दाङमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

 

दाङ, फागुन २४ । दाङमा छुट्टाछुट्टै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लमहि नगरपालिका ८ उचानिम्बुमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल लमही नगरपालिका ८ उचानिम्बुको घुम्तीमा एक आपसमा ठोक्किएका थिए ।

मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र सोही ठाउँ निवासी ३० बर्षिय तिलक थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशको लमही अस्पतालमा र तिलकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुबाट सिमेन्ट लिएर हापुरे जाँदै गरेको रा १ त २६० नम्वरको ट्याक्टर बबई गाउँपालिका ६ च्याटी खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका १८ निवासी १८ बर्षिय सुरेश बस्नेतको मृत्यु भएको छ । गम्भिर घाईते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि कोहलपुर लैजाँदै गर्दा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यसैगरि रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुन्टिगढि गाउँपालिका ६ गातिनामा ना ७ त ६४०० नम्वरको ट्याक्टर टुर्घटना हुँदा सोहि ठाँउ निवासी खगेन्द्र रानाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ ।


SHARE THIS