मतदाता नामावली सङ्कलन आजदेखि, आफू रहेकै जिल्लाबाट नाम दर्ता गर्न सकिने

मतदाता नामावली सङ्कलन आजदेखि, आफू रहेकै जिल्लाबाट नाम दर्ता गर्न सकिने

  


काठमाण्डौ, असार १ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दैछ ।

आयोगले योग्यता पुगेका सबै नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति केही दिनमै घोषणा हुने सम्भावना रहेकाले त्यसअघि नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभयो ।

उहाँले पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले आफ्नो स्थायी ठेगानामा रहने गरी अहिले अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्नसक्ने पनि जानकारी दिनुभयो ।

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्न पनि सकिनेछ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

पालिका चुनावमा ज्यान गुमाएका व्यक्तिको पनि मतदाता नामावलीमा नाम भएको, परिचयपत्र भएर पनि नामावलीमा नाम नभएर मतदान गर्न नपाएको जस्ता समस्या देखिएको थियो । अब हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा यस्तो समस्या नदोहोरियोस् भनेर आयोग सचेत रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि चुनावको मिति घोषणा गर्न सरकारसँग परामर्श भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।


 सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

  काठमाण्डौ, जेठ १३ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आउँदो आर्थिक वर्ष २०७९र०८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । 

आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आउँदो वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभइएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिबाट संवत् २०७९ जेठ १० गते मङ्गलवारका दिन सङ्घीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९र०८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ । 

 ६ वटा महानगरपालिकामा आज बिहानदेखि मात्रै मतगणना सुरु हुने

६ वटा महानगरपालिकामा आज बिहानदेखि मात्रै मतगणना सुरु हुने

  काठमाण्डौ, बैशाख ३१ । ६ वटा महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुने भएको छ । काठमाण्डौमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भएको हो । 

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान मात्रै मतगणना सुरु हुने भएको छ । गएराति नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा सहमति नजुटेपछि आज बिहानदेखि  मात्रै हुने भएको हो ।

मोरङको विराटनगर महानगरपालिकामा पनि आज मात्रै मतगणना सुरु हुने भएको छ । हिजो बसेको सर्वदलीय बैठकले आज बिहान मतगणना गर्ने निर्णय गरेको हो । 

कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ । पर्साको वीरगञ्ज महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ । अरु धेरै पालिकामा पनि आज बिहानदेखि मात्रै मतगणना सुरु हुनेछ ।

 पालिका चुनाव लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव : भण्डारी, ढुक्कसँग मतदान गर्नुस् : देउवा

पालिका चुनाव लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव : भण्डारी, ढुक्कसँग मतदान गर्नुस् : देउवा

  काठमाण्डौ, बैशाख २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले पालिकाको चुनाव लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गर्नुभएको छ ।

भोलि शुक्रवार हुन गइरहेको पालिका चुनावका सम्बन्धमा राष्ट्रपतिले आज एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि हुने चुनावमा ढुक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण देशवासीमा अपिल गर्नुभएको  छ ।

चुनाव लोकतन्त्रको आधारस्तम्भ हो भन्दै देउवाले सन्देशमार्फत चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्था चुस्त बनाएको बताउनुभयो । 

भोलि देशभर एकै चरणमा पालिका चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

 चुनावको दिन सरकारले सार्वजनिक बिदा दियो

चुनावको दिन सरकारले सार्वजनिक बिदा दियो

  काठमाण्डौ, बैशाख २६ । यही वैशाख ३० गते हुने पालिका चुनावको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । 

हिजो आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । त्यस दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 



 तीन गाउँपालिकाका अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित

तीन गाउँपालिकाका अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित

  काठमाण्डौ, बैशाख २५ । पालिका चुनाव–२०७९ मा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।

३५ हजार २ सय २१ जनाप्रतिनिधि छान्नका लागि वैशाख ३० गते चुनाव हुँदैछ । तर गएको ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले तीन अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरेको छ ।

पालिका चुनावका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । आयोगका अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।

पालिका अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका हुन् । आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अङ्गदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ र शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्वाचित हुनुभएको छ ।

त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निमा बुढा, छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित हुनुभएको छ ।

प्रदेश-१ मा ४३, मधेसमा ९, वाग्मतीमा ४६, गण्डकीमा ११२, लुम्बिनीमा ८, कर्णालीमा १५७ र सुदूरपश्चिममा १५ जना निर्वाचित भएका छन् ।

 १७ जिल्लामा निर्वाचन आयोगले खटायो केन्द्रीय अनुगमन टोली

१७ जिल्लामा निर्वाचन आयोगले खटायो केन्द्रीय अनुगमन टोली

  काठमाण्डौ, बैशाख २५ । पालिका चुनावका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, विश्वसनीयतालगायतका विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताउनुभयो । उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत चुनाव सम्पन्न गर्न कुनै पनि आग्रह—पूर्वाग्रह नराखि ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभएको छ । उहाँ मतदान वा मतदानपछि हुने गणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी सहजीकरण र समन्वय गर्न पनि टोलीलाई आग्रह गर्नुभएको छ ।

सबै पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ । त्यसअगाडि नै मतगणना सक्ने गरी काम भइरहेको र आयोगका कारणले ढिलाइ नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ । आयोगका आयुक्त एवम् केन्द्रीय अनुगमन समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले आयोगले ‘सानो तर स्मार्ट’ अनुगमन टोली खटाइएको बताउनुभयो ।

कुनै दलले जित्ने वा हार्ने बहानामा गणना रोक्न नहुने र तोकिएको समयमा कुनै दल र उम्मेदवारका प्रतिनिधि बस्न नआए पनि गणना प्रक्रिया सुरु गराउन उहाँको आग्रह छ ।

 यस पटक मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोचे हुन्छ  : थपलिया

यस पटक मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोचे हुन्छ : थपलिया

  काठमाण्डौ, बैशाख १६ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका चुनावका लागि मतपत्र कडा कागजमा छापिएकाले राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गर्नुभएको छ । आज शुक्रवार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतमा भएका गल्तीका कारण आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरू लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरू यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यस कारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस् । यो अनुरोध हो । छाप्दै त्यसै गरी छापेको हो । यो कुरा बुझिदिनुभयो भने आउँदा दिनमा यस्ता प्रश्न उठ्दैनन् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनाव सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले पालिका चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो । 

उहाँले विभिन्न राजनीतिक दलका नेताले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने बताउनुभयो । उहाँले लोकतन्त्रलाई विश्वास गरेर चुनावमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पार्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले समानुपातिक समावेशिता सिद्धान्त र ऐन, कानुनलाई बिर्सिएर पालिकामा उम्मेदवारी मनोनयन दर्ता गरेको पनि बताउनुभयो । उहाँले आयोगले विभिन्न राजनीतिक दललाई संविधानको धारा ३८ को उपधारा ४ बमोजिम चुनावको प्रक्रियामा महिलाको ५० प्रतिशत सहभागिताको कुरालाई बिर्सिएको बताउनुभयो । 

प्रमुख आयुक्त थपलियाले यस वर्ष आचारसंहिता बनाउँदा पहिलो पटक सामाजिक सञ्जालको नियमन उठाएको र अहिलेसम्मको अध्ययनले समाजिक सञ्जालबाट झनै विकृति सिर्जना भएको पाएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा चुनावसम्बन्धी भइरहेका असामाजिक कृत्यलाई निरुत्साहित गर्न आयोगको अनुरोधअनुसार आयोगको युट्युब वा सामाजिक सञ्जालमार्फत आयोगलाई सूचना दिन पनि पर्यवेक्षकहरूलाई अनुरोध गर्नुभयो । 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितका लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आयोगलाई सुझाव दिनुभयो । अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको समयमा निर्वाचन परीवेक्षण गर्न जरुरी रहेकोले आयोगले त्यसमा जोड दिनुपर्ने बताउनुभयो ।

 चुनावका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने

चुनावका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने

  काठमाण्डौ, बैशाख १५ । बैशाख ३० गते हुने पालिका चुनाव अन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । मनोनयनपत्र जाँचसँगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी निर्णय गरेर आज बेलुकी पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ ।

भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।  

 वैशाख ३० गते हुने पालिका चुनावका लागि आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने

वैशाख ३० गते हुने पालिका चुनावका लागि आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने

  काठमाण्डौ, चैत २५ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि आज शुक्रवार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको बैठकले भरे राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले चुनावको ३४ दिनअघिदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको बताउनुभयो । आचारसंहिता यसअघि नै नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आचारसंहितामा गर्न पाइने र गर्न नपाइने कुरा खुलाइएको छ । आचारसंहितामा शैक्षिक संस्थामा निर्वाचनसम्बन्धी भेला, प्रचार गर्न नहुने व्यवस्था गरिएको छ । 

यस्तै सार्वजनिक सम्पत्ति कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नहुने, चुनावसँग सम्बन्धित सूचनालाई बिगार्न नहुने कुरा पनि आचारसंहितामा उल्लेख छ । राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपी, लकेट अगायत कुनै पनि पहिरन तथा स्केच बनाउन नपाइने भएको छ । १८ वर्षमुनिका बालबालिकालाई प्रचारमा सामेल गर्न पाइने छैन । 

नेपाल सरकार, प्रदेश सरकार र पालिका सरकारका पदाधिकारीले आचारसंहिता लागू भएपछि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएमा भने आफ्नो प्रचार गर्न पाउनेछन् । अब नयाँ योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण, अध्ययन पनि गर्न पाइने छैन । त्यस्तै पुरस्कार, सम्मान वितरण गर्न पाउने छैनन् भने निर्वाचन आयोगको स्वीकृति नलिइ कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न पाइने छैन । शिक्षकले पनि कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । 

 २० देशमा राजदूत नियुक्त  : १२ जना राजनीतिक भागबन्डाबाट

२० देशमा राजदूत नियुक्त : १२ जना राजनीतिक भागबन्डाबाट

  काठमाण्डौ, चैत २५ । सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा व्यापक राजनीतिक नियुक्तिहरू गरेको छ । 

बिहीवार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ ।

राजदूत नियुक्तिको सिफारिसमा एकीकृत समाजवादीको कोटाबाट पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मीला पराजुली ढकालसमेत हुनुहुन्छ । पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस हुनुभएको हो ।

श्रीलङ्काको राजदूतका लागि सिफारिस भएका वासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुनुहुन्छ । चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा पर्नुभएको छ । जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूतको सिफारिसमा पर्नुभएको छ । यसअघि श्रीलङ्काको राजदूतबाट राजीनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ ।

दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको नाम सिफारिस तथा जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस हुनुभएको छ । रसियाको राजदूतका लागि मिलन तुलाधर, श्रीलङ्कामा वासुदेव मिश्र र मलेसियाको राजदूतमा डिल्लीराज पौडेल सिफारिस हुनुभएको छ ।

परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्ले सिफारिस हुनुभएको छ ।

 दलहरूले चुनावमा के–के गर्न हुँदैन, यस्तो छ निर्वाचन आयोगको ६० बुँदे निर्देशन

दलहरूले चुनावमा के–के गर्न हुँदैन, यस्तो छ निर्वाचन आयोगको ६० बुँदे निर्देशन

  काठमाण्डौ, चैत २२ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगले आज मङ्गलवार राजनीतिक दलहरूलाई बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले के–के गर्न नहुने भन्नेबारेमा ६० बुँदे निर्देशन दिएको हो । आयोगले आज नै दलहरूलाई आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको थियो । 

निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनअनुसार बमोजिम चुनावको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने  उद्देश्यले अवरोध पुर्‍याउन नहुने आयोगको बुँदामा उल्लेख छ । 

 सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

  काठमाण्डौ, चैत १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई आज मङ्गलवार सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । श्रेष्ठ अहिलेसम्म उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई न्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । 



 स्थानीय तहको चुनावका विषयमा निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै

स्थानीय तहको चुनावका विषयमा निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै

  काठमाण्डौ, फागुन २७ । स्थानीय तहको चुनावका विषयमा आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्ने भएको छ ।

बिहान साढे ११ बजे आयोगकै कार्यालयमा दलहरुसँग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनुभयो । छलफलमा सङ्घ, प्रदेश र पालिकामा अहिले प्रतिनिधित्व गरिरहेका १७ वटा दललाई बोलाइएको छ ।

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको एक महिना भइसकेको र यो समयमा आयोगले गरेका कामबारे दलहरुलाई जानकारी दिइने प्रवक्ता शर्माले बताउनुभयो । निर्वाचन आयोगसँग दलहरुका अपेक्षा र दलहरुसँग निर्वाचन आयोगका अपेक्षाबारे पनि छलफल हुनेछ ।

यस्तै निर्वाचन आयोगले मतदान र मतगणनाको लागि सजिलो बनाउन मतपत्रमा हुने चुनाव चिह्नको रङ्ग हरियो बनाउने निर्णयमाथि भएका बहसको विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनाव आउँदो वैसाख ३० गते हुँदैछ । स्थानीय तहको चुनाव प्रयोजनको लागि आयोगमा ८० वटा दल दर्ता भएका छन् ।

 नवनिर्वाचित राष्ट्रियसभाका १९ सांसदले लिए शपथ

नवनिर्वाचित राष्ट्रियसभाका १९ सांसदले लिए शपथ

दाङ, फागुन २१ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले शपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा शनिबार नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराउनुभएको हो ।

साथै, अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसद्हरुलाई संघीय संसदको लोगो पनि प्रदान गर्नुभएको छ । राष्ट्रियसभाका १९ सदस्यका लागि गत माघ १२ गते निर्वाचन भएको थियो ।

निर्वाचनमा नेपाली काँग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह ९गरिमा० निर्वाचित हुनुभएको थियो भने नेकपा ९माओवादी केन्द्र०बाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित हुनुभएको थियो ।

यसैगरी, नेकपा ९एमाले०बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 टुँडिखेलमा मनाइयो सेना दिवस, हेलिकप्टरबाट पुष्पवृष्टिदेखि कवाजसम्म

टुँडिखेलमा मनाइयो सेना दिवस, हेलिकप्टरबाट पुष्पवृष्टिदेखि कवाजसम्म

काठमाण्डौ, फागुन १७ । सेना दिवस एवम् महाशिवरात्रीको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कला, संस्कृति प्रस्तुत गरेको छ । 

हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरू प्रस्तुत गरेको थियो । शिवरात्रि एवम् सेना दिवसको बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । उहाँलाई सेनाको एक टुकुटीले सलामी अर्पण गरेको थियो । सैनिक मञ्च टुँडिखेलमा मुख्य समारोह तथा देशभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट र सब–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइएको छ । २०४७ सालदेखि सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । 

कार्यक्रममा सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाइँसमेत गरेको छ । त्यसैगरी बढाइँ कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७८ को आकृतिसमेत प्रस्तुत गरिएको थियो । 

त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो । 


 एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

  काठमाण्डौ, फागुन १५ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । 

प्रतिनिधि सभाको आज आइतवारको पहिलो बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको त्यो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । 

त्यसअघि बैठकमा सांसदहरूले त्यस प्रस्तावका सम्बन्धमा पक्षरविपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक अहिले ६ः३० बजे बस्नेछ । 

 एमसीसीको व्याख्यात्मक घोषणा मन्त्रिपरिषदबाट पारित

एमसीसीको व्याख्यात्मक घोषणा मन्त्रिपरिषदबाट पारित

  काठमाण्डौ, फागुन १५ । अमेरिकी सहायता परियोजना एमसीसीमाथिको व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्बाट पारित भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेको हो ।

घोषणामा एमसीसीलाई नेपालको विकास निर्माण क्षेत्रमा मात्रै उपयोग गर्ने, सैन्य सम्झौताबाट टाढै रहने, एमसीसीभन्दा नेपालको संविधान माथि रहने लगायतका ११ वटा विषय समावेश छन् ।

यस्तै लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने र विद्यमान नेपालको कानुनअनुसार नै निर्देशित हुने घोषणा गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बिहान बसेको सत्तारुढ दलहरूबीच भएको बैठकमा एमसीसीका सन्दर्भमा उठेका प्रश्नको उत्तर व्याख्यात्मक घोषणामार्फत सार्वजनिक गरेका हुन् । 

 भोलिको संसद् बैठकमा एमसीसीबारे छलफल हुने

भोलिको संसद् बैठकमा एमसीसीबारे छलफल हुने

  काठमाण्डौ, फागुन ११ । प्रतिनिधि सभाको भोलि बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने भएको छ । 

संसदमा गएको आइतवार टेबल भएको एमसीसीमाथि भोलि छलफल हुने कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको छ । ‘माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने’, सम्भावित कार्यसूचीमा भनिएको छ । 

यस्तै भोलिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा : सभामुख

नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा : सभामुख

  काठमाण्डौ, फागुन ८ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताउनुभएको छ । उहाँले अमेरिकी सहयोग एमसीसी सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताउनुभएको हो ।  

प्रतिनिधि सभाको आज आइतवार बैठकमा नेकपा ९माओवादी केन्द्र०, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता कार्यसूचीमा समावेश गरेको विषयमा फरक धारणा राखेपछि उहाँले राष्ट्रिय महत्त्वका विषयवस्तुलाई वृहत् छलफल गरिनु उपयुक्त हुन्छ भनी समावेश गरिएको बताउनुभयो । 

विगत लामो समयदेखिको अवरोधका कारण संसद् सुरु हुन सकिरहेको छैन, यसबाट सरकार सञ्चालनका सम्पूर्ण पक्ष र आयाममा प्रभाव परिरहेको छ, सभामुख सापकोटाले भन्नुभयो । राष्ट्रिय महत्त्वका विषयवस्तुलाई समेत छलफलमा ल्याइ निष्कर्षमा पुग्नुपर्ने अवस्थामा यो अवरोधले थप प्रतिकूलता सिर्जना गर्ने भन्दै उहाँले सदनमा छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगका लागि अपिल गर्नुभयो । 

दलका शीर्ष नेता, सांसद, संविधानविद्, कानुनविद्, सञ्चारमाध्यम, बुद्धिजीवी एवम् लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वको भावनाको समेत सम्मान गर्दै एमसीसी सम्झौता छलफलका लागि सदनमा पेस गरिएको उहाँले बताउनुभयो ।