ, कात्तिक २ । बझाङको थलारा गाँउपालिका ४ डिख्लामा हिजो सोमवार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । 

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुशल हुनुहुन्छ । 

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीयवासी विस्थापित भइ त्रिभुवन मा।वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिरोको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भइ आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा।वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा बन्द हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । 

बाढीले सडक बन्द भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । उनीहरूले पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको वर्षाले बाटो बन्द भएकाले घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।   

 उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

  काठमाण्डौ, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । 

आज मङ्गलवार बिहान प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाणलाई यो निर्देशन दिनुभएको हो । त्यसपछि गृहमन्त्री खाणले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको ज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिइ काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । 

सुरक्षा निकाय र प्रभावित जिल्लाका सम्बद्ध स्थानीय प्रशासनहरू विपद् व्यवस्थापन कार्यमा जुटेका छन् । विभिन्न जिल्लामा मानिसहरू फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र त्यही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार यही असोज ३१ गतेदेखि देशभर मौसम बदली भइ नेपालको पश्चिम क्षेत्र बढी प्रभावित बनाएको छ । सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला र तिनका सहायक नदीमा बाढी आएको छ । 

विपद्का कारण डडेल्धुरा र कालीकोटमा एकरएक जनाको ज्यान गएको र एकरएक जना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई सय घर डुबानमा परेका छन् । त्यही क्षेत्रका बासिन्दाको उद्धार प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । 

महाकालीको बहाव उच्च रहेको र आसपासका क्षेत्रका जोखिम बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्राधिकरणका प्रमुख पोखरेलले बताउनुभयो । बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय नै डुबानमा परेको र प्रहरी सुरक्षित ठाउँमा  सरेका जनाइएको छ ।

कर्णालीको बहाव बढेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन् । प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडक खण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी, पहिरोका कारण बन्द भएको गृह मन्त्रालयले जनाएको छ । भोलि बुधवारसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ ।  

विभिन्न क्षेत्रमा काटेर राखेको धान नै वर्षा र बाढीले डुबाएको छ । भित्रिने बेलाको धानमा क्षति पुगेपछि किसान नराम्ररी प्रभावित भएका छन् । 

अहिले बङ्गालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।

आज पनि सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही ठाउँ, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँ तथा वाग्मती प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 बैतडीको ढुंगाडमा ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसे, हेलिकप्टर जान सकेन

बैतडीको ढुंगाडमा ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसे, हेलिकप्टर जान सकेन

  बैतडी, कात्तिक २ । बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसेका छन् । सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना हिजो सोमवार रातिदेखि फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो ।

हिजो राति नदी बस्तीमा पसेपछि केही गाउँलेलाई विद्यालयमा लगेर राखिएको छ, तर उद्धारकै क्रममा नदी बढेर बस्ती डुबानमा परेपछि उनीहरू त्यहीँ फसेका हुन् ।

अहिले नदी बस्तीको वरिपरि फैलिएको छ । फसेका नागरिकको उद्धारका लागि आफूले बिहानै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरे पनि उद्धार हुन नसकेको अध्यक्ष सिंहको भनाइ छ ।

लगातारको ठूलो पानीका कारण हेलिकप्टर पनि  प्रभावित क्षेत्रमा जान सकेको छैन । 

कर्णाली बाँध फुट्यो, जानकी गाउँपालिका उच्च जोखिममा

कर्णाली बाँध फुट्यो, जानकी गाउँपालिका उच्च जोखिममा

 

 भानुभक्त आचार्य

कैलाली, कार्तिक २ । कर्णालीको बाँध फुटेर रानी जमरा नहरमा पानी पसेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिका जोखिममा परेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकामा ‘हाइ अलर्ट’ गरिएका छ ।

‘गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सिंचाइ आयोजनामा कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘उहाँहरूलाई हाइ अलर्ट रहन भनिएको छ ।’

अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उनले जानकारी दिए।

अहिले पानीको सतह १२/५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०।८० पुगे खतराको तह हो । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ ।

 पाचौं सक्रिय कप खुला फूटबल प्रतियोगिता हुने ।

पाचौं सक्रिय कप खुला फूटबल प्रतियोगिता हुने ।

लक्ष्मण बस्नेत 

दाङ, कार्तिक २ । पश्चिम दाङको चरकमटियामा पाचौं सक्रिय कप खुला फुटबल  प्रतियोगिता २०७८ हुने भएको छ ।सक्रिय युवा क्लब बबई ७ को आयोजना तथा बबई गाउँ पालिका वडा न ७ को ब्यबस्थापनमा शुभदिपावलीको अबसरमा हुन लागेको प्रतियोगिता यहि कार्तिक १२ गतेदेखि चरकमटिया खेल मैदानमा सुरु हुनेछ ।

पश्चिम दाङमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पुर्ण पंकज पुनले जानकारी दिएका छन् ।

 बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय सम्म ठप्प बनेको पश्चिम दाङ क्षेत्रको खेल गतिबिधीलाई चलाएमान बनाउन संचालन गर्न लागिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद ७० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । 

त्यस्तै उपविजेताले नगद ३५ हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरलाई पुरस्कृत गरिने क्लबका सचिब सुजन कुमार राम्जाले जानकारी दिए ।

झण्डै एक साता सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईनेछ।

यसैविच आयोजकले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागी प्रचार प्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान मर्मत लगाएतका तयारी लाई तिब्र पारेको समेत जानकारी दिएको छ ।

 एमाललेले बनायो १५ हजार अस्थाई घर

एमाललेले बनायो १५ हजार अस्थाई घर

जेठ मसान्तदेखि पुरातात्विक सम्पदा सरसफाइ गर्ने, असार ४ देखि तीन दिन अनिवार्य श्रमदान गर्न

काठमाण्डौ, कार्तिक २ । नेकपा एमालले स्वयंसेवक परिचालन अभियान अन्तर्गत १५ हजार भन्दा बढि अस्थाई टहरा बनाएर भूकम्प पीडित सर्वसाधारणलाई हस्तान्तरण गरेको छ।  जेठ १० गते शुरु भएको अभियान अन्तर्गत १५ हजार दुई सय १० अस्थाई टहरा बनाई पीडितलाई हस्तान्तरण गरिएको जनाएको छ। 

 यो अभियानका क्रममा तीन दर्जन भन्दा बढि स्वयंसेवक घाइते भएको र कतिपय बिरामी परेको भन्दै त्यसकै जिम्मेवारी समेत पार्टीले लिने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। मंगलबार पार्टी मुख्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा उनले जेठ मसान्त देखि पुरातात्विक सम्पदा सरसफाइमा एमाले खटिने जानकारी गराए। 

 यस्तै भूकम्प प्रभावित ७६ निर्वाचन क्षेत्रमा असार ४ गतेदेखि तीन दिन श्रम अभियान सञ्चालन गर्ने समेत जानकारी गराए। श्रम अभियान अन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका सबै पार्टी सदस्य खटिने उनले बताएका छन्। 

 असार ८ गते विभिन्न पदमार्ग क्षेत्रमा ‘हाम्रो सम्पदा स्  हाम्रो पहिचानस विदेशी पाहुनालाई गर्छौं सम्मान१ु नाराका साथ पर्यटन प्रवर्द्धन कार्यक्रम समेत गर्ने भएको छ।

 यस्तो कार्यक्रम कञ्चनजंघा पदमार्गअन्तर्गत ताप्लेजुङ, सगरमाथा आरोहणको प्रवेशद्वारा सोलुखुम्बुको लुक्ला, अन्नपूर्ण पदमार्गअन्तर्गत पोखरा र जोमसोम, चितवनको सौराहा, शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी, जनकपुर, पशुपतिनाथ, बौद्धनाथ,  स्वयम्भूनाथ, प्यूठानको स्वर्गद्वारी, मुगुको रारा र सुदूरपश्चिमको खप्तडमा गरिने बताइएको छ। 

 

 अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

  दाङ, कात्तिक २ । अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबान समूहले जनाएको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि छात्रलाई विद्यालय जान दिइएको तर छात्रालाई नदिएको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको छ ।

विरोध र आलोचना गर्नेहरुको दबाबका कारण तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्नेबारेमा भने बताएका छैनन् ।

त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा शिक्षिकालाई पनि काम गर्न अनुमति दिइएको गृह प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबान सरकारले कठोर शासन व्यवस्था लागू गरेकाले अहिले पनि त्यस्तै शासन व्यवस्था लागू हुने हो कि भन्ने धेरैको आशङ्का छ ।

 मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदै

मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदै

  काठमाण्डौ, कात्तिक २ । मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदैछन् । मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने गरिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइँदै

आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाण्डौ, कात्तिक २ । आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित आजदेखि दशैँ पर्व समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

आजको रात जाग्राम बस्नेहरुका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि बुधबार रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

आज ३१ घडी ४६ पला अर्थात् बेलुका ६ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । कार्तिक स्नान र आकाशदीपदान पनि भोलिदेखि नै सुरु हुने समितिले जनाएको छ । 

 

 

महोत्तरीमा बोक्सीको आरोपमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

महोत्तरीमा बोक्सीको आरोपमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

 

  महोत्तरी, कात्तिक १ । भाउजूको हत्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका ३ का ४२ वर्षीय संजय कुमार झालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज सोमवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार संजयले बोक्सीको आरोपमा गएको बिहीवार भाउजू शिलादेवी झाको हत्या गरेका थिए । 

मजदुरीको काम गर्ने संजयले घरमा एक्लै सुतिरहेकी ४२ वर्षीया भाउजू शिलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको हो ।

एकल महिला शिलादेवीको बोक्सीको आरोपमा देवर संजयले हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक ९एसपी० दिनेश अचार्यले बताउनुभयो । एसपी अचार्यका अनुसार आफ्नी श्रीमती रिंकुलाई टुनामुना गरेको अन्धविश्वासमा परि संजयले भाउजू शिलादेवीको हत्या गरेका हुन् । 

जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका संजय गएको बुधवार राति साइकलमा घर पुगेर बिहीबार बिहान ३ बजेको समयमा भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । भाउजूको हत्या गरी संजय बिहानै साइकलमै जनकपुर फर्किएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा पाएको जानकारीअनुसार शिलादेवीले दिएको केरा खाँदा संजयकी श्रीमती रिंकुको गर्भ तुहिएको थियो । त्यसपछि मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक भएको थिएन । पछि बोक्सी नै रहेको भन्दै संजयले भाउजूको हत्या गरेका थिए ।  

लगातार बर्षाका कारण जनजिवन प्रभावित

लगातार बर्षाका कारण जनजिवन प्रभावित

 

दाङ, कात्तिक १ । लगातारको वर्षाका कारण दाङका खोला तथा नदीहरुमा पानीको बहाव बढेको छ । घोराही तुलसीपुर सडकखण्ड अन्र्तगत पत्रेखोलामा आएको बाढिका कारण साना सवारी साधन आवगमनमा समस्या भएको दाङ प्रहरीले जनाएको छ ।

ठुला सवारी साधन आवतजावत गरेपनि मोटरसाईकल, अटो, टेम्पोहरु खोलामा आएको बाढिका कारण रोकिएका छन् । यसैगरी लगातारको बर्षाका कारण जनजिवन प्रभावित बनेको छ ।

लगातार बर्षाका कारण हिडडुल गर्न समस्या भएको छ । केहि समय अघि नेपालबाट मनसुन बाहिरीए पनि फेरी पानी परेको छ । मौसमविदका अनुसार मौसम बुधवार सम्म सक्रिय हुनेछ ।

भोलि मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने

भोलि मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने

 

  काठमाण्डौ, कात्तिक १ । भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् । 

आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैबीच प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।