सिरहामा बम विस्फोट : घाइतेमध्ये एक जनालाई काठमाण्डौ ल्याइयो, विस्फोटको जिम्मा गोइत समूहले लियो

  सिरहा, चैत १ । सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ । 

कार्यालयको माथिल्लो तलामा भएको विस्फोटमा परेर घाइते भएका सेवाग्राही धनगढीमाई नगरपालिका ४ का ३८ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको हो । भण्डारीलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । 

विस्फोटमा मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका १३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका ६ का लक्ष्मी राना, बेचनी मगर घाइते भएका छन् ।

यस्तै सिरहा नगरपालिका १६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव र धनगढीमाई नगरपालिका ४ का दिनेश भण्डारी गरी आठ जना घाइते भएका सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका मगर र यादवसहित सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर सिरहामा भ्रष्टाचार भइरहेकाले बम विस्फोट गराएको बताएका छन् ।

गोइत समूहका दोस्रो तहका नेता रामविलास यादवले आइतवार बिहानै प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको छ ।  


SHARE THIS