वर्षमानको दाबी : चैत ५ गतेपछि कांग्रेस, माओवादी र जसपाको सरकार

 

काठमाडौं, चैत्र ३ । नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले भने, ‘सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्छ।’  

‘यही ५ गते जसपाको बैठकपछि कांग्रेस, माओवादी र जसपा गठबन्धनको सरकार बन्छ’ उनले थपे, ‘प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको उहाँहरु सबैले विरोध गर्नुभएको थियो। त्यसैले यो प्राकृतिक गठबन्धन हो।’

उनले प्रधानमन्त्री ओलीको लागि प्रतिनिधिसभा नभएको तर्क गरे। ‘प्रधानमन्त्रीको लागि प्रतिनिधिसभा छैन। उहाँले मारिसक्नुभयो’ उनले भने, ‘उहाँले विश्वासको मत लिन्छु भन्ने कुरा गर्नुले उहाँको नैतिकताको कुरा पनि हुन्छ।’

उनले बैठकमा सरकारलाई दिएको समर्थनबारे भने ठोस छलफल नभएको बताए। 

‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ। ओलीलाई अब पदमा रहिराख्न मिल्दैन भन्ने हाम्रो निष्कर्ष हो’ उनले भने।  

नेता चयन

बैठकले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। यस्तै, प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन्। 

त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गर्ने निर्णय पनि बैठकले गरेको छ। यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ नै थिए। 


SHARE THIS