जाजरकोटमा वैशाख १८ देखि एक हप्ताका लागि निषेधाज्ञा

  जाजरकोट, बैशाख १५ । जाजरकोटमा आउँदो वैशाख १८ गते शनिवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ । कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि जाजरकोटमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सर्वपक्षीय बैठक र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निष्कर्ष निकालेको हो । 

बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । 

निषेधाज्ञा अवधिमा तरकारी र खाद्यान्न पसल भने बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिइनेछ । साथै एटीएम सेवा, औषधि पसल, एम्बुलेन्स लगायतका सेवा भने रोकिने छैनन् । यस अवधिमा केही पालिकाले तोकेका विद्यालयका परीक्षासमेत स्थागित हुने भएको छ । भेरी र बारेकोटबाहेक अन्य पालिकाले विद्यालय अहिलेसम्म बन्द गरेका छैनन् । 

जाजरकोटमा अहिलेसम्म परीक्षण गरिएकामध्ये ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 




SHARE THIS