काठमाण्डौ छाड्नेहरुको भीडभाड, बस र जहाजमा टिकट पाउन मुस्किल

 

 काठमाण्डौ, बैशाख १४ । गोङ्गबुमा रहेको नयाँ बसपार्कमा घर जाने यात्रुको भीड बढेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमवार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमवारको निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमवार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।

लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमवार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गर्नुभयो । लामो दूरीका गाडी थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो । साथै,  सरकारले निषेधाज्ञाको निर्णय गरेसँगै जहाजमा समेत टिकट पाउन मुस्किल भएको छ । 

नयाँ बसपार्कबाट अहिले देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् । काठमाण्डौ महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५०० भन्दा बढी सार्वजनिक गाडी पार्किङ गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।

पछिल्लो समय नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क निर्माणका लागि ल्होत्से बहुउद्देश्यीय प्रालि लागेको छ । प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आफूले काम गरिरहेको बताउनुहुन्छ ।

नयाँ बसपार्कमा अहिले सञ्चालन भएका टिकट काउन्टरसमेत बन्द गरिएको छ । टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि वैशाख १ देखि नयाँ बसपार्कभित्रका सम्पूर्ण काउन्टर बन्द गरिएको अध्यक्ष कुँवरको भनाइ छ ।


SHARE THIS