पशुपति विकास कोषलाई सरकारले कोरोना संक्रमित शव जलाएको पारिश्रमिक दियो

 

काठमाडौं, फागुन २५ । सरकारले कोरोना संक्रमितको शव जलाएको पारिश्रमिकस्वरुप पशुपति विकास कोषलाई ४९ लाख ३५ हजार रुपैयाँ उपलब्ध गराएको छ। कोरोना संक्रमितको शव पशुपति क्षेत्रको विद्युतिय शवदाह गृहमा अन्त्येष्टि गर्दै आएको छ। 

प्रति शव सरकारले ५ हजार उपलब्ध गराउँदै आएको विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए। उनका अनुसार हालसम्म  ९ सय ८७ वटा शवको  भुक्तानी पाइएको छ। 

सिसिएमसीको सिफारिसमा अर्थ मन्त्रालयले कोषलाई उक्त रकम उपलब्ध गराएको हो। हालसम्म विद्युतीय शवदाह गृहमा १७ सय भन्दा बढी शवको अन्त्येष्टि भइसकेको छ। 

केही समय अगाडि दैनिक तीन देखि चार वटा सम्म शव आउने गर्थ्यो तर,हिजो आज दिन बिराएर एउटा मात्र शव आउने गरेको उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणको कारण ३ हजार १२ कोभिड संक्रमितको मृत्यु भइसकेको छ।


SHARE THIS