पौडी खेल्ने क्रममा सानीभेरीमा डुबेर एक बालकको ज्यान गयो

 

 रुकुम पश्चिम, बैशाख १५ । सानीभेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । बुधवार दिउँसो मुसिकोट नगरपालिका ३ को गेरुढुङ्गा भन्ने ठाउँबाट पौडी खेल्न भेरीमा हाम फालेका बालकको डुबेर ज्यान गएको हो ।

ज्यान गुमाउनेमा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ५ का १४ वर्षीय निशान घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० कपिल शाहीले बताउनुभयो । 

त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोटमा कक्षा ८ मा अध्ययनरत निशान अन्य पाँच जना साथीसँगै पौडी खेल्न नदीमा गएका थिए । डुबेर निशानको शव पानीमा पौडिन थालेपछि मात्र उनका साथीहरूले ज्यान गएको पत्ता पाएको प्रहरीले जनाएको छ । निशान अध्ययनको सिलसिलामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बस्दै आएका थिए ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि निशान साथीहरूसँगै सानीभेरीमा पौडी खेल्न गएका थिए ।


SHARE THIS