वसन्त ऋतुमा हिमाल आरोहणका लागि क्यानडाको टिमले पायो पहिलो अनुमति

  काठमाण्डौ, फागुन २५ । वसन्त ऋतुको आरोहणका लागि अनुमति दिने क्रम सुरु भएको छ । पर्यटन विभागले आउँदो वसन्त ऋतुको आरोहणका लागि मङ्गलवार पहिलो अनुमति दिएको जनाएको छ ।

विभागका अनुसार नुप्से हिमाल आरोहणका लागि क्यानडाको एक समूहले अनुमति लिएको छ । अनुमति लिनेमा चार जना पुरुष रहेका विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमतिबापत विभागले २४ सय अमेरिकी डलर अर्थात् दुई लाख ७९ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

यसैबीच पर्यटन व्यवसायीहरूले आउँदो वसन्त ऋतुको आरोहणमा उत्साहपूर्ण सहभागिता हुने आशा गरेका छन् । अहिलेसम्म  सम्पर्कमा आएका आरोहीअनुसार आउँदो वसन्त ऋतुमा झण्डै तीन सय ५० विदेशी नागरिकले सगरमाथा आरोहणका लागि अनुमति लिने देखिएको सेभेन समिट ट्रेक लिमिटेडका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

यद्यपि कोरोना महामारीले थलिएको पर्वतीय पदयात्रामा भने आउँदो सिजन पनि निराशाजनक हुने व्यवसायीहरूले बताएका छन् । यदि सरकारले अनिवार्य क्वरेण्टीनको नियम मात्रै हटाए पनि थप पर्यटक आउने अध्यक्ष शेर्पाले बताउनुभयो ।    


SHARE THIS