घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट

दाङ, असार १० । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ ।

शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख जुटाउने उपमहानगरले जनाएको छ ।

त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड बेहोरिने उपप्रमुख डिसीले बताइन । डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ । यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौजदातबाट बेहोरिने उल्लेख छ ।

यस्तै उपमहानगरले आर्थिक वर्षको लागि शिक्षालाइ प्राथमिकता राख्दै बजेट ल्याएको छ । शिक्षालाइ सबै वर्गमा पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तरीय सुधार गर्न भन्दै शिक्षा, युवा तथा खेलकुदका लागि १३ करोड ४७ लाख बिनियोजन गरिएको छ ।

त्यस्तै घोराहीलाइ सफा, स्वच्छ र सुन्दर नगरमा बनाउन भन्दै सरसफाइ ब्यवस्थापन तर्फ ८७ लाख ६० हजार छुट्टयाइएको छ । त्यस्तै कृषिमा १ करोड १२ लाख र पशुमा ७७ लाख २० हजार छुट्टयाइएको छ ।


SHARE THIS