लुम्बिनी प्रदेशका दश जिल्लामा एक सय बढी सक्रिय संक्रमित

लुम्बिनी प्रदेशका दश जिल्लामा एक सय बढी सक्रिय संक्रमित

 

दाङ,फागुन  १६ । लुुम्बिनी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित संक्रमितको संख्या १ सयमा झरेको छ । प्रदेशको जनस्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अहिले १२८ जना सक्रिय संक्रमित रहेको देखिएको हो ।

प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्व र अर्घाखाँची संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित रहेका १० जिल्ला मध्ये सबैभन्दा बढी सक्रिय संक्रमित रुपन्देहीमा रहेका छन् । रुपन्देहीमा अहिले कोरोनाका सक्रिय बिरामी ३३ जना रहेका छन् ।

त्यसैगरी पाल्पामा २८ जना, दाङमा २६ जना सक्रिय संक्रमित रहेको प्रदेशको जनस्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदकुमार गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी बाँकेमा १७, बर्दियामा १४, नवलपरासी पश्चिममा ४, कपिलवस्तुमा ३ र रोल्पा, प्युठान र गुल्मीमा १÷१ जना सक्रिय संक्रमित रहेको निर्देशक गिरीले जानकारी दिनुभयो ।

प्रदेशमा अहिलेसम्म कोरोनाका कारण ४ सयको मृत्यु भएको छ भने २६ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् । लुम्बिनी प्रदेशमा अहिलेसम्म २७ हजार ३३४ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

पशुपतिनाथमा अबदेखि अनलाइनबाट भेटी दान गर्न सकिने

पशुपतिनाथमा अबदेखि अनलाइनबाट भेटी दान गर्न सकिने


काठमाडाैं, फागुन १४ । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ। पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ। यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ। ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ।

सो प्रणालीबाट भेटी दान दिँदा दुरुपयोग हुने सम्भावना नहुने जनाइएको छ। यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ।

कोष र बैंक अफ काठमाडौँ लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी आज सम्झौता समेत भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताए। देशभर यो चेतना बढाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिए। कोषका सदस्य सचिव डा प्रदीप ढकालले सामान किनमेल गर्दा पैसा दिने प्रणाली हुँदा कतिपय अवस्थामा पैसा फिर्ता लिन मन नलाग्ने अवस्थाबाट प्रविधिले मुक्ति दिएको बताए। एकपटक रु २०० को सामान किन्दा पसलेले रु ३०० फिर्ता दिनुपर्नेमा उनीसँग खुद्रा पैसा नभएर मासु पसलमा साट्न गएपछि आफू फिर्ता नलिई हिँडेको घटना उनले सुनाए।

बैंक अफ काठमाडौँ लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले देशका अन्य मठमन्दिरमा पनि यो सेवा पुर्‍याइने जानकारी दिए। बैंकले बालाजुस्थित माछापोखरीको तरकारी बजारमा यही प्रणालीबाट भुक्तानीको व्यवस्था गर्न लागेको छ ।

दाङका एक सहायक प्रअ घरको आगनमा मृत भेटिए

दाङका एक सहायक प्रअ घरको आगनमा मृत भेटिए

 

दाङ, फागुन १४ । दाङमा एक जना सहायक प्रधानाध्यापकको शप आफ्नै घरको आगनमा फेला परेको छ । मावि लमडरुवाका सहायक प्रधानाध्यापक घोराही १० सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी ४३ बर्षीय घिमिरे श्रीमति र बच्चा माइतीको गएको हुँदा बिहीवार राति घरमा एक्लै रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्रप्रशाद रिजालले घिमिरेको घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताउनु भयो । ‘उहाँको शव घरको दोस्रो तल्लको शौचालयमुनि आँगनमा फेला परेको हो ।

शौचालय जान खोजेका घिमिरे झुक्किएर झ्यालबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ, डिएसपी रिजालले भन्नुभयो । घिमिरेको घर भित्र कोठामा खाँदै गरेको मदिरा समेत फेला परेको हुँदा मदिरा सेवन गर्दै गर्दा शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको देखिन आएको डिएसपी रिजालले जानकारी दिनुभयो ।

उहाँको शरिरमा अन्तकतै चोट छैन, गाला धस्सिएको, नाक, मुखबाट रगत आएको अवस्थामा शव फेला परेको छ प्रहरीले बताएको छ । शबलाई पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईउकोे प्रहरीले बताएको छ।

पोष्ट मार्टम रिपोर्ट पछि थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ । घिमिरेले मृत्यु भएकै दिन एउटा भावुक पोष्ट पनि गरेका थिए ।

बिद्यालयको जग्गामा निर्माण कार्य रोक्न ध्यानाकर्षण

बिद्यालयको जग्गामा निर्माण कार्य रोक्न ध्यानाकर्षण


दाङ, फागुन १४ । घोराही उपमहानगरपालिका ७ मा रहेको रात्रि प्राविको प्रांगणमा हुन लागेको पक्की संरचना निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराइएको छ ।

वडा नम्वर ७ शुक्रवारका प्रेमा चौधरी र उहाँका छोरा सुशील चौधरीले विद्यालयको जग्गा अतिक्रमण गरी पक्की संरचना निर्माण गरिरहेको भन्दै स्थानीय गोविन्द सुवेदीले जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराउनुभएको हो ।

उहाँले विद्यालयको प्रांगणमा भइरहेको निर्माण कार्य तत्काल रोक्न प्रशासन समक्ष माग गर्नुभएको छ ।


प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब-सुविधा एकमुस्ट पाउने

प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब-सुविधा एकमुस्ट पाउने



काठमाडाैं, फागुन १४ । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब÷सुविधा एकमुस्ट पाउने भएका छन् ।सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब÷सुविधा रोकेको थियो ।

फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताउनुभयो । फागुन ११ गते सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् ।

यसअघि संसदमा पश भएका विधेयक पनि दस्ताको तस्तै अगाडी बढने प्रवक्तारोजनाथ पाण्डेले बताउनुभयो । प्रतिनिधिसभाको पहिलो बैठकमा भने खास एजेण्डा छैन ।

अधिवेशन डाकिएको जानकारी गराइएको राष्ट्रपतिको पत्र सभामुखले वाचन गर्ने र दलीय आधारमा नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची बन्ने उहाँको भनाई छ ।

मुद्धाको टुंगो नलागेसम्म कर नलिन उच्च अदालत तुलसीपुरको आदेश

मुद्धाको टुंगो नलागेसम्म कर नलिन उच्च अदालत तुलसीपुरको आदेश

 

दाङ, फागुन  १४ । उच्च अदालत तुलसीपुरले अव्यवस्थित बसोबासीबाट लिदै आएको कर मुद्धाको टुंगो नलागेसम्म नलिन तुलसीपुर उपमहानगरपालिकालाई आदेश जारी गरेको छ ।

अदालतका शाखा अधिकृत गोकर्ण वलीका अनुसार मुद्धाको टुंगो नलागेसम्म जग्गा मूल्यांकनवाफतको राजश्व उपमहानगरपालिकाले लिन नपाउने भएको हो ।

अव्यवस्थित बसोबासीबाट जग्गा मूल्यांकन गर्दा गैरकानुनीरुपमा कर लिएको भन्दै स्थानीय रोहित कुमार चौधरीले फागुन ६ गते तुलसीपुर उपमहानगरपालिकालाई विपक्षि बनाई उच्च अदालत तुलसीपुरमा रिट हाल्नुभएको छ ।

रिटपछि अदालतले फागुन ७ गते तुलसीपुर उपमहानगरपालिकालाई फागुन १३ गतेसम्म अव्यवस्थित बसोबासीबाट कुनै पनि शुल्क नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

बिहिबार मुख्य न्यायधिस निता गौतम र न्यायधिस ऋषिराम दवाडीको संयुक्त इजलासले सोहि निर्णयलाई निरन्तरता दिएको हो । यसअघि उपमहानगरपालिकाले जग्गा मूल्यांकन गर्दा प्रति एक हजारमा २ रुपैँया राजश्व लिने गरेको थियो ।

विश्वभर ८ करोड ९१ लाख कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति ?

विश्वभर ८ करोड ९१ लाख कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति ?

 

काठमाडाैं, फागुन १४ । कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन्। कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । अहिले विश्वका विभिन्न देशमा कोरोनो खोप पनि लगाउन शुरु गरिएको छ ।

 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ३५ लाख ४३ हजार ४ सय ५२ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ लाख १९ हजार २ सय ५५ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा ८ करोड ९१ लाख २८ हजार २ सय ५२ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख २० हजार ७ सय ८५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ९० लाख ५२ हजार २ सय ६२पुगेको छ ।

 

त्यसैगरी निको हुनेको संख्या एक करोड ९४ लाख ३५ हजार ४ सय ५३ पुगेको छ । त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ५१ हजार ६ सय ६१ पुगेको छ भने संक्रमितको संख्या १ करोड ३ लाख ९३ हजार ८ सय ८६ पुगेको छ ।त्यस्तै भारतमा हालसम्म एक करोड १० लाख ६३ हजार ३८ कोरोना संक्रमित छन् भने एक लाख ५६ हजार ८ सय ६१ ले ज्यान गुमाइसकेका छन् ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आजै लिन सक्ने छन् अर्को ठुलो निर्णय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आजै लिन सक्ने छन् अर्को ठुलो निर्णय


काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बेलुका ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएकाे एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना छ। कतिपयले संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउन सजिलो हुने गरी अध्यादेश ल्याउन सक्ने आकलन पनि गरेका छन्।

सर्वाेच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गर्न र १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक भनेर बदर गरिदिएपछि नेपाली राजनीति नयाँ मोडमा आइपुगेको छ। अबको राजनीतिक परिदृश्य कस्तो हुन्छ भन्नेमा आमचासो छ। भावी राजनीतिको तस्बिर एउटा पार्टी वा संस्थाले मात्र ‘लिड’ गर्ने छैन, धेरै विषय निर्णायक हुनेछन्।

प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि प्रधानमन्त्री ओलीले यो राजनीतिक विषय भएकाले सर्वोच्च अदालतले केही गर्नै नपर्ने अभिव्यक्ति दिँदै आएका थिए। नेकपाका नेताहरूका अनुसार ओलीसँग अब राजनीति गर्न दुई विकल्प छन्: नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिने वा संसदीय दलमा अविश्वासको प्रस्ताव सामना गर्ने। पार्टी वा संसदमा हारे पनि पार्टीभित्रै बस्ने। वा अध्यादेश ल्याउने, नेकपा फुटाएर नयाँ पार्टी बनाउने।

उनीनिकट नेताहरूका अनुसार प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गरेर, प्रचण्ड-नेपालसँग सम्झौता गरेर पार्टीमा भूमिकाविहीन भएर बस्ने कुनै सम्भावना छैन। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार राति नै समाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले राजीनामा नदिने तर संसद ‘फेस’ गर्ने बताएका छन्।

संसदीय दलमा र संसदमा आफ्नो पक्षमा बहुमत नपुग्ने हुनाले ओलीले कुनै कदम नचाली त्यसको नतिजा पर्खने सम्भावना पनि कम छ।

अहिलेसम्मका अभिव्यक्ति र घटनाक्रम हेर्दा प्रधानमन्त्री ओली विकास, स्थिरता र राष्ट्रवादको नारामा सवार भएर भावी राजनीति अगाडि बढाउन चाहन्छन्। त्यसका लागि उनलाई आफ्नै नेतृत्वको छुट्टै पार्टी चाहिन्छ।

बाल मन्दिर प्राविमा बौद्धिक अपांगमैत्री संरचना निर्माणको काम सुरु

बाल मन्दिर प्राविमा बौद्धिक अपांगमैत्री संरचना निर्माणको काम सुरु

 

चन्द्रप्रकाश नेपाली

दाङ, फागुन १४  । बाल मन्दिर प्राथमिक विद्यालयमा बौद्धिक अपांगमैत्री पुर्वाधार निर्माणको काम सुरु भएको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ मा रहेको विद्यालयलाई बौद्धिक अपांगता भएकाहरुलाई शिक्षा प्रदान गर्ने प्रदेशकै नमुना विद्यालयका रुपमा विकास गर्ने उद्धेश्यका साथ काम अघि बढाएको विद्यालयका प्रधानध्यापक विष्णु भण्डारीले बताउनु भयो ।

नेपाल सरकारले प्रदेश स्तरिय नमुना विद्यालय तथा विशेष शिक्षा आवशिय विद्यालयका रुपमा विकास गर्ने घोषण गरी सकेको छ । केन्द्र सरकारको शिक्षा विकास कोषबाट प्राप्त लगानीमा बौद्धिक अपांगता भएकाहरुले अध्ययन गर्ने पुर्वाधार बनाउन सुरु गरिएको छ । भौतिक संरचना निर्माणका लागी १५ करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।

यसवर्ष भने २ करोड ७२ लाखको लागतमा भौतिक संरचना निर्माणको कामलाई अघि बढाएकोएको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताउनु भयो । कोरोना भाईरसका कारण निर्माण प्रक्रियामा ढिलाई हुन गएपनि भौतिक संरचना निर्माणका लागी पार्वति निर्माण सेवासँग सम्झैता गरेर कामलाई फागुन पहिलो सातादेखी अघि बढाईको उहाँले बताउनु भयो ।

पहिलो चरणको काम माघ २३ गते भएको सम्झैता अनुसार निर्माण सेवाले २०७९ साउन १ गते काम सक्ने उहाँले बताउनु भयो । अर्कोतर्फ विद्यालयको सुधारका लागी प्रदेश सरकारले कुनै पनि बजेट नछुटाएको उहाँले बताउनु भयो ।

यस्तै अहिले अन्य सशक्त २ सय ३ जना विद्यिर्थिले अध्ययन गरिरहेको विद्यालय बौद्धिक अपांग विद्यार्थीको चाप बढेमा भने अपांग विद्यार्थिहरुले मात्रै अध्ययन गर्ने हुन सक्ने प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभयो । लुम्विनी प्रदेशभरका बौद्धिक अपांग भएकाहरुलाई पढाउने उद्धेश्यका साथ बौद्धिक अपांगमैत्री प्रदेशस्तरिय विद्यालय बनाउन लागिएको हो ।

विद्यालयमा अहिले बौद्धिक अपांगता भएकाहरुलाई पढाउने शिक्षकको रुपमा श्रोत शिक्षिका मन्जु घिमिरे रहनु भएको । बौद्धिक अपांगता भएकाहरु बौद्धिक ज्ञान सिक्दै बौद्धिक अपांगता भएकाहरुले विद्यालयमा पढेर शिक्षा आर्जन गर्ने भन्दा पनि जिवनलाई सुरक्षित बनाउने व्यवहारिक कुराहरु सिकिरहेको श्रोत शिक्षिका मन्जु घिमिरेले बताउनु भयो ।

पढाएको कुरा उनिहरुले स्मरण गर्न नसक्ने भए पनि दैनिक रुपमा गर्नुपर्ने क्रियाकलापको बारेमा ज्ञान लिदै गरेको उहाँले बताउनु भयो ।

अहिले एक जना मात्रै उनिहरुका लागी श्रोत शिक्षक रहेको र विद्यार्थि संख्या बढेमा शिक्षकको दरवन्दी पनि बढाईने विद्यालयले बताएको छ । बौद्धिक अपांगता भएकाहरुका लागी बाल मन्दिर प्रावी व्यवहारिक ज्ञानको केन्द्र बन्दै गएको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ मा रहेको विद्यालयबाट अहिले बौद्धिक अपांगता भएका २६ जना बालबालिकाहरुले ज्ञान आर्जन गरिरहेका छन् ।

उनिहरुले पढेका कुरा स्मरण गर्न नसके पनि दैनिक रुपमा गरिने व्यवहारिक क्रियाकलापको ज्ञान आर्जन गरिरहेको विद्यालयले जनाएको छ । कुल २६ विद्यार्थिमध्ये १० जना घरबाट आवतजावत गर्छन् भने १६ जना विद्यालयमै बसेर अध्ययन गरिरहेको विद्यालयका प्रधानध्यापक विष्णु भण्डारीले जानकारी दिनुभयो ।

पहिलो चरणका पालिकाहरुमा सुकुमबासीको फाराम भर्ने म्याद सकियो

पहिलो चरणका पालिकाहरुमा सुकुमबासीको फाराम भर्ने म्याद सकियो

 

दाङ, फागुन १४  । पहिलो चरणमा सम्झौता भएका पालिकाहरुमा सुकुमबासीको फाराम भर्ने म्याद सकिएको छ । भूमिहीन, दलित भुहिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले फाराम भर्ने म्याद बिहीबारदेखि सकिएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले केन्द्रबाट अर्को सूचना जारी नगरेसम्म स्थानीय स्तरबाट म्याद बढाउन नसकिने घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्यालले बताउनुभयो । उहाँले भन्नुुभयो,-‘हामीले म्याद थपका लागि अनुरोध गरेर पठाउने हो’-‘अहिलेलाई म्याद सकिएको छ, उहाँले भन्नुभयो ।

उहाँका अनुसार बिहीबार साँझसम्म रसिद काटेका फाइलहरु अघि बढ्छन् । घोराहीले जग्गा मूल्यांकनको जनही एक सय १० रुपैयाँ शुल्क लिएको थियो । उहाँका अनुसार तथ्यांक संकलनको करिब ७५ प्रतिशत बढी काम सकिएको उपमहानगरको अनुमान केही विदेश गएका वा अन्य जिल्लामा बसाइ भएका, कागजात पूरा गर्न नसकेका, दुई तीन ठाउँमा जमिन रहेका आन्तरिक बसाइ सराइ मिलाउनुपर्नेहरुको काम बाँकी छ ।

त्यसबाहेक सबै वडाहरुले अपडेट गरिसकेका छन् । सबै पालिकामा फरक फरक मितिमा भएकाले एकै समयमा म्याद नसकिने भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति दाङका अध्यक्ष शिवकुमार आचार्यको भनाइ छ ।

बगलाचुली, राजपुर र राप्ती गाउँपालिकाले सम्झौता गरी सकेका छन् । त्यहाँ पनि काम शुरु हुँदैछ । पहिलो चरणका पालिकाहरुको म्याद सकिएको छ ।

घोराही-तुलसीपुर सडकखण्ड फोरलेनको काम सुस्त गतिमा

घोराही-तुलसीपुर सडकखण्ड फोरलेनको काम सुस्त गतिमा

 

दाङ, फागुन १४  । घोराही-तुलसीपुर सडकखण्डमा फोरलेनको काम सुस्त गतिमा अघि बढेको छ । घोराही-तुलसीपुर सडक खण्डलाई फराकिलो बनाउन फोर लेन सडकको आयोजना अघि सारिएको हो । घोराहीको कुइरे पानीदेखि तुलसीपुरसम्मको २८ किलोमिटर सडक फोरलेनको योजनाभित्र समेरिएको हो ।

जसमध्ये १४ किलोमिटर सडक फोर लेन अर्थात २१ मिटर चौडा र १४ किलोमिटर सडक टु लेन अर्थात ११ मिटर चौडा बनाउने गरी सम्झौता भयो । तर अहिले टु लेन सडकलाई समेत फोर लेनअनुसार बनाउन सुझाव आयो । यो सुझावको आधारमा काम अघि बढाउन खोज्दा टु लेनभित्र पर्ने सडक निर्माणको काम अघि बढ्न सकेको छैन ।

टु लेनको काम हुने सडकलाई फोर लेन बनाउन सर्भेको काम भइरहेको सडक सुधार तथा विकास आयोजना कार्यालय लमहीका इञ्जिनियर पारशमणि हमालले जानकारी दिनुभयो । यो आयोजना अनुसार काम गर्न सरकारले दातृ निकायको सहयोगमा बजेटको प्रबन्धसमेत गरेको हो । अहिले यो सडक क्षेत्रको भौतिक प्रगति जम्मा सात प्रतिशत छ ।

डेढ वर्ष अघिदेखि शुरु भएको सडक आयोजनाको काममा लमही-घोराही-तुलसीपुर सडकको कामले तीब्रता नपाउँदा भौतिक प्रगति थोरै भएको पाइएको हो । यो सडकखण्डको निर्माणका लागि एक अर्ब ३० करोड बजेट रहेको छ ।

३६ महिनामा काम सम्पन्न गर्ने पहिलो सम्झौता थियो । तर अहिले थप दुई वर्ष म्याद थप भएको छ तर काम सुस्त गतिमा अघि बढ्दै गएको छ ।


माटो परीक्षण गर्न सरकारले सार्वजनिक गरेको डिजिटल नक्सामा समस्या

माटो परीक्षण गर्न सरकारले सार्वजनिक गरेको डिजिटल नक्सामा समस्या

 

काठमाण्डाै, फागुन १३ । माटो परीक्षण गर्न सरकारले सार्वजनिक गरेको डिजिटल नक्सामा समस्या आएको छ । परीक्षणका लागि बुधवारमात्र सार्वजनिक गरेको डिजिटल नक्सामा सर्भरमा बिहीवार नै समस्या आएपछि किसानले हेर्न पाएका छैनन् ।

सर्भर र अरू केही अवरोध आएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ माटो विज्ञ श्रीप्रसाद विष्टले जानकारी दिनुभयो । नयाँ कुरा भएकाले धेरैको चासो भएर एकैपटक खोलेकाले समस्या आएको हुन सक्ने उहाँको भनाइ छ ।

एक पटकमा चार सयदेखि ६ सय जनासम्मले हेर्न मिल्ने क्षमताको बनाइएको छ । तर नयाँ कुरा भएकाले धेरैले हेर्दा ओभर लोडका कारण समस्या भएको उहाँले बताउनुभयो । बिहीवार साढे १ बजेसम्ममा ३५ सयभन्दा धेरैले डिजिटल नक्सामार्फत् माटो परीक्षण गरिसकेका छन् ।

सर्भरको क्षमता बढाउनेबारे छलफल भइरहेको छ । अबको दुई/तीन दिनमा सबै समस्या समाधान गर्ने गरी काम थालिएको उहाँले बताउनुभयो । बुधवारमात्र सरकारले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तरगर्त राष्ट्रिय माटो परीक्षण केन्द्रले डिजिटल नक्सा सार्वजनिक गरेको थियो । डिजिटल नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको थियो ।  

सरकारले फेरि थप्याे काेराेनाबाट ज्यान गुमाउने ८२ जनाकाे विवरण, कुल सङ्ख्या २ हजार ७६७ पुग्याे

सरकारले फेरि थप्याे काेराेनाबाट ज्यान गुमाउने ८२ जनाकाे विवरण, कुल सङ्ख्या २ हजार ७६७ पुग्याे

 

काठमाण्डाै, फागुन १३ । सरकारले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको सरकारले बिहीवार ८२ जनाको विवरण थप गरेको हो ।

विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न 'केस' लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको अधिकारीले बताउनुभयो ।

कोरोना सङ्क्रमितको सङ्ख्या अझै धेरै देखिन सक्ने उहाँको अनुमान छ । पछिल्लो २४ घण्टामा थपिएका समेत गरी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार चार सय ११ जनाको पीसीआर परीक्षण गर्दा थप एक सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार आठ सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप ८४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय २३ पुगेको छ । 

   विश्वका कति मुलुकमा पुग्यो कोरोना खोप ?

विश्वका कति मुलुकमा पुग्यो कोरोना खोप ?


काठमाडौं, फागुन १२। विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ११ करोड १० लाख नाघेको छ भने २४ लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

संक्रमित संख्याको आधारमा अमेरिका, भारत र ब्राजिल अगाडि छन् । कोरोना महामारी नियन्त्रणको लागि विश्वका धेरै मुलुकमा कोरोना खोप कार्यक्रम पनि सुरु भइसकेको छ ।

कहाँ कहाँ दिइँदैछ कोरोना खोप ?

विश्वका ९० मुलुकमा कोरोना खोप कार्यक्रम सञ्चालन भइरहेको छ । जसमध्ये ५७ उच्च आय भएका र ३३ मध्यम आय भएका मुलुक हुन् । अहिलेसम्म निम्न आय भएका मुलुकमा भने कोरोना खोप कार्यक्रम सुरु भएको छैन ।

अक्सफोर्ड युनिभर्सिटी र एक एजुकेसनल च्यारिटीको सहयोगमा तयार पारिएको तथ्यांकअनुसार अहिलेसम्म अमेरिका र चीनमा सबैभन्दा धेरै मानिसले कोरोना महामारीविरुद्धको खोप लगाएका छन् ।

अमेरिकामा ६ करोड ३० लाख र चीनमा ४ करोड १० लाख मानिसले कोरोना खोप लगाएका छन् । बेलायतमा एक करोड ८० लाखभन्दा धेरैले खोप लगाएका छन् ।

प्रति सय मानिसमा खोप लिनेको संख्या हिसाब गर्ने हो भने शीर्षस्थानमा इजरायल, यूएई र बेलायत छन् । अधिकांश मुलुकमा ६० वर्षभन्दा बढी उमेरका मानिस, स्वास्थ्यकर्मी र बढी जोखिममा भएकाहरु खोपको प्राथमिकतामा छन् ।

केही मुलुकले आवश्यकताभन्दा धेरै खोपको व्यवस्था गरेका छन् । यद्यपि निम्न आय भएका मुलुक भने विश्व स्वास्थ्य संगठन (डब्लएचओ) को कोभ्याक्स कार्यक्रमको आशामा छन् । विश्वभर कोरोना खोप पुर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले यो खोप सबैलाई जरुरी रहेको भन्दै सबैलाई खोप पुर्‍याउनुपर्नेमा जोड दिँदै आएका छन् । उनले विश्वका सबै मुलुकबाट यो महामारी नहटेसम्म महामारीको अन्त्य नहुने पनि बताएका छन् ।

कहाँ छ धेरै संक्रमण ?

खोप लगाउन थालेपछि विश्वका धेरै देशमा कोरोना संक्रमण पनि घट्दो क्रममा छ । यहाँ क्षेत्रगतरुपमा कोरोना संक्रमणको अवस्था उल्लेख गरिएको छ –

युरोप

अधिकांश युरोपेली मुलुकमा कोरोना संक्रमण घट्दो क्रममा देखिएको छ । तर फ्रान्स, रुस, बेलायत, इटाली र स्पेनमा पछिल्लो साता कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।

उत्तर अमेरिका

उत्तर अमेरिका कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । गत जनवरीको सुरुआतमा यहाँको संक्रमण अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो । तर, पछिल्लो केही समययता भने नयाँ संक्रमण घटेको छ ।

क्यानडाको तुलनामा अमेरिकामा मृत्यु हुनेको संख्या निकै कम छ । जाडोयाममा क्यानडामा कोरोना संक्रमण बढेको थियो । तर, अहिले भने यहाँ संक्रमणमा कमी आइरहेको छ ।

एसिया

सन् २०२० को सुरुआतमा चीनमा तीव्र गतिमा कोरोना संक्रमण फैलिएको थियो । त्यसपछि विस्तारै भारतलगायतका मुलुकमा यसको संक्रमण फैलिएको थियो । यद्यपि पछिल्लो समय एसियाका अधिकांश मुलुकमा कोरोना संक्रमणमा कमी देखिएको छ ।

मध्यपूर्व

मध्यपूर्वका देशमध्ये केही समययता इजरायलमा संक्रमण घटेको छ । तर, इरानलगायतका अन्य मुलुकमा भने संक्रमण बढ्दो क्रममा छ । खोप कार्यक्रमको कारण इजरायलमा संक्रमणमा कमी आएको हो । अहिलेसम्म इजरायलमा ७० लाख मानिसहरुले खोप लगाइसकेका छन् ।

अफ्रिका

अफ्रिकामा अन्य क्षेत्रको तुलनामा पर्याप्त मात्रामा कोरोना परीक्षण हुन सकेको छैन । त्यसैले पनि अहिले सार्वजनिक गरिएको तथ्यांकमा विश्लेषकहरुले आशंका व्यक्त गर्दै आएका छन् । दक्षिण अफ्रिकामा अहिलेसम्म १५ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने मोरक्को, इथियोपिया, ट्युनिसिया, लिबिया, अल्जेरिया, नाइजेरिया र केन्यामा पनि एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।

अफ्रिकी मुलुकले अन्य मुलुकजस्तो सहजै कोरोना खोप पाउन सकेका छैनन् । यसलाई भने विशेषज्ञहरुले अन्यायपूर्ण भन्दै आएका छन् ।

ल्याटिन अमेरिका

ल्याटिन अमेरिकामा पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) चिन्ताको विषय बनेको छ । ब्राजिलमा कोरोनाको नयाँ प्रकार निकै तीव्र गतिमा फैलिरहेको छ । ब्राजिलमा एक करोडभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । अर्जेन्टिना, कोलम्बिया, मेक्सिको र पेरुमा पनि १० लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

ओसिनिया

अष्ट्रेलिया र न्युजिल्याण्डले कोरोना संक्रमण नियन्त्रणको लागि गरेको प्रयासको कारण यी मुलुकले प्रशंसा पाएका थिए । यी मुलुक कोरोना संक्रमण नियन्त्रणका लागि पनि सफल भएका थिए । सोमबारदेखि अष्ट्रेलियाले खोप कार्यक्रम सुरु गरेको छ । पहिलो साता ६० हजार डोज कोरोना खोप लगाउने लक्ष्य अष्ट्रेलियाको छ ।

बिपन्न परिवारको पीडामा मल्हम लगाउँदै लुम्बिनी प्रदेश सरकार

बिपन्न परिवारको पीडामा मल्हम लगाउँदै लुम्बिनी प्रदेश सरकार


दाङ, फागुन १३ ।
‘आर्थिक अभावका कारण सडकमा पुगेको मेरो परिवारलाई प्रदेश सरकारले सुरक्षित घर बनाइदिएको छ । कोही नहुनेको साहारा दैव हुन्छ भन्थे हाम्रो साहारा प्रदेश सरकार बनिदियो’, यो भनाई राप्ती गाउँपालिका वडा नम्वर १ का पिटे घर्तीको हो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत घरबारविहीन पिटेको परिवार २ कोठे घर प्राप्त गरेसँगै हर्षित भएको छ ।

राप्ती गाउँपालिका वडा नम्वर १ ले उपलब्ध गराएको जग्गामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले घर निर्माण गरिदिएको भन्दै पिटेले चार सन्तान र आफू आवासको समस्यामा परिरहेको समयमा ठूलो राहत मिलेको बताउनुभयो । ‘लामो समयदेखि हामी घरबारविहीन अवस्थामा थियौं ।

हाम्रो पीडा देखेर वडाध्यक्ष ज्यूको पहलमा गाउँपालिकामा आएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोगमा घर पाएका छौं’, खुसी हुँदै पिटेले भन्नुभयो, ‘जनताको पीडामा मल्हम लगाउने काम सरकारले गर्दोरैछ भन्ने विश्वास पलाएको छ । घर पाएपछि छोराछोरीलाई पढ्न सजिलो भएको छ । दिनभरि काम गरेर साँझ सुरक्षित बास बस्न पाइएको छ ।’

पिटेजस्तै राप्ती गाउँपालिका वडा नम्बर १ का अब्दुल दर्जीले पनि सुरक्षित आवास पाउनुभएको छ । ७० वर्षे दृष्टिविहीन अव्दुलको थोत्रिएर पुरानो भएको घरलाई भत्काएर मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतको वजेटबाट दुई कोठे घर बनाइदिएपछि अव्दुल हर्षित हुनुभएको छ । ‘वडाध्यक्षको पहलमा नयाँ घर पाएको छु । पहिलेको घरमा पानी चुहिन्थ्यो, अहिले सजिलो भएको छ’, दर्जीले भन्नुभयो ।

पिटे र अव्दुलजस्तै बंगलाचुली गाउँपालिका १ का हुनाराम दशौदीका लागि पनि लुम्बिनी प्रदेश सरकार बरदान सावित भइदियो । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको वजेटअन्तर्गत राहत तथा पुनःस्थापना शीर्षकमा वजेट बिनियोजन गरेर गाउँपालिकाले दुईकोठे घर बनाइदिएपछि हुनारामलाई हर्षित हुनुभएको छ ।

६८ वर्षे हुनारामका श्रीमान् श्रीमती घर नहुँदा आफन्त र छिमेकीको घरमा आश्रय लिँदै बस्नुभएको थियो । ‘लगातार परेको पानीले घर भत्किएपछि धेरै समस्या भएको थियो । कहिले कता कहिले कता बस्दाबस्दै हैरान भएको समयमा हाम्रो समस्या देखेर घर बनाइदिनुभएको छ । धेरै खुसी लागेको छ’, हुनारामले भन्नुभयो ।

पिटे, अव्दुल र हुनाराम त उदाहरण मात्रै हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारले बिपन्न परिवारका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनमा ल्याएसँगै आफ्नो साहारा बन्न प्रदेश सरकार आइपुगेकोमा स्थानीयहरु हर्षित भएका छन् ।

प्रदेश सरकारले गाउँपालिकामा पठाएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बिपन्न परिवार लाभान्वित बन्दै गएको भन्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रदेश र स्थानीय सरकारप्रति जनताले भरोसा गर्न थालेको बताउनुभयो ।

गाउँपालिकामा कार्यक्रमका लागि प्रदेश सरकारले पठाएको ५० लाख वजेटबाट गत आर्थिक वर्षमा ५ लाख रकम खर्चेर २ बिपन्न परिवारका लागि घर निर्माण गरेको भन्दै अध्यक्ष सुवेदीले अन्य रकमबाट स्वरोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

यता बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले चालु आर्थिक वर्षमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको २ लाखको वजेट गाउँपालिकाको वजेटबाट घरबारविहीन ६ वटा परिवारलाई सुरक्षित घर हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷२०७६ बाट लुम्बिनी प्रदेश सरकारले बिपन्न परिवारका लागि सञ्चालनमा ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत प्रदेशका सबै स्थानीय तहहरुले स्वरोजगार र सामाजिक उत्तरदायित्व वहनका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यस वर्षदेखि नाम संशोधन गरेर मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम बनाएको लुम्बिनी प्रदेश सरकारले विषेश अनुदान शीर्षकमा हरेक गाउँपलिकालाई ६० लाख, नगरपालिकालाई ७० लाख र उपमहानगरपालिकालाई ८० लाख वजेट उपलब्ध गराउँदै आएको छ ।

राप्तीमा लगत संकलन ईकाईको कार्यालय उद्घाटन

राप्तीमा लगत संकलन ईकाईको कार्यालय उद्घाटन

 

तिर्थराज ज्ञवाली
दाङ, फागुन १३ । दाङको राप्ती गाउँपालिमा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन ईकाई कार्यालयको उद्घाटन गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा (जग्गाधानी पूर्जा) दिन लगत संकलनको लागि ईकाईको कार्यालय उद्घाटन गरिएको हो ।

लुम्बिनी प्रदेशकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मसुरीयामा बिहीबार कार्यालयको उद्घाटन गर्नु भएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षता, मन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवा चरुवा, हलिया, भूमिहीन, सुकुमबासी पहिचान गरि बसोबासकालागि घर घडेरी तथा जीविकोपार्जनकालागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

१६ गतेसम्म निर्वाचन गतिबिधि नगर्न तुलसीपुर खानेपानीलाई आदेश

१६ गतेसम्म निर्वाचन गतिबिधि नगर्न तुलसीपुर खानेपानीलाई आदेश

 

दाङ, फागुन १३ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले साधारणसभा नै नगरि नयाँ नेतृत्व चयन गर्न थालेपछि उच्च अदालत तुलसीपुरले फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश गरेको छ ।

तुलसीपुर निवासी एमुना शाहले हिजो दिएको रिटमा आज उच्च अदालत तुलसीपुरका न्यायाधीश रमेशराज पोखरेलको एकल ईजलासले यस्तो आदेश गरेको हो ।

शाहले खानेपानीका पदाधिकारीलाई विपक्षी बनाई रिट दायर गरेपछि अध्यक्ष, कार्यसमिति, खानेपानी संस्था, निर्वाचन समिति र तुलसीपुरका मेयरलाई समेत अदालतमा छलफलका लागि बोलाएको सूचना अधिकारी भण्डारीले बताउनुभएको छ ।

खानेपानीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । फागुन १४ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्ने, फागुन १५ गते उम्मेदवारको नामावली उपर दाबी विरोध, फागुन १६ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने गरि कार्यतालिका सार्वजनिक गरिएको थियो ।

संस्थाको निर्वाचन फागुन २२ गते बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजे सम्मकालागि तय गरिएको छ । खानेपानीका सात हजार दुई सय ४६ जना उपभोक्ताले रहेको जनाइएको छ ।

राप्तीमा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबास बारे छलफल

राप्तीमा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबास बारे छलफल

 

दाङ, फागुन १३ । राप्ती गाउँपालिकामा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासीको लगत संकलन सम्वन्धि कार्यविधि २०७७ को सन्दर्भमा छलफल गरिएको छ ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको छलफलमा वडा अध्यक्षहरु तथा भूमि सम्वन्धि समस्या समाधान आयोगका प्रतिनिधि विच छलफल भएको हो ।

राप्ती गाउँपालिकामा भोली भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासका बारेमा हुने प्रदेश स्तरिय अभिमुखीकरण हुने भएको छ ।

छलफलमा भूमिहीन दलित सुकुम्वासी र अब्यवस्थित बसोबासीको समस्या समाधान आयोगका प्रतिनिधि विज्ञ जगत देउजा र रेमन्त चौधरीले प्रकाश पार्नु भएको हो ।

राष्ट्रिय कृषि गणना २०७८ को तयारी सुरु

राष्ट्रिय कृषि गणना २०७८ को तयारी सुरु

 

दाङ, फागुन १३ । राष्ट्रिय कृषि गणना २०७८ को तयारी थालिएको छ । तयारी स्वरुप सरोकारवाला निकाय संग छलफल सुरु गरिएको छ । जिल्ला तथ्याङ्क कार्यालय दाङले बुधवार घोराहीमा अभिमुखिकरण कार्यक्रमको आयोजना ग¥यो ।

कार्यक्रममा कृषि गणनामा समेटिने विषयवस्तुबारे छलफल गरिएको हो । कार्यक्रमको बिषयमाथि जानकारी गराउदैँ तथ्याङ्क कार्यालय प्रमुख तुलसीराम पोखरेलले तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउन छनौट विधिबाट राष्ट्रिय कृषि गणना गर्न लागेको बताउनुभयो ।

“ आगामी आर्थिक बर्ष २०७८ मा राष्ट्रिय कृषि गणना गरिदैँछ”। गणनामा स्थानीयतह तथा प्रदेशको कृषि तथ्याङ्क उपलव्धता हुने गरी गणना गरिने छ उहाँले भन्नुभयो । “हाल कृषि गणनामा समावेश गरिने विषयवस्तुबारे सरोकारवालासँग सुझाव संगलन गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘विभिन्न प्रदेशसँगै स्थानीय तहमा समेत प्रश्नावलीबारे सुझाव संकलन गरिने जानकारी गराउनुभयो ।

विसं २०१८ देखि हरेक १०–१० वर्षमा हुँदै आएको राष्ट्रिय कृषि गणना २०७८ सातौं पटक हो । तराई र पहाडमा २०७८ पुस देखि फागुन सम्म गणना गर्नै काम गरिने छ । भने हिमाली क्षेत्रमा २०७९ साल वैशाख देखि असार सम्म गरिने छ ।

चिसो मौसममा हिमाली क्षेत्रमा काम गर्न समस्या हुने भएकाले गर्मीको समयमा गणनाको काम गरिने छ । भने पहाड र तराईमा चिसोको समयमा गणनाको काम गरिने पोखरेलले बताउनुभयो । राष्ट्रिय कृषि गणना २०७८ मा ‘महिलाको नाममा जग्गा, कृषिमा प्रयोग भएको विषादीको प्रकार, च्याउ खेती, पुष्पखेती, माछा तथा मौरीपालनको तथ्यांक पहिलोपटक संकलन गर्न लागिएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।

यसका साथै कृषि बिमा र अनुदान, भूकम्पीय क्षति, जलवायु परिवर्तनका असर, कृषि कामदार, हाटबजार लगायतको तथ्यांक गणनामा समाबेश गरिने छ ।

कृषि गणनामा जग्गाको क्षेत्रफल र उत्पादन, कित्ता संख्या, जग्गाको उपभोग एवं उपयोग, सिँचाइको अवस्था, मलखाद तथा बीउ बिजनको प्रयोग, पशुपन्छीको संख्या लगाएतलाई समेटिने छ ।

कृषि क्षेत्रको नीति, कार्यक्रम, योजना, बजेटका बिषयमा कृषि गणनाले सहयोग गर्नेछ । कृषि गणनामा कृषक परिवारको लगत, कृषक परिवार प्रश्नावली र सामुदायिक प्रश्नावली रहने छन् । सामुदायिक प्रश्नावली कृषि क्षेत्रबारे घर–घरमा गएर तथ्याङ्क संकलन गरिने छ ।

हिमाली र पहाडी क्षेत्रमा चार आना वा तराई क्षेत्रमा आठ धुर जग्गामा कृषि खेती गर्ने वा कम्तीमा एउटा गाई वा भैंसी वा पाँचवटा भेडा वा बाख्रा पाल्नेलाई कृषक मानेर तथ्यांक संकलन गर्ने विभागको तयारी छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले प्रत्येक १०÷१० बर्षमा गणना गरिदैँ आएको बताउदैँ यसपटकको गणना सफल बनाउन सबैको समन्वय आवश्यक भएको बताउनुभयो । नेपाल कृषि प्रधान देश भएको भन्दै उहाँले कृषि क्षेत्रको विकासका लागि गणनाले सहयोग गर्ने बताउनुभयो । कृषि क्षेत्रको परिवर्तन र विकासका लागि यो गणनाको कामले भुमिका खेल्नेछ, उहाँले भन्नुभयो ।

“हाल प्रत्येक नेपालीको घरमा केही न केही कृषि बस्तु छन्, प्रत्येकका घरमा थोरै भएपनि तरकारी रोपिएका छन्, गाइबस्तुको पालन गरिएको छ । चल्ला चुखुरा छन्, तर व्यावसायिक भएन् ,। कृषिमा आत्मनिर्भरताका लागि व्यावसायिक तथा आधुनिकिकरणको आवश्यकता छ, यो कृषि गणनावाट यी कुराहरु समेटिनेछन्, उहाँले भन्नुभयो ।

हाल परम्परागत रुपमा कृषि गर्दे आइएको भन्दै उहाँल ब्यवस्थित तरिकाको सोँच्न आवश्यक देखिएको बताउनुभयो । कृषिमा सबैले खासै मेहनत गरेको देखिदैँन्, ब्यवस्थित तरिकाले कृषि नगर्दा कृषि पेशा वाटै आम्दानि लिनेहरु कम छन् । चुनौती संगै संभावनाहरु छन्, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कृषि गणना नीति योजना कार्यक्रम र बजेटिङको मुख्य जग भएको बताउनुभयो ।

हरेक कुरामा सुचना प्रमुख बिषय भएको भन्दै हालको कृषि अवस्थाको सुचनाको काम तथ्याङ्कले गर्ने बताउनुभयो । राष्ट्रिय कृषिगणना समग्र राज्यको विधि पद्धति हो, यसमा सबै सहयोगि बनौ, सबै कुरा गणना संग सम्बन्धित हुने भएकाले सरोकारवालाहरु सचेत हुनुपर्ने आवश्यकता छ, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन सुपरिवेक्षक नरेन्द्र भट्टले गर्नुभएको थियो ।

घरबार बिहिन केसी परिवारलाई बुढाद्वारा ५० हजार सहयोग

घरबार बिहिन केसी परिवारलाई बुढाद्वारा ५० हजार सहयोग

 

दाङ, फागुन १३ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीमा सडक बिस्तार गर्ने क्रममा घरबार बिहिन भएका एक घरलाई छिमेकीले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

फुर्सेखालीको ख टोल देखी ढोडेनी सम्मको सडक बिस्तारका क्रममा घर भत्काउनु परेपछि घरबार बिहिन भएका गुमान सिंह केसीलाई छिमेकीले आर्थिक सहयोग गरेका हुन् ।

केसीका छिमेकी रहि हाल अमेरिकामा बस्दै आएका आषिश बुढाले नगद ५० हजार ५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । केसीलाई आषिशका बुवा पन्च बुढाले उक्त रकम हस्तान्तरण गर्नुभएको मदन पुनले जानकारी दिनुभएको छ ।

सडकले घर भत्काउनु परेपछि विचल्लीमा परेका केसीलाई आबाशका लागि छिमेकीले उक्त सहयोग गरेको पुनले बताउनुभयो ।