लुम्बिनी प्रदेशको घटना संसदीय विधि र पद्धतिको ठाडो उल्लङ्घन : सभापति देउवा

 काठमाण्डौ,  बैशाख १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतवार (आज) भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाउनुभएको छ । साथै उहाँले यस घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाउनुभएको छ । 

सभापति देउवाले आज विज्ञप्तिमार्फत नेकपा (एमाले) ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको दाबी गर्दै पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाउनुभएको हो ।

नेपालको संविधानबमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याइ राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवम् संसदीय मूल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको आरोप छ ।


SHARE THIS