आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

  काठमाण्डौ, असार १४ । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यसले गर्दा पर्सीसम्म नै वर्षा हुने अनुमान गरिएको हो ।

राति पनि ठूलो पानी पर्ने भएकाले जोखिम अझै बढेको छ । भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई सावधानी अपनाउन मौमविद्ले आग्रह गर्दै आएका छन् । यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै छ । प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको थियो ।

 पश्चिमी वायुको प्रभावले लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा

पश्चिमी वायुको प्रभावले लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा

  काठमाण्डौ, असार ६ । पश्चिमी वायुको प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पनि बद्ली भएको र यी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा भएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशमा मनसुन सक्रिय छैन ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण यी प्रदेशमा हल्का वर्षा भएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसँगै आज प्रदेश १, मधेस प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना रहेको छ ।

यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । आज दिउँसो देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद्ले चार प्रदेश वाग्मती, गण्डकी, प्रदेश-१ र मधेस प्रदेशमा मात्रै गनसुन सक्रिय रहेको बताएका छन् । 

आज कर्णाली र सुदूरपश्चिममा कम पानी पर्ने : प्रदेश १, २, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने धेरै पर्ने अनुमान

आज कर्णाली र सुदूरपश्चिममा कम पानी पर्ने : प्रदेश १, २, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने धेरै पर्ने अनुमान

 

  काठमाण्डौ, कात्तिक ३ । देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रदेश १ का केही ठाउँमा आज पनि लगातारजसो झरी पर्ने मौसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिममा भने पानी पर्न केही कम भएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश  २, बागमती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा आज पनि मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, आज हिजोको भन्दा पानी अलि कम पर्ने पूर्वानुमान गरिएको छ ।

भोलिदेखि बिस्तारै क्रमशः मौसम खुल्दै जाने मौसमविद् शाक्यले बताउनुभयो । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव परेकाले गएको आइतबारदेखि लगातार पानी परिरहेको छ । सामान्यतया अक्टोबर, नोभेम्बर र प्रि मनसुनको समयमा बंगालको खाडीमा चक्रवात विकास हुने समय भएकाले यो समयमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिलेको मौसमी प्रणालीले चक्रवात विकसित हुन नसके पनि लगातार पानी पारिरहेको छ । मौसम सम्बन्धी जानकारी इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा आइरहेकाले त्यहीअनुसार आफ्नो कामलाई अगाडि बढाउन पनि मौसमविद्ले आग्रह  गरेका छन् । मौसम सम्बन्धी प्राप्त जानकारी पालना गरे क्षति न्यूनीकरणमा सहयोग पुग्ने भएकाले लापरबाही नगर्न मौसमविद्को आग्रह छ । 


 देशका धेरै ठाउँमा वर्षा : पर्सिदेखि मात्रै मौसममा सुधार हुने

देशका धेरै ठाउँमा वर्षा : पर्सिदेखि मात्रै मौसममा सुधार हुने

  काठमाण्डौ, कात्तिक २ । देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भारी वर्षा भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि पानी परिरहेको छ ।

आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । आज राति र भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । शनिबार रातिदेखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ । बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 

 वाग्मती तथा प्रदेश १ र २ मा हल्कादेखि मध्यम वर्षा, सुदूरपश्चिममा भोलि ठूलो पानी पर्ने

वाग्मती तथा प्रदेश १ र २ मा हल्कादेखि मध्यम वर्षा, सुदूरपश्चिममा भोलि ठूलो पानी पर्ने

  काठमाण्डौ, असोज ३१ । काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहानदेखि पानी पर्न सुरु भएको हो । केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पछि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना छ । भोलि देशैभर पानी पर्ने अनुमान छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । अहिले देशका धेरै ठाउँमा धान पाकेकोले किसान बाली भित्र्याउन व्यस्त छन् । यस्तै, दशैँका लागि गाउँ घर गएकाहरु पनि काठमाण्डौ उपत्यका फर्किदै छन् । यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद्को सुझाव छ ।

यस्तै, हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । आज भन्दा भोलि हिमाली जिल्लामा हिमपातको सम्भावना धेरै रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

 आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

  काठमाण्डौ, भदौ ३१ । आज बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

दिउँसो भने देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि बद्ली भएर सामान्य खालको पानी पर्न सक्ने बताउनुभयो ।

भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँको अनुमान छ ।  अबको केही दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

 काठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षा

काठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षा

  काठमाण्डौ, भदौ २१ । काठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताउनुभयो । यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताउनुभयो । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ। आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

यस्तै, भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने छ । 

 दाङको राप्ती नदीमा पानीले सतर्कता तह पार गर्यो

दाङको राप्ती नदीमा पानीले सतर्कता तह पार गर्यो

दाङ, भदौ १४ । दाङको पश्चिम राती नदीमा पानीले सतर्कता तह पार गरेको छ। निरन्तर वर्षापछि आज विहान साढे ६ बजे नदीमा पानीले सतर्कता तह पार गरेको हो । अहिले पनि दाङ जिल्ला र आसपासको क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले पानीको तह बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुम्बाङले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर्दै नदीमा काठ दाउरा लिनलाई नजान आग्रह गर्नुभएको छ।



 आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

  काठमाण्डौ, भदौ १४ । आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ । तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । भोलिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै छ ।

लगातारको वर्षाले नारायणी नदीको देवघाटमा बाढीले खतराको सतह पार गरेको छ । कोशी, वाग्मती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतका नदीमा बाढी आए पनि खतराको तह भने पार गरेको छैन । 

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च

 

  काठमाण्डौ, भदौ १३ । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज आइतवार दिउँसो यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनअनुसार सप्तकोसीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेक प्रति–सेकेन्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

यसअघि साउन ३२ गते कोसीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्युसेक प्रति–सेकेन्ड बहाव मापन गरिएको थियो । पछिल्लो मापनले त्यो रेकर्डलाई उछिनेको हो । 

पूर्वका धेरैजसो भेगमा वर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा रहेको देखाएको छ । जसका कारण कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आँकलन गरिएको छ । 

यसैबीच निरन्तरको वर्षासँगै कोसीको बहावमा उतार–चढाव देखिँदा सुनसरीको श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान गर्न थालेको छ । नदीमा आएको उतार–चढावका कारण यसअघिका हप्तामा कटान भएको त्यो क्षेत्रको कतिपय ठाउँमा फेरि कटान सुरु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही ठाउँमा कटान गरेको खबर प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोसी क्षेत्रको निरीक्षणमा निस्किएको छ ।  

 पाल्पामा घर भत्कँदा ११ वर्षीया वालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

पाल्पामा घर भत्कँदा ११ वर्षीया वालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

रूपन्देही, भदौ १३ । अविरल वर्षापछि आज विहान आएको पहिरोले बुटवल उपमहानगरपालिका(३ ज्योतिनगरमा एक दर्जन घरमा क्षति पुर्‍याएको छ । २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेपछि सो क्षेत्र थप प्रभावित बनेको हो ।

चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको स्थानीयले जनाएका छन् । बुटवल वडा-४ का अध्यक्ष टंक पराजुलीले गैरीगाउँका केही घरमा क्षति पुराएको र वर्षा निरन्तर भएकाले उद्दारमा कठिनाइ भएको बताए ।

स्थानीयका अनुसार ३ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन । यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए ।

पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ । बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।

उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो । पहिरोले बुटवलको वडा नम्बर ३ र २ मा क्षति पु¥याएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

उता पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

राती सुतिरहेकै अवस्थामा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेनमा निधन भएको हो ।

 पछिल्लो ६ घण्टामा कपिलवस्तुमा धेरै ठूलो वर्षा, यी नदीमा आउन सक्छ बाढी

पछिल्लो ६ घण्टामा कपिलवस्तुमा धेरै ठूलो वर्षा, यी नदीमा आउन सक्छ बाढी

  काठमाण्डौ, भदौ १३ । पछिल्लो ६ घण्टामा कपिलवस्तुको बाणगङ्गामा धेरै ठूलो पानी परेको छ । यो क्षेत्रमा थप वर्षा हुने अनुमान छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बाणगङ्गा, गुडुङलगयात स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



यस्तै, आज नारायणी र यसका सहायक नदी कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायत नदीमा बाढी आउने चेतावनी दिइएको छ। 

 अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै

अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै

  काठमाण्डौ, भदौ १३ । आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन्  । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।

मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद् मानन्धरले बताउनुभयो । तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, राति प्रदेश(१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । 

 अविरल वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र जलमग्न

अविरल वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र जलमग्न

प्रिया स्मृती गजमेर, 

देउखुरी, भदौ ११ । बुधबार रातीदेखि परेको अविरल वर्षातका कारण देउखुरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । राप्ती नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरु लगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि डुबान सुरु भएको हो ।

वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबानमा भएतापनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन् । लगातार परेको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै गए रातिदेखि परेको अविरल वर्षाले देउखुरी आसपासका क्षेत्र जलमग्न भएका छन् । निरन्तर परिरहेको वर्षाले लमही, राजपुर, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा पानी जमेर जलमग्न भएको हो । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ ।

निरन्तरको वर्षाले रोल्पा र प्युठान जिल्ला जलमग्न भएको छ । त्यहाँको पानी दाङको राप्ती नदीमा आइपुग्न करिब आठ घण्टा लाग्छ, दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने ,— ‘राप्ती नदीको पानीको सतह तीन मिटर माथि पुगेको छ । देउखुरीमा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् ।

वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।


 झरही खोलाको बाढीले परासी बजार डुब्यो, एकजना बेपत्ता

झरही खोलाको बाढीले परासी बजार डुब्यो, एकजना बेपत्ता

बुटवल, भदौ ११ । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घरहरु डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं. १ को सहुवाटिकर, वडा नंं. २ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं. ३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं. ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं ६ पोखरापाली टोल पुरै डुबानमा परेका नगर प्रमुख नगेन्द्र गुप्ताले बताए ।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसेर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउ परीक्षक राजु लामाले जानकारी दिए।

सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ ।

वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए । घर भित्रै बाढी पसेकाकारण एक तले घर हुने कैयौं परिवारले वर्षाकै बीच घरको छतमा रात कटाउन बाध्य भएको परासीका स्थानीय बासिन्दा एवं नेपाल पत्रकार महासंघका जिल्लाअध्यक्ष हरि शर्माले बताए ।

जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाको केही वडाहरु पनि बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ।

१४ वर्षीय किशोर वेपत्ता

सुनवल नगरपालिका वडा नं. ४ का एक जना १४ वर्षीय किशोर बेपत्ता भएका छन् । बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको आशंका प्रहरीले गरेको छ । उनको खोजीकार्य भइरहेको छ ।

 अविरल वर्षाले नेपालगञ्ज जलमग्न

अविरल वर्षाले नेपालगञ्ज जलमग्न

बाँके, भदौ ११ । गएरातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ।

निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो।

उहाँका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ ।

निरन्तरको वर्षातले सहरका विभिन्न ठाउँ डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।

निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् ।

भारतले नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्सेनि गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

काठमाण्डौ, भदौ ११ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ ।

वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ ।

कुन प्रदेशमा कति वर्षा ?

लुम्बिनी प्रदेश

गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुर आसपासका क्षेत्रमा पनि अति ठूलो वर्षा भएको छ । त्यस आसपासमा  दुई सय ५ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै, रुपन्देहीमा एक सय ८६ मिलिमिटर, भैरहवामा २ सय ५८ मिलिमिटर र कपिलवस्तुको बाणगङ्गामा ३ सय ११ मिलिमिटर वर्षा भएको छ । बाणगङ्गा आसपासमा पनि बितेको २४ घण्टामा अति ठूलो वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । यस्तै बर्दियामा पनि १ सय ६ मिलिमिटर  पानी परेको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पनि गएको २४ घण्टादेखि  लगातार झरी परिरहेको छ । त्यहाँको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखालगायत जिल्लामा अति ठूलो वर्षा भएको छ । मौसविद्का अनुसार गोरखाको बारपाकमा सबैभन्दा धेरै वर्षा भएको छ । 

वाग्मती प्रदेश

वाग्मती प्रदेशको चितवन, चितवनको आसपास र सिन्धुलीमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार सिन्धुलीको कुसुन्टारमा २ सय ७८ मिलिमिटर पानी परेको छ ।

यस्तै, चितवनको माडीमा २ सय ६० मिलिमिटर वर्षा भएको छ भने काली खोलालगायत क्षेत्रमा ठूलो वर्षा भएको छ । वाग्मतीका अन्य प्रदेशमा भने सामान्यदेखि मध्यम खालको वर्षा भएको छ ।

प्रदेश-२

प्रदेश-२ को धेरैजसो क्षेत्रमा ठूलो वर्षा भएको छ । बाराको निजगढमा गएको एक घण्टामा नै ४८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै धनुषाको जनकपुर विमानस्थल आसपासका क्षेत्रमा पनि अति ठूलो वर्षा भएको छ ।

एक घण्टाको अवधिमा त्यहाँ पनि ४६, ४७ मिलिमिटर वर्षा मापन भएको छ । गएको २४ घण्टामा भने धनुषामा एक सय एक मिलिमिटर पानी परेको छ । यस्तै, पर्सा, सिरहा र सप्तरीमा पनि ठूलो वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेशको बाजुरामा ठूलो वर्षा भएको छ । त्यहाँ २६ दशमलव ६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । अन्य क्षेत्रमा भने मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पनि ठूलो वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिमका धेरैजसो ठाउँमा आज राति र भोलि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । भोलिदेखि देशका मध्य र पूर्वी क्षेत्रमा भने बिस्तारै पानी पर्न कम हुने छ । मौसमविद्का अनुसार आज पनि लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।  

 पाँच वटा प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने

पाँच वटा प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने

  काठमाण्डौ, भदौ १० । आज प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

आज राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । हिजोदेखि मनसुन थप सक्रिय भएको र दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

अबको केही दिन प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी तथा लुम्बिनीसँगै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा पनि धेरै वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिनु भयो । 

 हप्ताभरि निरन्तर पानी पर्ने, बिहीवार र शुक्रवार उच्च जोखिम

हप्ताभरि निरन्तर पानी पर्ने, बिहीवार र शुक्रवार उच्च जोखिम

  काठमाण्डौ, भदौ ८ । आज चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै, राति प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । मनसुन थप सक्रिय रहेकाले भोलिदेखि देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेको छ बाढी पहिरोको जोखिम उच्च छ ।

 मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च

  काठमाण्डौ, भदौ ७ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ  ।

गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश(१, प्रदेश-२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने छ । तर, बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना छ ।

भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि थप सक्रिय भएको मौसमविद्ले बताएका छन् ।