एन्फा प्रेसिडेन्ट कप आजदेखि सुरु हुँदै, विजेतालाई १० लाख पुरस्कार

 

काठमाडौं, चैत्र २ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारबाट बाँकेको नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट कप सुरु हुँदैछ।

आज हुने उद्घाटन खेलमा मनकामना युवा क्लब रौतहट र स्टार सिटी युवा क्लब कैलालीबीच खेल हुने छ। नेपालगञ्ज रंगशालामा हुने खेल आज दिउँसो दुई बजे सुरु हुने छ। 

सात प्रदेशका लिग च्याम्पियन टिमबीच हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै उपविजेताले पाँच लाख हात पार्नेछ। प्रतियोगितामा विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीले ५० हजार र फेयर प्ले टिमले ५० हजार रुपैयाँ पाउनेछन्। यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन धादिङ समाज (धादिङ), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब(जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब(कैलाली), लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब (रौतहट) ले प्रतिस्पर्धा गर्नेछन्।

यो प्रतियोगितामा शीर्ष चारमा रहने टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन। प्रतियोगिता चैत १५ गतेसम्म चल्नेछ।


SHARE THIS