दम्पती मृत भेटिए

धनकुटा, वैशाख २२ । पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पती मृत अवस्थामा फेला परेका छन् । पाख्रिबास–६ तिल्केका करिब २२ वर्षीय सुनील थापा र २० की सृजना गुरागाईं रहेको प्रहरीले जनाएको छ ।

युवक झुन्डिएको र युवती भुइँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तुलाल जैसवालले जानकारी दिए ।

मृतकहरू श्रीमान्–श्रीमती भएको उनले बताए । प्रारम्भिक अनुसन्धानका आधारमा युवकले पत्नीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे बिहान ११ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

श्रीमतीको शव झाडीमा झ्यासले छोपिएको अवस्थामा फेला परेको घटनास्थलमा रहेका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले बताए । काठमाडौं बस्दै आएका थापा केही दिन पहिले घर आएको आफन्तले बताए । माइतमा रहेकी श्रीमतीलाई साथमा लिएर चार दिन पहिले हिंडेका दुबै मंगलबार मृत फेला परेका हुन् ।

मृतकको साथबाट राहदानी, नागरिकता लगायतका सामग्री फेला परेको छ । उनीहरूको ५ वर्षीय छोरा छन् ।


SHARE THIS