सीसीएमसीद्वारा अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सिफारिस

काठमाण्डौ, बैशाख १८ । कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान रोक्न सरकारलाई सिफारिस गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको सीसीएमसीको शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित सरकारलाई यस्तो सुझाब दिएको हो।

कोरोना संक्रमण रोकथामका लागि यसअघि गरिएका निर्णयको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य व्यवस्था थप बलियो बनाउनुपर्ने सिफारिस पनि सीसीएमसीले मन्त्रिपरिषद्लाई गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

सीसीएमसीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि र यसलाई थप फैलिनबाट रोक्नका लागि थप कदम चाल्न पनि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न र उडान कटौती गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको मन्त्री ज्ञवालीले जानकारी दिए। उनका अनुसार कोरोनाको उच्च जोखिम भएका मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्ने र आन्तरिक उडानहरूलाई पनि कटौती गर्न र रोक्न सिफारिस गरिएको हो।



SHARE THIS