आज वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश-१ र मधेस प्रदेशमा पानी पर्ने

आज वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश-१ र मधेस प्रदेशमा पानी पर्ने

  दाङ ,असार ९ । देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ को मौसम सामान्य बद्ली भएको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । 

यस्तै, आज कर्णालीमा पनि पानी पर्ने अनुमान गरिएको छ । मनसुनी गतिविधि फैलिन थालेको छ । अबको केही दिनमा कर्णाली र सुदूरपश्चिममा पनि मनसुन फैलिने मौसमविद् मानन्धरले बताउनुभयो ।

यस्तै, आज राति प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रदेश-१ मा लगातारजसो ठूलो वर्षा भइरहेको छ । यसले गर्दा यो  प्रदेशमा बाढी पहिरोको जोखिम उच्च छ ।

यस्तै, वाग्मती र  गण्डकी प्रदेशका पहाडी जिल्लामा पनि जमिन गलिसकेकाले सामान्य पानी पर्दा पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

 

चार प्रदेशमा लगातारजसो वर्षा : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

चार प्रदेशमा लगातारजसो वर्षा : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

  काठमाण्डौ, जेठ २७ । देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश-१, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ ।

लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ ।

आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको तुलनामा मधेस प्रदेशमा केही कम पानी पर्ने अनुमान छ । तर, लगातार पानी परिरहेकाले हल्का तथा मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

चार प्रदेशमा वर्षाले बाढी पहिरोको जोखिम बढाएका बेला तीन प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो छ । आज पनि यी तीन प्रदेशमा घाम चर्किने अनुमान गरिएको छ  । गर्मीले त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

पछिल्लो २४ घण्टामा नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने दिपायलको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनगरको ३७ दशमलव ५ डिग्री सेल्सियस, दाङ घोराहीको ३५ डिग्री सेल्सियस र डडेलधुराको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस छ। 

 आजको मौसम सामान्यतया सफा : भोलि र पर्सि हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम सामान्यतया सफा : भोलि र पर्सि हल्का वर्षा र हिमपातको सम्भावना

  दाङ, फागुन २ । तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरले आज पनि मौसम सामान्यतया सफा नै हुने बताउनुभयो ।

पहाडी क्षेत्रका एक/दुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् । 

 देशका धेरै स्थानमा आजबाट पुनः वर्षा र हिमपातको सम्भावना

देशका धेरै स्थानमा आजबाट पुनः वर्षा र हिमपातको सम्भावना

 दाङ, माघ २६ । दाङ लगायत देशका धेरै स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

वाग्मती प्रदेश र प्रदेश–१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान सवभागले जनाएको छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । 

आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत वाग्मती र प्रदेश १ को पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

वर्षा र हिमपातका कारण चिसो हुने भएकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन विभागको आग्रह छ । 

 

 आजदेखि मौसममा पूर्ण सुधार, फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

आजदेखि मौसममा पूर्ण सुधार, फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

  दाङ, माघ २३ । आजदेखि दाङ लगायत देशभरी मौसममा पूर्ण सुधार हुने र दिन घमाइलो हुने मौसमविदले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।

आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे घाम लाग्नेछ । अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।

गएको बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ । 

दाङसहित देशभर आज दिनभरि झरी पर्ने

दाङसहित देशभर आज दिनभरि झरी पर्ने

 

   दाङ, माघ २१ । दाङसहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । 

गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ ।

पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भइहेको छ ।

 आज र भोलि वर्षा र हिमपातको सम्भावना, आइतवारदेखि मौसम खुल्दै जाने

आज र भोलि वर्षा र हिमपातको सम्भावना, आइतवारदेखि मौसम खुल्दै जाने

  दाङ, माघ २० । आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौमा बेलुका पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ ।

भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ । आइतवारदेखि भने मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

अहिले देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यही  प्रणालीको कारण मौसम बद्ली भइ वर्षा र हिमपात हुन लागेको हो ।

 पश्चिम नेपालबाट न्यून चापीय प्रणाली भित्रियो : मौसम बद्ली

पश्चिम नेपालबाट न्यून चापीय प्रणाली भित्रियो : मौसम बद्ली

  

काठमाण्डौ, माघ ८ । देशभरको मौसम बद्ली भएको छ । पश्चिम नेपालबाट भित्रिएको न्यून चापीय प्रणालीका कारण आजदेखि मौसम बद्ली भएको हो ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अहिलेसम्म कतै पनि पानी परेको छैन ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती र प्रदेश-१ का एक–दुई ठाउँमा आज दिउँसो हल्का वर्षाको सम्भावना छ । आजराति पनि मौसम बद्लीकै अवस्थामा रहनेछ ।

अहिले तराईमा हुस्सु र कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अबको दुई/तीन दिन उच्च भूभागमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा पानी पर्नसक्ने सम्भावना देखिएको छ । न्यून चापीय प्रणालीको प्रभाव पर्सि सोमवारसम्म देखिनेछ । त्यसपछि क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो ।

 

 राम्रोसँग पानी नपर्दासम्म मौसम पूर्णरुपमा नखुल्ने

राम्रोसँग पानी नपर्दासम्म मौसम पूर्णरुपमा नखुल्ने

  काठमाण्डौ, माघ २ । तराईका जिल्लासहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ ।

केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ । तर, दिउँसोको समयका कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनिसकेका छैनन् । ४८ घण्टासम्म लगातारका हुस्सु कुहिरोको लहर देखिए पछि मात्रै शीतलहरको घोषणा गर्ने गरिएको छ ।

दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन । छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको छ , मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि दिउँसोको समयमा हुस्सु कुहिरो हटी घामसँगै बादल लाग्ने सम्भावना छ । राम्ररी पानी नपरेका कारण मौसम पूर्णरुपमा खुल्न नसकेको उहाँले बताउनुभयो ।

विशेषगरी राम्ररी पानी नपरेका बेला र राति आकाश सफा भएका बेला त्यसको भोलिपल्ट बिहान बाक्लो हुस्सु, कुहिरो लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ‘रातभरि बादलले ढाकेको भए आकाश गुम्सिन्थ्यो, जसले गर्दा बिहान धेरै चिसो हुने र बाक्लो हुस्सु कुहिरो लाग्ने थिएन,’ उहाँले भन्नुभयो– ‘राति आकाश सफा रहँदा बिहान र बेलुका चिसो बढ्छ ।’ केही दिनयता बेलुकाको समयमा चिसो सिरेटो समेत चल्न थालेको छ । हिउँदमा  पश्चिमी वायुमार्फत हिमालबाट सिरेटो चल्ने भएकाले हावा चिसो हुन्छ ।

मौसमविद् मानन्धरले राम्ररी पानी नपर्दासम्म मौसम यस्तै रहने पनि बताउनुभयो । यसैबीच, आज काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । हिजो बिहान ५ दशमलव ७ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

 भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

  काठमाण्डौ, पुस २७ । आज देशभरको मौसम आंशिक बद्ली रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ ।

भोलि पनि प्रदेश-१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपात हुनेछ ।

देशका अन्य प्रदेशमा भने मौसम सफा नै रहने अनुमान गरिएको छ । हुम्लामा भने हिजोअस्ति जस्तो आज हिमपात नहुने मौसमविद्ले बताएका छन् । धेरैजसो ठाउँमा केही दिनयता पारिलो घाम लागेको छैन ।

 आज सातै प्रदेशमा हल्का वर्षाको सम्भावना

आज सातै प्रदेशमा हल्का वर्षाको सम्भावना

  काठमाण्डौ, पुस २३ । देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना हुनेछ । यस्तै, आजराति  प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि पनि देशका धेरै ठाउँको मौसम बद्ली हुनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । पर्सि पनि देशका केही ठाउँमा वर्षा र हिमपातको अनुमान गरिएको छ । 

 

 मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, अन्य ठाउँमा पनि पानी पर्ने

मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, अन्य ठाउँमा पनि पानी पर्ने

  काठमाण्डौ, पुस २२ । देशका धेरै ठाउँमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि नै पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले प्रदेश(१ बाहेक अन्य प्रदेशको मौसम बद्ली भएको छ । आज पश्चिमी क्षेत्रसँगै अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।

मौसमविद् सजिना शाक्यका अनुसार पर्सिसम्म नै हल्का वर्षाको सम्भावना छ । आउँदो आइतवारदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविद्ले बताएका छन् ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात भइरहेको छ ।

वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ।

 भोलिदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, ‘सतर्कता अपनाऔँ’

भोलिदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, ‘सतर्कता अपनाऔँ’

  काठमाण्डौ, पुस २० । भोलि बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज मङ्गलवार रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र यसको प्रभाव भोलिदेखि शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य असर देखिइसकेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । सुदूरपश्चिममा भोलिदेखि पानी पर्न थाल्ने उहाँले बताउनुभयो । आइतवारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

यो प्रणालीको असर सुदूरपश्चिममा बढी र प्रदेश १ र २ मा कम पर्ने सम्भावना छ । सामान्य प्रभाव भने देशभरि नै पर्नेछ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा आज र भोलि कम तथा बिहीवार, शुक्रवार र शनिवार बढी  प्रभाव पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

 देशभर वर्षा, हिमाली जिल्लामा हिमपात

देशभर वर्षा, हिमाली जिल्लामा हिमपात

अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो

  काठमाण्डौ, पुस १४ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । काठमाण्डौसहित दाङ, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, जुम्ला, वीरेन्द्रनगर लगायत सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम माइनसमा झरेको छ । जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस छ ।

यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम घट्दै गएकाले चिसो अझै बढ्ने छ । यस्तै, तराईका जिल्लामा वर्षासँगै चिसो स्याँठ चल्न थालेको छ । यसले त्यहाँको जनजीवन कष्ठकर बनाएको छ । स्थानीयबासिन्दाले तराईमा शितलहर चलेको बताए पनि मौसम पूर्वानुमान महाशाखाले औपचारिक घोषणा गरेको छैन ।

यस्तै, मौसमविद्ले वर्षा र हिमपात भइरहेकाले पर्वतारोहणमा नजान सुझाव दिएका छन् । भोलिदेखि भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बन्दै जाने भएकाले पानी पर्न रोकिने छ । भोलि मौसम केही खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

 देशभरको मौसम बद्ली : पश्चिमी क्षेत्रमा पानी पर्न सुरु, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना

देशभरको मौसम बद्ली : पश्चिमी क्षेत्रमा पानी पर्न सुरु, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना

 काठमाण्डौ, पुस १३ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ ।

पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुनेछ।

धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि अनुमान छ । आज र भोलि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् पौडेलले बताउनुभयो । पर्सि बिहीवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

उनीहरुकाअनुससार पर्सि बिहानदेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जानेछ । सुदूरपश्चिम प्रदेशमा पर्सि बिहानदेखि नै मौसम खुल्ने सम्भावना रहेको र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

बादल लागेसँगै देशभर चिसो बढेको छ । यो वर्षापछि चिसो झन् बढ्ने छ । मौसमविद्ले हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा सावधानी अपनाउन सुझाव दिएका छन् ।

 आउँदो हप्ता हिउँदे वर्षाको सम्भावना, यसपालि औसतभन्दा कम पानी पर्ने प्रक्षेपण

आउँदो हप्ता हिउँदे वर्षाको सम्भावना, यसपालि औसतभन्दा कम पानी पर्ने प्रक्षेपण

  काठमाण्डौ, पुस ८ । अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउँदो हप्ता हिमपात र वर्षाको सम्भावना छ ।

लगातार झरी नपरे पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने तथा हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यस्तै यो प्रणालीका कारण पानी नपरेका ठाउँमा बादल लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो।

आउँदो सोमवार मङ्गलवारदेखि  बादल लाग्ने अनुमान गरिएको छ । यस विषयमा मौसम पूर्वानुमान  महाशाखाले सूचना निकालेर जानकारी गराउने तयारी गरेको छ ।  पानी परे पछि देशभर चिसो अझ बढ्ने छ ।

यस्तै, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले धेरैजसो क्षेत्रमा  यो वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने आकलन गरेको हो  । यसले गर्दा वायु प्रदूषण बढ्न सक्ने अनुमान गरिएको छ । यस्तै, कम पानी पर्दा हिउँदे कृषि बालीमा समेत असर पर्न सक्छ ।

विभागका अनुसार नेपालमा हिउँदमा सरदर ६१ मिलिमिटर वर्षा हुन्छ । सबैभन्दा बढी वर्षा मनसुनमा हुन्छ । मनसुनमा नेपालमा सरदर एक हजार ४ सय १२ दशमलव ७ मिलिमिटर वर्षा हुन्छ । यसपालि मनसुनमा सरदर भन्दा धेरै पानी पर्दा बाढी पहिरोको जोखिम बढेको थियो ।

यस्तै, आज देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको हो ।

 प्रदेश-२ बाहेकका ठाउँमा आज पनि हल्का पानी पर्ने

प्रदेश-२ बाहेकका ठाउँमा आज पनि हल्का पानी पर्ने

  काठमाण्डौ, मंसिर २१ । आज पनि प्रदेश-२ बाहेकका ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का  पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।  

यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने उहाँले बताउनुभयो । पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज हिजोको भन्दा मौसम खुल्ने अनुमान गरिएको छ । अहिले बिहानको समयमा भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लाग्न थालेको छ ।

बिस्तारै हुस्सु र  कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

 पश्चिमी क्षेत्रमा हिमपात र वर्षा : एक र दुई बाहेकका प्रदेशमा भोलि मौसम खुल्ने

पश्चिमी क्षेत्रमा हिमपात र वर्षा : एक र दुई बाहेकका प्रदेशमा भोलि मौसम खुल्ने

  काठमाण्डौ, मंसिर १७ । पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ । पश्चिमी क्षेत्रका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ भने केही ठाउँमा हल्का पानी परेको छ ।

आज पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

उहाँकाअनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर नै परेको छ । भोलि भने प्रदेश-१ र २ बाहेकका प्रदेशमा मौसम खुल्ने अनुमान गरिएको छ ।

प्रदेश-१ र २ मा भने यो प्रणालीको प्रभावले भोलि दिनभर पनि मौसम सामान्यदेखि पूर्ण बद्ली हुने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । यस्तै, पर्सि फेरि पश्चिमी वायुको प्रभावले पश्चिमी क्षेत्रमा असर पर्न सक्ने देखिएको उहाँले बताउनुभयो ।  

 आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  काठमाण्डौ, मंसिर ३ । देशका धेरै ठाउँको मौसम बद्ली भएको छ। आज पहाडी क्षेत्रका एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन्।

वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो।

बिहान काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा आज  पनि हिमपात हुने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी  दिनुभयो । उहाँका अनुसार हिजोदेखि नै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि पनि हिमपात हुने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभावले देशका धेरैजसो ठाउँमा चिसो बढ्ने क्रममा रहेको छ ।

काठमाण्डौको न्यूनतम तापक्रम आज नघटे पनि मौसम बद्लीएकाले चिसो महसुस भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव १  डिग्री सेल्सियस छ । मौसम बद्ली भएकाले अधिकतम तापक्रम भने आज पनि घट्ने सम्भावना छ।

पर्सि आइतवारदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । यस्तै, मौसमविद्ले पर्वतारोहणमा जाँदा मौसमको अवस्थाबारे जानकारी राख्न सुझाव दिएका छन्।

हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जानु अघि मौसमको अवस्थाबारे बुझ्न उनीहरुले सुझाव दिएका हुन् ।

 देशभर मौसम बद्ली : तीन दिनसम्म यस्तै रहने

देशभर मौसम बद्ली : तीन दिनसम्म यस्तै रहने

  काठमाण्डौ, कात्तिक २७ । काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ ।

हिजोसम्म आकाश सफा रहे पनि आज बिहानदेखि मौसम हल्का बद्ली भएको हो ।

वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मौसम बद्ली भए पनि पानी नपर्ने तर अबको तीन दिनसम्म मौसम यस्तै रहनेछ ।

बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भए पनि दिउँसोपख घाम लाग्ने मौसमविद् मानन्धरले बताउनुभयो । केही ठाउँमा कुहिरो लाग्नेछ ।

अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।