राप्ती पुलमा नयाँ शिलालेख राखियो

 

दाङ, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुल उद्घाटनको क्रममा अनावरण गरेको केही दिनमै तोडफोड भएको शिलालेखको ठाउँमा नयाँ शिलालेख राखिएको छ ।

तोडफोड गरिएको शिलालेखमा ‘सिसहनियाँ राप्ती पुल’ नाम राखिएको थियो भने नयाँ शिलालेखमा ‘महदेवा सिसहनियाँ राप्ती पुल’को नाम राखिएको छ । पुल गढवा गाउँपालिकाको महदेवा क्षेत्रमा रहेकाले पुलको नाममा महदेवा नराखिएको भन्दै विरोध भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुल शिलान्यास गर्नुभएको थियो ।

करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको हो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।


SHARE THIS