मोतीपुर घटनाको छानबिन गर्न एमालेको माग

  काठमाण्डौ, असोज २५ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुटवलको मोतीपुरमा सरकारले दमन गरेको भन्दै विरोध गरेको छ । 

आज सोमवारको राष्ट्रिय सभाको बैठकमा एमालेका सदस्य खिमलाल भट्टराईले अरू नागरिकले दशैँ मनाइरहँदा बुटबलका सुकुम्बासीलाई सरकारले दशा निम्त्याइदिएको भन्दै विरोध गर्नुभयो । 

गृह मन्त्री बालकृष्ण खाणले आफ्नै जिल्लाका सुकुम्बासीमाथि अत्यधिक बल प्रयोग हुँदा कुनै निर्देशन नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । राष्ट्रिय सभा सदस्य भट्टराईले मृतकलाई क्षतिपूर्ति, घाइतेको उपचार र घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ । 

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउने क्रममा हिजो ठूलो झडप भएको थियो । झडपमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । यस्तै १६ जना सर्वसाधारण र ४९ जना प्रहरी घाइते भएकोमा चार जना प्रहरीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । 

गृह मन्त्री बालकृष्ण खाणले कुनै पनि हालतमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउनररोक्न निर्देशन दिनुभएको छ । आज सोमवार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । 


SHARE THIS