दाङमा थप एक संक्रमितको मृत्यु

 


दाङ, वैशाख १४ । दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुष रहेका छन् । उनको सोमबार दिउँसो करिब ४ बजेतिर कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार अस्पतालमा भर्ना भई आइसीयु कक्षमा भर्ना उपचाररत थिए ।

व्यवस्थापक वलीका अनुसार उनीलाई निमोनियाको पनि समस्या देखा परेको थियो । यो संगै अस्पतालमा भर्ना भई मृत्यु हुनेको संख्या १२ पुगेको छ , भने जिल्लामा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

यता दाङका २ जना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर ७ का ३८ वर्षीय एक पुरुष र घोराही उपमहानगरपालिका १५ का ३३ वर्षीय एक पुरुषलाई हेलिकप्टर मार्फत सोमबार काठमाडौंको ह्याम्स अस्पताल रेफर गरिएको व्यवस्थापक वलीले जानकारी दिए । संक्रमितको स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं पठाइएको उनले जानकारी दिए ।

जिल्लामा संक्रमितको संख्या उच्च भएपछि अस्पतालमा अहिले बेड र अक्सिजनको अभाव भएको छ । अस्पतालमा उपचाररत संक्रमितको दिनहुँ जसो निधन हुने गरेको छ ।

आइतबार घोराहीका एक संक्रमितको निधन भएको थियो । जिल्लामा भने हाल सक्रिय संक्रमितको संख्या ६ सय ३० रहेको छ, भने निधन हुनेको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।


SHARE THIS