पार्टीको आधिकारिकता हामीले पाइसक्यौं : प्रचण्ड

काठमाडौं, फागुन १७ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको आधिकारिकता आफूहरुले पाउने निश्चित भएको दाबी गरेका छन्। प्रचण्डले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताए।

‘निर्वाचन आयोगले पनि दल र कानुन अनुसार निर्णय गर्छ। अब सूर्य हामीले पाइसक्यौं’ प्रचण्डले भने, ‘घोषणा हुन मात्र बाँकी छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा दर्ता भएपछि सर्वोच्च अदालत सेटिङ गरेको छु भनेर देशभर भन्दै हिँडेको तर, आफूअनुकल फैसला नआउँदा बर्बराउँदै हिँडेको प्रचण्डको टिप्पणी छ।

‘अब निर्वाचन आयोगबाट पनि ओलीको अर्को सेटिङ भत्कँदैछ,’ प्रचण्डले भने, ‘आयोगले केही दिनमा बहुमतको पार्टी हाम्रो भएको फैसला गर्छ। मैले थाहा पाएर भनेको हुँ। यसमा दुविधा गर्न पर्दैन।’

अब विस्तारै भ्रममा रहेका मान्छेहरू फर्किदै गरेको भन्दै उनले बाँकी पनि ब्युँझिनुपर्ने बताए। ‘केही साथीहरु भ्रममा हुनुहुन्छ भने आउनुस् तपाईंहरु निन्द्राबाट ब्युँझिएर आउनुस्’, दाहालले भने ‘आधिकारिक पार्टी यही हुन्छ आउनुस्। सर्वोच्चले जनताको पक्षमै आउँछ भनेको थिएँ। मैले सेटिङ गरेर भनेको थिइनँ।अहिले संविधानले जितेको छ।’



SHARE THIS