थपिए १० आईसीयूसहित १ सय बेड, पालिकाहरु अक्सिजनसहितका आइसोलेशन बनाउँदै

दाङ, बैशाख १८ । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा शैय्या (बेड) थपिएका छन् । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डीमा  रहेको कोरोना विशेष अस्पतालमा यस अघि ५ वटा आईसीयू र एचडीसीयू बेड  गरी ३५ बेड थिए । यसलाई बढाएर आईसीयू दश वटा, एचडीसीयू बेड ५० वटा र सामान्य बेड ४० गरी एक सय बेड तयार पारिएको छ । 

अस्पताल व्यवस्थापन पक्षले दिएको जानकारी अनुसार  शनिबार नै जनशक्ति पनि थप्ने तयारी गरिएको छ । यस अघि ३५ वटा बेड मात्रै हुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर उपचार गरिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो भवनको माथिल्लो तला पनि अस्पतालको लागि प्रयोग गर्न दिएको उपकुलपति कार्यालयका सहप्रशासक विनयकुमार पोखरेलले बताउनुभयो । पहिले विद्यालयको तल्लो तला मात्र उपलब्ध थियो ।

यस्तै कोरोना सक्रमण तीव्र गतिमा बढेसगै दाङका दश वटै पालिकाहरु पनि आवश्यक तयारीमा जुटेका छन । पालिकाहरुले धमाधम आइसोलेशन बेड तयार गरी बिरामी राख्न सक्ने अवस्थामा पुगेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ८ अश्वारामा ५० बेडको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार आइतबारबाटै आइसोलेशन सञ्चालनमा ल्याइनेछ  ।


यस्तै घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना बिरामीका लागि आवश्यक पर्ने बेड तयार गरिरहेको जनाएको छ । त्यसका लागि आवश्यक पर्ने ४५ लाख रुपैयाँ बिनियोजन गरी बेड बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

पश्चिम दाङको बबई गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको  हापुरे प्राथमिक अस्पतालमा अक्सिजन सहितको तीस बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको जनशक्ति परिचालन गरि सोमबारबाट अस्पतालको सेवा शुरु गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै दगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीका अनुसार श्रीगाउँ स्वास्थ्य केन्द्रमा दश बेडको आसोलेशन केन्द्र निर्माण गरिएको छ । पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाले कोरोना माहामारीलाई मध्यनजर गर्दै २० शैय्याको अस्थायी कोरोना  विशेष अस्पताल स्थापना गरेको छ ।


गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पतालमा कोरोनाका कारण थलिएका बिरामीहरुलाई राखेर उपचार गरिने बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताउनुभयो । यसैगरी गाउँपालीकाले कोरोना रोकथामका लागि २० लाखको कोरोना कोष पनि स्थापना गरेको अधिकृत वलीले जानकारी दिनुभयो  ।

यस्तै देउखुरीका लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकाले पनि आफ्नो पालिकालाई चाहिने अक्सिजनसहितका आइसोलेशन बेड तयार गरिरहेको जनाएका छन् ।


SHARE THIS