रुसले कब्जामा लिएका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु

रुसले कब्जामा लिएका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु

  दाङ, असोज ८ । रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु भएको छ । रुसको भाग बन्ने वा नबन्ने विषयलाई लिएर नागरिकको मत सङ्कलन सुरु भएको बीबीसीले जनाएको छ ।

पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिजा र खेअर्सनमा सुरु भएको मतदान पाँच दिनसम्म चल्नेछ । ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशतसम्म ओगट्छन् । रुसको यो कदमलाई लिएर युक्रेन र पश्चिमा देशहरूले चर्को आलोचना गरेका छन् ।

अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजना अनुसारको गैरकानुनी जनमत सङ्ग्रहबाट आउने परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ । युद्ध चलिरहेको बेला निष्पक्ष र वैधानिक चुनाव हुन नसक्ने पश्चिमा देशहरूको धारणा छ ।

यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले सबै देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । युक्रेनी समकक्षी दिमित्रो कुलेबासँग न्युयोर्कमा भएको भेटपछि कुलेबाले ट्वीटमार्फत भेटवार्ताको पुष्टि गर्दै चीनले मतभेद सुल्झाउने माध्यम वार्तालाई जोड दिएको र बल प्रयोगलाई अस्वीकार गरेको उल्लेख गर्नुभएको छ ।

रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो । त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण थालेको थियो । रुसले केहीदिन अघि सैन्य परिचालनको घोषणा समेत गरेको थियो।

 इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा १७ जनाले ज्यान गुमाए

इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा १७ जनाले ज्यान गुमाए

  दाङ, असोज ७ । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाले ज्यान गुमाएका समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिरासतमै ज्यान गएको थियो ।

१७ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् ।

एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी सङ्घसंस्थाले सुरक्षाकर्मीले भिडमाथि गोली चलाएको, अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको बताएका छन् । इरानीले इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनले उग्र रुप लिएको छ ।

 रुसमा आशिंकरूपमा सेना परिचालन गर्ने पुटिनको घोषणा

रुसमा आशिंकरूपमा सेना परिचालन गर्ने पुटिनको घोषणा

  दाङ, असोज ५ । रुसमा आंशिकरूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिकरूपमा सेना परिचालन गर्ने घोषणा गर्नुभएको हो ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ । ‘मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिकरूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ’, उहाँले भन्नुभएको छ । 

उहाँका अनुसार देशमा आंशिकरूपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए । 

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले देशभरि आंशिकरूपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिनुभयो । उहाँले दोहोर्‍याउँदै भन्नुभयो, ‘म फेरि पनि भन्छु, अहिले आंशिकरूपमा मात्रै सेना परिचालन गरिएको हो ।’ उहाँले शान्तिपूर्ण निकासका लागि किएभ तयार नभएको बताउँदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गर्नुभयो । 

सम्बोधनको सुरुमा राष्ट्रपति पुटिनले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरू सक्रिय भएर लागिरहेको आरोप पनि लगाउनुभयो । ‘उनीहरू हामीलाई पहिला टुक्र्याउन चाहन्छन्, त्यसपछि ध्वस्त पार्न चाहन्छन्’, उहाँले सम्बोधनका क्रममा भन्नुभयो ।

पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत सङ्घ रहेको बेलामा पनि त्यो कुरा सिधै भन्ने गरेको पनि उहाँले स्मरण गर्नुभयो । 

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरूले चर्को विरोध गर्दै आएका छन् । उनीहरूले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् । 

 बेलायती महारानी एलिजाबेथको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न, आजै समाधिस्थ गरिने

बेलायती महारानी एलिजाबेथको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न, आजै समाधिस्थ गरिने

दाङ, असोज ३ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको छ । राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टरमा महारानी एलिजाबेथको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको बीबीसीले जनाएको छ ।

समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनसहित सयौँ स्वदेशी तथा विदेशी पाहुनाहरू उपस्थित थिए । राजा चार्ल्स तृतीयले आफ्नी आमाको शव पेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गर्नुभयो । महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८ औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ ।  प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गर्नुभयो ।

लण्डनमा रहेको एक प्रसिद्ध युद्ध स्मारक वेलिङ्टन आर्चबाट दिवङ्गत महारानीको शव राखिएको पेटिका नयाँ राजकीय शववाहनमा स्थानान्तरण गरेर विन्डसर कासलतर्फको अन्तिम यात्रामा लगिएको छ । विन्डसर कासलमा रहेको गिर्जाघर सेन्ट जोर्जेज च्यापलमा महारानीको शव पेटिका समाधिस्थ गरिनुअघिका धार्मिक र परम्परागत कार्यहरू हुनेछन् । त्यसपछि नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उहाँका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिने बीबीसीले जनाएको छ ।

७० वर्षसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो ।

 पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले जित्यो एसिया कप

पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले जित्यो एसिया कप

दाङ, भदौ २७ । पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ । 

श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा १ सय ४७ रनमा अल आउट भयो । उसका लागि मोहम्मद रिजवानले ५५ र इफ्तिखर अहमेदले ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रमोद मदुशनले ४ र वानिन्दु हसरङ्गाले ३ विकेट लिए। 

यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । उसका लागि भानुका राजपक्षले नटआउट ७१ र वानिन्दु हसरङ्गाले ३६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।  

योसँगै श्रीलङ्काले एसिया कप ६ पटक जितेको छ । एसिया कप अहिलेसम्म धेरै जित्नेमा भने भारत छ, उसले अहिलेसम्म ७ पटक जितेको छ। पाकिस्तानले भने २ पटक जितेको छ।