दाङ, फागुन १३ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले साधारणसभा नै नगरि नयाँ नेतृत्व चयन गर्न थालेपछि उच्च अदालत तुलसीपुरले फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश गरेको छ ।
तुलसीपुर निवासी एमुना शाहले हिजो दिएको रिटमा आज उच्च अदालत तुलसीपुरका न्यायाधीश रमेशराज पोखरेलको एकल ईजलासले यस्तो आदेश गरेको हो ।
शाहले खानेपानीका पदाधिकारीलाई विपक्षी बनाई रिट दायर गरेपछि अध्यक्ष, कार्यसमिति, खानेपानी संस्था, निर्वाचन समिति र तुलसीपुरका मेयरलाई समेत अदालतमा छलफलका लागि बोलाएको सूचना अधिकारी भण्डारीले बताउनुभएको छ ।
खानेपानीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । फागुन १४ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्ने, फागुन १५ गते उम्मेदवारको नामावली उपर दाबी विरोध, फागुन १६ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने गरि कार्यतालिका सार्वजनिक गरिएको थियो ।
संस्थाको निर्वाचन फागुन २२ गते बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजे सम्मकालागि तय गरिएको छ । खानेपानीका सात हजार दुई सय ४६ जना उपभोक्ताले रहेको जनाइएको छ ।