मड्रिड डर्बी :ला लिगामा निर्णायक खेल

काठमाडौं, फागुन २३ । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा रहेको रियल मड्रिडबीच आइतबार राति ९ बजे खेल हुँदैछ। जुन खेलको नतिजाले दुई टिमको अंक तालिकामा मात्र होइन लिगको उपाधिलाई समेत प्रभाव पार्नेछ। 

‘हामी किन लिगको शीर्ष स्थानमा छौँ भन्ने देखाउन चाहन्छौँ,’ यही सिजन बार्सिलोनाबाट एथ्लेटिको गएका स्ट्राइकर लुइस स्वारेजले भनेजस्तो टीमका लागि चुनौतीसँगै शीर्ष स्थानमा बलियो बन्ने अवसर छ। जहाँ रियलले निकाल्ने नतिजाले दोस्रो स्थानमा रहेको बार्सिलोनाका लागि विशेष अर्थ राख्नेछ। 

एथ्लेटिको २०१४ पछि यसै सिजन लिग उपाधि जित्न नजिक पुगेको हो। यस्तोमा रियललाई ला लिगामा पछिल्ला ९ खेल हराउन नसकेको एथ्लेटिकोलाई सहज भने छैन। यी दुईबीचको पछिल्ला ९ खेलमा पाँच खेल बराबरी भएका छन् भने ४ खेल रियलले जितेको छ। यही सिजन भएको पहिलो भेटमा रियलले एथ्लेटिकोलाई २–० ले हराएको थियो। 

पछिल्ला खेलको नतिजामा मात्र होइन मैदानमा गोलमा बढ्ने अवस्थामा पनि एथ्लेटिको पछि नै देखिन्छ। रियलविरुद्ध पछिल्ला तीन खेलमा एथ्लेटिकोले गोल गर्न सकेको छैन। 

पछिल्लो पटक एथ्लेटिकोबाट २०१९ को फेब्रुअरीमा एन्टोनियो ग्रिजम्यानले गोल गरेपछि रियलविरुद्ध गोल गर्न सकेको छैन। 


SHARE THIS