देश छाडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घको आग्रह

देश छाडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घको आग्रह

  दाङ, फागुन २४ । देश छोडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घले आग्रह गरेको छ । राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी निकायका प्रमुख मार्टिन ग्रिफिथ्सले युक्रेनका नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपिल गर्नुभएको हो ।

न्युयोर्कमा सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उहाँले रुस–युक्रेन युद्धका कारण युक्रेनमा फसेका लाखौँ नागरिकको दयनीय अवस्थाबारे चर्चा गर्नुभयो । हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उल्लेख गर्दै उहाँले जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा जान दिन आग्रह गर्नुभएको छ ।

राष्ट्र सङ्घका लागि रुसी राजदूतले आक्रमण भइरहेका क्षेत्रबाट मानिसलाई अन्तै जान नदिएको युक्रेनको आरोपबारे खण्डन गर्नुभएको बीबीसीले जनाएको छ । युक्रेनमा युद्ध सुरु भएदेखि हिजो १२औँ दिनसम्म झण्डै १७ लाख नागरिकले देश छाडेका छन् । 

 रुसद्वारा युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम

रुसद्वारा युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम

  दाङ, फागुन २१ । रुसले युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले मरिपोल र भोल्नोभाखाकामा अस्थायी युद्ध विराम घोषणा गरेको बीबीसीले जनाएको छ ।

ती सहरबाट सर्वसाधरणलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरेको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै रुसी सञ्चारमाध्ययमहरुले जनाएका छन् । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो । झण्डै चार लाख ५० हजार जनसंख्या रहेको मरिपोलमा युक्रेनको मुख्य व्यापार बन्दरगाह रहेको छ । यो सहर रुस–क्राइमिया सडक मार्गमा पर्छ । त्यहाँ रुसले युक्रेनमा आक्रमण शुरु गरेदेखी नै ठूला मुठभेड भइरहेको छ, रुसले यो सहर कब्जामा लिएको छ । भोल्नोभाखा भने कमै परिचित सानो सहर हो । रुसी रक्षा मन्त्रालयले बिज्ञप्ती निकालेर युक्रेनका सर्बसाधरणलाई खतरा हुने खालका गतिबिधि नगरेको दावी गर्दै सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ ।  

रुसले युक्रेनमा आक्रमण गरेको दश दिन भएको छ । रुसी आक्रमण शुरु भएपछि १० लाख भन्दा धेरै मानिस युक्रेनबाट पलायन भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । रुसी आक्रमणबाट खेअर्सन सहरका धेरैजसो संरचनाहरु ध्वस्त भएका बीबीसीले जनाएको छ । राजधानी किभ र दोस्रो ठूलो सहर खार्किभमा पनि ठूला ठूला लडाइँ भएका छन् । मरिपोलको दक्षिणी बन्दरगाह रुसी सेनाको कब्जामा छ भने ओडेसामा पनि आक्रमण भएको छ ।

युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र रुसले कव्जा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा नो–फ्लाई जोन लागू गर्न प्रस्ताव गरेको भए पनि अस्वीकार गरेपछि उहाँले पश्चिमा देशहरुको आलोचना गर्नुभएको छ ।

 अफगानिस्तानमा ३ सय भन्दा धेरै मिडिया बन्द,  २७ सय पत्रकारले जागिर गुमाए

अफगानिस्तानमा ३ सय भन्दा धेरै मिडिया बन्द, २७ सय पत्रकारले जागिर गुमाए

  दाङ, माघ २२ । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता  तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् ।

पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । ५१ वटा टिभि स्टेशन, एक सय ३२ वटा रेडियो र ४९ वटा अनलाइन सञ्चार माध्यम बन्द भएका हुन् । तालिबानले सत्ता सम्हालेपछि सबैभन्दा ठूलो असर पत्रिकामा परेको छ । अफगानिस्तानमा एक सय ४४ वटामध्ये हाल २० वटा मात्रै पत्रिका प्रकाशनमा रहेको आईएफजेको रिपोर्टलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस्तै पाँच हजार ६९ जना पत्रकारमध्ये हाल दुई हजार तीन सय २३ जना पत्रकार मात्रै कार्यरत रहेको र जागिर गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको खबरमा उल्लेख छ । दुई सय ४३ जना महिला अझै काममै रहेका छन् । रिर्पोटिङमा  तालिबानको प्रतिबन्ध, आर्थिक संकट र विकास साझेदारले सहयोग रोकेपछि अफगानिस्तानमा सञ्चारमाध्यम बन्द हुने र पत्रकारले जागिर गुमाउने क्रम बढेको छ ।

अफगानिस्तानको मिडिया समाजले सूचना पाउने नागरिकको हकको सम्मानको लागि भए पनि मिडिया बन्द हुने अवस्थाको अन्त्य गर्न आग्रह गरेको छ । अफगान स्वतन्त्र पत्रकार संघका अध्यक्ष हजतुल्लाह मुजादिदिले मिडियाको अवस्थालाई लिएर तत्कालै कदम नचालेमा निकट भविष्यमा अफगानिस्तानमा तालिबान नजिकका सीमित मिडिया मात्रै बाँकी रहने बताउनुभएको छ ।

यस्तै, अफगानिस्तान पत्रकार काउन्सिलका प्रमुख हफिजुल्लाह बराकजाईले अफगानिस्तानमा सूचनाको पहुँच बढाइरहनको लागि अन्तर्राष्ट्रिय समुदायलाई मिडिया क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

 

 १८ वर्षे इतिहासमा पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता घटे

१८ वर्षे इतिहासमा पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता घटे

  दाङ, माघ २१ । सामाजिक सञ्जाल फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ । 

फेसबुकको मातृ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो । त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो । 

फेसबुक अस्तित्वमा आएयता हरेक त्रैमासिकमा विश्वव्यापी आँकडा सधैँ उक्लिएको थियो । तर पछिल्लो केही वर्षमा युरोप र अमेरिकामा वृद्धि रोकिन पुगेको छ ।

मेटाले टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लैजाँदा आफ्नो आम्दानी पनि कम हुनसक्ने जनाएको छ । विवरण आएको केही घण्टापछि नै न्युयोर्कमा मेटाको शेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो । 

यो गिरावटले कम्पनीको मूल्यमा झण्डै दुई सय अर्ब डलर ह्रास आएको बीबीसीले जनाएको छ ।

ट्विटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कम्पनीको विस्तारमा बाधा पुग्नुको कारण प्रतिस्पर्धी माध्यममा युवाहरूको आकर्षण बढ्नु भएको बताउनुभएको छ । 

गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्ल्याटफर्मको स्वामित्व मेटामा रहेको छ । 

 इरानका राष्ट्रपति रायसी र फ्रान्सेली समकक्षी म्याक्रोँबीच फोनवार्ता

इरानका राष्ट्रपति रायसी र फ्रान्सेली समकक्षी म्याक्रोँबीच फोनवार्ता

  दाङ, साउन २६ । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसी र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँबीच फोनवार्ता भएको छ। एक घण्टा लामो फोनवार्तामा उहाँहरुबीच आणविक सम्झौता र इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको छ ।

म्याक्रोँले इरानलाई विलम्ब नगरि आणविक सम्झौता उल्लङ्घनका घटना रोक्न आग्रह गर्नुभएको एएफपीले जनाएको छ । जवाफमा रायसीले भविष्यमा हुने कुनै पनि वार्ताले इरानको राष्ट्रिय हित सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग गरेको आणविक सम्झौतामा इरानले आणविक मोहलाई त्याग्ने र बदलामा अमेरिका लगायतका युरोपेली देशले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध अन्त्य गर्ने सहमति भएको थियो । तर आणविक सम्झौता अमेरिकाको पक्षमा नभएको भन्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्न नसक्ने बताउनुभएको थियो ।

अमेरिका सम्झौताबाट फिर्ता भएको थियो भने इरानले पनि आणविक सम्झौतामा गरिएका प्रतिबद्धतालाई क्रमशः तोड्दै गएको थियो।

 अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण : ४ जनाको ज्यान गयो, ११ घाइते

अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण : ४ जनाको ज्यान गयो, ११ घाइते

दाङ, साउन २० । अफगानिस्तानका रक्षामन्त्रीको घरमा विद्रोही समूहले कार बम आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् । 

आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले सुरक्षित रहनुभएको बीबीसीले जनाएको छ । उहाँले घटनापछि ट्वीट गरी आत्तिनु नपर्ने भन्नुभएको छ । रक्षामन्त्रीको परिवारका सदस्यलाई उद्धार गरिएको छ । उनीहरु सुरक्षित छन् । बन्दुकधारीले आज बिहान काबुलको सबैभन्दा सुरक्षित मानिने रक्षामन्त्रीको घरमा कार बम आक्रमण गरेका बीबीसीले जनाएको छ । साथै उनीहरूले गोली पनि चलाएका थिए । 

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले हिंसा अन्त्य गर्न आह्वान गरेका बेला अफगानिस्तानमा आक्रमणको घटना भएको हो । पछिल्लो घटनामा संलग्नता र ज्यान गुमाउने को हुन् भन्नेबारे पूर्ण रुपमा खुलेको छैन । अमेरिकी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानमा तालिबानले हिंसाका घटना बढाएको छ ।

 विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

 दाङ, साउन ८ । विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यस प्रकार रहेका छन् ।

चीनमा एक अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज कोरोनाभाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

जापान ७ करोड ३९ लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज कोरोनाभाइरसविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ३८ लाख ७९ हजार ३९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

 क्रियाशील सदस्यता वितरण विवाद तत्काल समाधान गर्न देउवालाई दबाब

क्रियाशील सदस्यता वितरण विवाद तत्काल समाधान गर्न देउवालाई दबाब

  काठमाण्डौ, साउन ४ । प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । सानेपामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेतारकार्यकर्ताले आज सोमवार एक पक्षीय ढङ्गले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनशन बस्ने चेतावनीसमेत दिए ।

पार्टीको विधानसम्मत ढङ्गले, न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानबिन नभए आफूहरू आमरण अनशनमा बस्न बाध्य हुने कांग्रेस नेता अमरेश कुमार सिंहले चेतावनी दिनुभयो । उहाँले छिटो भन्दा छिटो यो समस्या समाधान गर्न सभापति देउवासँग माग गर्नुभयो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो भदौ १६–१९ गते गर्ने मिति तोकिएको छ । तर क्रियाशील सदस्यता वितरणमा नै धाँधली गरिएको भन्दै विरोधमा कांग्रेसका प्रदेश नम्बर २ का नेतारकार्यकर्ता पार्टी कार्यालयमा अनशनमा बसेका छन् । उनीहरूले जिल्ला छानबिन समितिले दिएको सुझावका आधारमा सदस्यतासम्बन्धी विवाद समाधान नगरे मान्य नहुने चेतावनीसमेत दिएका छन् । 

जिल्ला छानबिन समितिले केन्द्रलाई दिएको सुझावका आधारमा सदस्यता वितरणसम्बन्धी विवाद समाधान नगरे मान्य नहुने कांग्रेस केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवले बताउनुभयो । उहाँले पार्टी केन्द्रले एक पक्षीय ढङ्गले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न लागेकोमा आपत्ति जनाउँदै मान्य नहुने चेतावनीसमेत दिनुभयो ।

धर्नामा बसेकाहरूले जिल्ला छानबिन समितिले दिएको सुझावलाई वास्ता नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोशसमेत व्यक्त गर्दै आएका छन् । उनीहरूले केन्द्रीयस्तरको छानबिन समितिले समेत पार्टीको विधानअनुसार काम गर्न नसकेको दाबी गरेका छन् । 

 विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

  काठमाण्डौ, साउन ४ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ ।

कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ ।  त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, बेलायतमा पनि सङ्क्रमण फैलिन थालेको छ । गएको २४ घण्टामा बेलायतमा ५४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

यस्तै थाइल्याण्डमा पनि सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्यका मापदण्डमा कडाइ गर्दै लकडाउन थपिएको छ । यस्तै, बङ्गलादेशमा पनि सङ्क्रमण फैलिरहेको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण चुनौती बढेको विज्ञले बताएका छन् ।

 पश्चिम युरोपमा आएको बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय २० पुग्यो

पश्चिम युरोपमा आएको बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय २० पुग्यो

  काठमाण्डौ, साउन २ । पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय २० पुगेको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो जर्मनीका रहेका बीबीसीले जनाएको छ ।  बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएका छन् ।  बाढीका कारण सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीको खबरमा उल्लेख छ । जर्मनीका मौसम विभागका  प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको बताउनुभएको छ ।

एक महिनामा पर्नु पर्ने पानी २४ घण्टाभित्रै परेको यहाँको मौसम विभागले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २  सय ७ मिलीलिटरसम्म पानी परेको बताइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा आएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिनुभएको छ । उहाँले  बाढीका कारण विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा जोडतोडका साथ लाग्न निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।

 विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएचओको चेतावनी

विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएचओको चेतावनी

  काठमाण्डौ, साउन १ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ ।  डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ ।

कोरोनाको सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन पनि डब्ल्यूएचओको आग्रह छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिनु त परको कुरा महामारी नजिक समेत नपुगेको स्पष्ट पार्नु भएको  छ ।

विश्वमा अहिले १८ करोड ९६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ४० लाख ८२ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोना विरुद्धको खोप लगाए, बेलाबेलामा साबुन पानीले हात धोए, मास्कको अनिवार्य प्रयोग गरे र भौतिक दूरी कायम गरे मात्रै सङ्क्रमणबाट बच्न सकिने विज्ञले बताएका छन् ।

भारतमा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने

भारतमा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने

 

  दाङ, असार १९ । भारतमा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई समेत कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएसँगै अब उनीहरुले पनि खोप लगाउन पाउने भएका हुन् । गर्भवतीलाई पनि खोप दिनुपर्ने राष्ट्रिय प्राविधिक सल्लाहकार समूहको सिफारिसलाई भारतको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको बीबीसीले जनाएको  छ ।

अब खोप लगाउन चाहने गर्भवतीले कोरोना एपमा गएर आफ्नो नाम दर्ता गराउन अर्थात नजिकैको कोभिड केन्द्रमा गएर खोप लगाउन सक्नेछन् । उनीहरुलाई कोरोनाविरुद्धको खोप सम्बन्धित राज्य र केन्द्र प्रशासित प्रदेशहरुमा वितरण गरिनेछ । यसअघि कोरोना सङ्क्रमणले गर्भवतीको स्वास्थ्यमा निक्कै असर गरिरहेको अध्ययनहरुले निष्कर्ष निकालेको थियो ।

उनीहरुमा थुप्रै गम्भीर रोगहरुको जोखिम बढाउनुका साथै भ्रूणलाई पनि असर गर्ने सम्भावना रहेको अध्ययनले देखाएको थियो । अब नयाँ नियम अनुसार गर्भवतीले गर्भावस्थाको कुनै पनि समयमा खोप लिन सक्ने भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

 विश्वमा कोरोनालाई जित्नेको सङ्ख्या १५ करोड नाघ्यो

विश्वमा कोरोनालाई जित्नेको सङ्ख्या १५ करोड नाघ्यो

  दाङ, जेठ १३ । विश्वमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ करोड नाघेको छ । वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वका १५ करोड सात लाखभन्दा धेरै मानिस कोरोना सङ्क्रमण पुष्टि भएर सङ्क्रमण मुक्त भइसकेका छन्।

कतिपय मानिसले कोरोना परीक्षण नै नगराइ निको हुने भएकोले यो सङ्ख्या अझै धेरै हुने विज्ञहरु बताउँछन् । पुष्टि भएकामध्ये निको हुनेको दर ८९ दशमलव १३ प्रतिशत रहेको छ । अहिलेसम्म विश्वमा १६ करोड ९० लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३५ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अहिले विश्वमा एक करोड ४७ लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित छन् । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वका दुई सय २० देश तथा शासित क्षेत्रहरुमा पुगिसकेको छ । कोरोना नियन्त्रणका लागि अहिले पनि धेरै देशले निषेधाज्ञा, लकडाउनलगायत विभिन्न प्रतिबन्धहरु कायम राखेका छन् ।

धेरैजसो देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि सुरु भइसकेको छ ।