रिमखोलावासी खानेपानीका लागि खोला र कुवाको भरमा

 

  • जीतसागर जी.एम.

दाङ, फागुन १८ । बबई गाउँपालिका-५ रिमखोलाका ३४ वर्षिय निमा थापा घरमा खानेपानी ल्याउनकै लागि दैनिक ३/४ घण्टाको समय छुट्याउँछिन् । रिमखोलामा खानेपानीको सहज पहुँच नहुँदा थापा डेढ घण्टा बढी लगाएर खोलाको पानी ल्याउ गरेको बताउँछिन् । खोलाको पानी पनि सहजरुपमा पाउन नसकको उनको भनाई छ ।

‘करिब डेढ घण्टा लगाएर खोलाको पानी ल्याउनुपर्ने बाध्यता छ, त्यै पनि सङ्लो पानी खान पाउँदैनौँ ’ उनले भनिन्-‘ केहिलेकाँही घरमा कोहि आएभने धाराको पानी खोज्नुहुन्छ, त्यस्तो बेलामा समेत पाहुनालाई धमिलो पानी खुवाएका छौँ ।’ खोलाको धमिलो पानी खाँदा बिरामी समेत पर्ने गरेको उनी सम्झीरहन्छीन् तर खोलाको पानी नखाई नहुने बाध्यता रहेको उनले बताईन् ।

बबई गाउँपालिका वडा नम्बर १ का रिमखोलाकै धनी सिँजालीको समस्या पनि उस्तै हो । गाउँमा स्वच्छ खानेपानी नहुँदा उनको परिवार पनि खोलाकै पानी प्रयोग गर्न बाध्य छ । ‘हिउँदमा त खोलाको पानी जसोतसो पिउन सकिने हुन्छ, तर वर्षामा त खोलाको पानी पिउन सकिँदैन्, धमिलो पानी हुन्छ, कसरी पिउनु र ? पानी पर्न थाल्यो भने खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्ता हुन्छ ।’

खोलामा हिउँदमा स्यावाली लागेको र वर्षामा धमिलो पानी पिउन बाध्यता रहेको उनले बताईन् । ‘खोलाको पानी पनि हिउँदमा पर्याप्तमात्रामा हुँदैन्, वर्षामा खोला आएर धमिलो हुन्छ’ उनले भनिन्-‘खानेपानीको व्यवस्था सहजरुपमा कहिले होला र ? जति नेता फेरिएपनि आफुहरुको वर्षौँदेखि खानेपानीको समस्या अन्त्य हुन नसकेको उनले बताईन् ।

‘खानेपानीका लागि बजेट आउँछ, नेताहरुले हरेक पटक आउँदा अब त पानी विस्तार हुन्छ भन्नुभएको छ तर अझै पनि हामीहरु खोलाकै पानी पिउन बाध्य छौँ’ उनले भनिन-‘ फोहर पानी खाँदाखेरी कति रोग लागेको छ, विषेश गरी वर्षामा झाडापाखालाले सताउने गर्छ, नजिकमा अस्पताल पनि छैनन् ।’

संघिय व्यवस्था लागु भएर गाउँ-गाउँमा स्थानीय सरकार आएपनि आफुहरुका समस्या ज्युँ का त्युँ रहेको उनको गुनासो छ । स्थानीय सरकार आएपनि खानेपानीको व्यवस्थापनका लागि खासै ध्यान नदिएको ६९ वर्षिय टेकी डाँगीले बताईन् । ‘खोलाकै पानीले अहिलेसम्म बाँचेका छौँ, मैले त यो जुनिमा धाराको पानी पिउन पाउँदैन् होला’ उनले भनिन्-‘जतिसुकै सरकार आएपनि हाम्रा दुख त कहाँ जान्थे र , चुनावमा यो बनाउँछौँ, उ बनाउँछौँ भनेर भन्नुहुन्छ तर पछि वास्तविकरुपमा पाउँदैनौँ ।’

दाङको बबई गाउँपालिका वडा नम्बर १ र ५ रिमखोलाका नागरिक स्वच्छ खानेपानीबाट बञ्चित देखिएका छन् । नेपालको संविधानमा स्वच्छ खानेपानी नागरिकको मौलिक अधिकारका रुपमा राखिएपनि रिमखोलाका नागरिक अहिले पनि खोला र इनारको पानी पिउन बाध्य रहेका छन् । रिमखोलामा खानेपानीको सहज पहुँच हुन नसक्दा करिब दुई सय घरधुरी स्वच्छ खानेपानीबाट बन्चित रहेको देखिएको हो । खानेपानीका लागि खोलाकै पानीको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय कल्पना रसाईलीलले बताईन् ।

भौगोलिक हिसावले अरु वडाको तुलनामा केहि वस्ती नमिलेका कारण पनि खानेपानीको विस्तारलाई तिब्ररुपमा अघि बढाउन नसकिएको बबई गाउापालिका वडा नम्बर १ का वडा अध्यक्ष खड्गबहादुर कुवँरले बताए । ‘खानेपानीको स्रोतकै अभावका कारण स्वच्छ पिउने पानीलाई सबै ठाउँमा पुर्‍याउन सकिएको छैन्’ उनले भने-‘टाढाबाट पानी ल्याउन पनि बजेट धेरे चाहिने भएकोले पनि अहिले तत्काल खानेपानीको विस्तार गर्न सकिएको छैन् ।’

खोला, इनारको पानी प्रयोग गर्दै आएका नागरिकलाई तताएरमात्रे प्रयोग गर्न अनुरोध गर्ने गरेको उनले बताए । ‘ज-जसले खानेपानी स्वच्छ पाउनु भएको छैन् , उहाँलाई हामीले पानी तताएर मात्रै प्रयोग गर्न अनुरोध गरेका छौँ ।’

यस्तै बबई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर बहादुर श्रीस मगरले वडा नम्बर १ र ५ मा खानेपानीको दिर्घकालिन समस्या समाधानका लागि डिपिआर निर्माणको काम अघि बढेको बताए । ‘जिल्ला खानेपानीले डिपिआर निर्माणको काम गरेको छ’ उनले भने-‘अब डिपिआर निर्माण भइसकेपछि उपभोक्ता समिति निर्माण गरी काम अघि बढाउने प्रक्रियामा छौँ ।’ अबको १/२ वर्षभित्र वडा नम्बर १ र ५ का नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउने योजना बनाएको उनले बताए ।

नेपालको संविधानको धारा ३५ को उपधारा (४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकको रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेकोले संघ, प्रदेश र स्थानीय तहले खानेपानी र सरसफाई सम्बन्धि कानून निर्माण गरी नागरिकको आधारभूत खानोपनीको हकलाई सम्मान, संरक्षक र परिपूर्ति गर्नु पर्ने उल्लेख छ ।


SHARE THIS