रोल्पामा वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा

  रोल्पा, बैशाख २० । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमवार (आज) बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदो जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नुपर्ने वा अर्को ठाउँ जानुपर्ने भए २४ घण्टाभित्र जान समय दिइएको पनि प्रजिअ सापकोटाले जानकारी दिनुभयो ।

रोल्पामा अहिलेसम्म ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । गङ्गादेव गाउँपालिकामा ५० बढी सङ्क्रमित भेटिएको र एक जनाको ज्यान गएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  


SHARE THIS