जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस र एमाले काठमाण्डौमा पराजित भए : पौडैल

जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस र एमाले काठमाण्डौमा पराजित भए : पौडैल

  काठमाण्डौ, जेठ २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा आफ्नो पार्टी काठमाण्डौ महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार उठाएर जनतालाई हेपेका कारण राजनीतिक दल काठमाण्डौ महानगरको मेयर बन्न नसकेको बताउनुभएको हो । 

आज शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले काठमाण्डौ महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले आफूले कामपाको मेयरका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णयकले नमान्दा राजनीतिक दल हार बेहोर्न बाध्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरूले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । दुवै पार्टीले छानेका उम्मेदवार उपयुक्त थिएनन् । तीभन्दा उपयुक्त धेरै मान्छेहरू थिए । उम्मेदवारी दिँदा नै वंशवादको आधारमा दिइयो, त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यति बेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्य सचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रूचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले आउँदा दिनमा पनि यस्तै गल्ती नेतृत्व पङ्क्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताउनुभयो । यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरूले जनताले रूचाउने उम्मेदवार उठाउनुपर्ने भन्दै उहाँले फेरि मुर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्नुनहुने बताउनुभयो ।  

 स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न  : प्रचण्ड

स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न : प्रचण्ड

  काठमाण्डौ, जेठ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नो पार्टीलाई पाठ सिकाएको बताउनुभएको छ । आज बुधवार काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  

चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयो । उहाँले देशमा अझै कैयौँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरूलाई जनताले पत्याउनुलाई अपवादको रूपमा लिन्छु । केही साथीहरूले भोलि त सात सय ५३ पालिकामै स्वतन्त्र उम्मेदवार हुन्छन् भन्नुभयो तर त्यस्तो होइन है । अझै कैयौँ दशकसम्म पार्टीहरूले नै राज्य गर्छन् । स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहिँ होइन । काठमाण्डौ र धरानमा जित्नेले हाम्रो पार्टीको जस्तो कुरा गरेका छन् । हिजो हामीले जनताको सेवा गर्ने, धारो, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सबै सिध्याउँछौँ भनेर भनेको होइन रु हामीले राम्रोसँग नगरेको देखेपछि जनताले स्वतन्त्रलाई जिताएर हामीलाई पाठ सिकाएको जस्तो लाग्छ मलाई । तर स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न । त्यो अपवाद हो ।’

अध्यक्ष प्रचण्डले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रूपमा नलिन पनि चेतावनी दिनुभयो । उहाँले माओवादी केन्द्रले जितेका पालिकाहरूमा पार्टीको आधार इलाका हुने गरी काम गर्न निर्देशनसमेत दिनुभयो । 

 प्रचण्डको दाबी : गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो

प्रचण्डको दाबी : गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो

  कैलाली, बैशाख २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गर्नुभएको छ । धनगढीमा आज सोमवार सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । 

‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो’, प्रचण्डले भन्नुभयो, ‘गठबन्धनले भोलिका दिनमा पनि देशमा हुन सक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिबद्धता गरेको छ।’ 

गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्त्व लागेको प्रचण्डको आरोप छ । ‘अहिले पनि ती तत्त्वहरू कुनै न कुनै रूपमा लागेका छन्’, उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा, मेरो र माधव नेपालको बीचमा असमझदारी बनाउनका लागि निकै ठूलो कसरत भइरहेको छ ।’ दृढताको साथ गठबन्धनको पक्षमा लागेको भन्दै प्रचण्डले कांग्रेस सभापति देउवालाई धन्यवाद दिनुभयो । 

 बागी उठेर पार्टी हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा

बागी उठेर पार्टी हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा

  कैलाली, बैशाख २६ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएको छ । आज सोमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो ।   

‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भन्नुभयो, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’

सम्बोधनकै क्रममा देउवाले पालिका चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्ने बताउनुभयो । ‘संसद् विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ’, उहाँले भन्नुभयो, ‘संसद् विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद् नै विघटन गर्न सक्छ ।’ 

प्रधानमन्त्री देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो थाहा छैन : अध्यक्ष ओली

प्रधानमन्त्री देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो थाहा छैन : अध्यक्ष ओली

 

  ललितपुर, बैशाख २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि सत्तारूढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारूढ गठबन्धन वैशाख ३० गतेको पालिका चुनावपछि समाप्त हुने बताउनुभएको हो । 

आज सोमवार ललितपुरको जावलाखेलमा पार्टीले आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गर्नुभयो । यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो । 

उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवालाई सोध्नुस् त यो गठबन्धन के हो भनेर ? उहाँ आफैँले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नुहुन्छ । प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन् । माधव नेपालले अर्कै भन्लान् । यिनीहरूको गन्तव्य नै केही छैन । भोलि कता जाने हो ? केही थाहा छैन यिनीहरूलाई । अब ३० गतेपछि यो पाँच दलीय गठबन्धन बाग्मतीमा सलल । अब गठबन्धन चल्नेवाला छैन ।’

ओलीले चुनावको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारूढ दलहरूबाटै भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सत्तारूढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि उहाँले दोहोर्‍याउनुभयो ।