रुकुम पश्चिमको सरकारी विद्यालयमै मार्कर, पानी र चर्पी प्रयोगको शुल्क

 


रुकुम, चैत ९ । रुकुम पश्चिमको एक सरकारी विद्यालयले विद्यार्थीबाट मार्कर, पानी र चर्पी प्रयोगको समेत शुल्क लिदै आएको पाइएको छ । बाँफिकोट गाउँपालिका २ मा रहेको जनकल्याण माध्यमिक विद्यालयले विद्यार्थीबाट यस्तै विभिन्न शीर्षक राखेर पैसा असुल्दै आएको पाईएको हो ।

विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले भर्ना शुल्क, अध्ययन शुल्क मात्र नभइ आफूले कक्षामा पढ्दा शिक्षकले पढाउने गरेको चक, मार्कर, पानी र शौचालय प्रयोग गरेको शुल्क तिर्न बाध्य भएको गुनासो गरेका छन् ।

विद्यालयले दिएको नगदी रसिदबाट समेत ती शुल्क लिएको पुष्टि भएको छ । कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीबाट चक, मार्कर शुल्क भनेर एक सय ५० रुपैयाँ लिने गरेको छ भने शौचालय तथा खानेपानी शुल्क भनेर २५ रुपैयाँ लिने गरेको छ ।

सरकारले हरेक सरकारी विद्यालयमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क घोषणा गरेको छ । तर उक्त विद्यालयले भने भर्ना शुल्क एक हजार, मासिक शुल्क तीन हजार, आवेदन फाराम शुल्क सात सय रुपैयाँ लिने गरेको छ ।

यसैगरी कक्षा १२ मा पनि एक विद्यार्थीबाट अभ्यास शिक्षण शुल्क २ सय, अभिभावक शुल्क ३ सय, शिक्षण विधि शुल्क एक सय र परीक्षा केन्द्र शुल्क एक सय ५० लिएको पाइएको छ ।

विद्यालयका प्रधानाध्यापक झुपिलाल पौडेलेले खानेपानी व्यवस्थापन र शौचालय सरसफाइका लागि चौकीदार राखिएको र उनीहरुको तलबको लागि विद्यार्थीबाट शुल्क लिइएको प्रतिक्रिया दिनुभएको छ ।




SHARE THIS