यसकारण फेर्दै छ माओवादी केन्द्रले नाम

महाधिवेशनसम्म यही नाम रहन सक्छ, केन्द्रीय कमिटीले पनि फेर्न सक्छ 


काठमाडौं, फागुन २८ । माओवादी केन्द्रमा पुनः नाम फेर्ने बहस चलेको छ । शान्ति प्रक्रियामा आएपछि माओवादीले तेस्रोपटक नाम फेर्ने बहस चलाएको हो ।

यसअघि, २०६५ मंसिरमा नेकपा (एकता केन्द्र–मसाल)सँग एकता गरेपछि जनयुद्धकालको नेकपा (माओवादी)बाट एकीकृत नेकपा (माओवादी) अर्थात् एमाओवादीमा रूपान्तरित भएको थियो । त्यसपछि २०७३ जेठ ७ गते विभिन्न दश कम्युनिस्ट घटकहरूसँग एकता गर्दै एमाओवादी नेकपा (माओवादी) केन्द्रमा बदलिएको थियो ।

माओवादी केन्द्रमा नाम फेर्ने सामान्य बहस चलेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

“हामी एकीकृत समूह नेपाल कम्युनिस्ट पार्टीको रूपमा नाम राखिसकेको र एकता पनि गरिसकेको अवस्था थियो । तीन वर्षपछि त्यही पार्टीमा फर्कंदा त्यति सान्दर्भिक देखिँदैन । यही कारणले छलफल चलेको हो,” उनले भने ।

उनले एउटा प्रक्रियाबाट मात्रै नाम परिवर्तन हुने जानकारी दिए ।  माओवादी केन्द्रले भोलि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । चैत १ गते प्रशिक्षणात्मक कार्यकर्ता भेला आयोजना गरेको छ । नाम फेर्ने बहस सम्भवतः त्यहाँ पनि चल्नेछ ।

“केन्द्रीय कमिटीले पनि नाम फेर्न सक्छ,” उनी भन्छन्, “एउटा सम्मेलन र महाधिवेशनसम्म पनि जानसक्छ ।” उनले पुरानो पार्टीलाई नयाँ पार्टीमा विलय गरिसकेको र त्यही पार्टीमा फर्कनु त्यति सान्दर्भिकता नहुने भएकाले बहस चलेको र विस्तारित हुन बाँकी रहेको दोहोर्‍याए ।


SHARE THIS