मुख्यमन्त्री पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्ना

  रुपन्देही, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य आइतवार (आज) प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरूले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । 

विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र बहुमत सदस्य आफूहरूका पक्षमा रहेको जिकिर गर्नुभयो । कुल ८१ प्रदेश सभा सदस्यमध्ये विपक्षी गठबन्धनमा ४२ प्रदेश सभा सदस्य रहेको बताइएको छ । विपक्षी गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी छन् । 

‘हामी बहुमत सदस्यसहित आउँदैछौँ भनेर जानकारी गराउँदा गराउँदै पनि प्रदेश प्रमुखले असंवैधानिक कदम चाल्नुभयो’, खानले भन्नुभयो ।  

यता मुख्यमन्त्री पोखरेलका पक्षमा लागेका कपिलवस्तु क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित दीर्घनारायण पाण्डे, कपिलवस्तु क्षेत्र नं २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का अजयबहादुर शाहीले राजीनामा गर्दै विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीलाई समर्थन गरेका छन् । 

उता दाङको २ (ख) बाट निर्वाचित विमला खत्रीले आज पत्रकार सम्मेलन गर्दै आफू आफ्नो स्वविवेकमा माओवादी केन्द्रमा लागेको बताउनुभयो ।  


SHARE THIS