भारतमा फेरी नयाँ रेकर्ड : एकैदिन ३ लाख ३२ हजार बढिमा कोरोना पुष्टि, विश्वभर कति ?

 दाङ, बैशाख १० । कोरोना भाइरस सङ्क्रमणको नयाँ रेकर्ड बनाइरहेको भारतमा लगातार तेस्रो दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २ दिनमा मात्रै ५ लाखभन्दा बढी संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ३ लाख ३२ हजार ५०३ संक्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको संख्या २४ लाख २८ हजार ७७५ पुगेको छ । योसँगै अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ ।

कोरोनाको दोस्रो लहरमा गम्भीर बिरामी र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ ।

त्यस्तै विश्वभर एकै दिन ८ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना सङ्क्रमितको कुल संख्या १४ करोड ५३ लाख नाघेको छ ।

विश्वमा एकै दिन झण्डै १३ हजार जनाको मृत्यु भएको छ । १२ हजार ९१४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यससँगै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३० लाख ८३ हजार ९९३ पुगेको छ । 


SHARE THIS