प्रचण्ड-नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरे स्वीकार्छु : देउवा

 

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका छन्। बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री पदको लागि जिम्मेवारी आए पछि नहट्ने बताएका हुन्। कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ, देउवाले भने।

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’ आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए।

उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएको भन्दै जवाफमा उनले शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न पनि आग्रह गरे।

सोही कार्यक्रममा  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन्। उनले  प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए। प्रतिनिधिसभाका सदस्य डाक्टर कोइरालाले भने, “नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।”

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए।” फरक प्रसङ्गमा महामन्त्री डाक्टर कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए।


SHARE THIS