राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

 

काठमाडाैं, चैत ९ । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग साेमवार राजधानी ढाकामा रहेकाे होटेल कन्टिनेन्टलमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । 

साेमवार नै बङ्गलादेशका विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी साेमवार बङ्गलादेश पुग्नुभएको हो । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानमार्फत बङ्गलादेश पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकाकाे हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले साेमवार नै बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनुहुनेछ । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी पुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री  ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनुहुन्छ । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् । 


SHARE THIS