संकटको बेलामा काँग्रेसले सरकारको नेतृत्व सम्हाल्नुपर्ने अवस्था आयो : गगन थापा

 

काठमाडौं, फागुन २८ । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्नेमा जोड दिएका छन्  । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै  नेता थापाले काँग्रेसले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि आउनुपर्ने बताए ।

उनले भने, ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ र नेपाली काँग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने हामीले सरकार बनाएर, हामीले छ, आठ महिना, एक वर्ष चलाएर निर्वाचनमा जानुपर्छ । प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पार्नुभएको छ ।’

ती भ्वाङहरु टाल्ने काम गरेर देशलाई निर्वाचनमा लिएर गएर जानुपर्ने बताए । त्यो निर्वाचनबाट हामीले एकपटक फेरी नयाँ जनादेश प्राप्त गरेर पाँच वर्ष नेपाली काँग्रेसले जनताका बीचमा केही कुराहरूको संकल्प गरेर ती संकल्पहरु पुरा गर्ने काम हामीले गर्नुपर्छ,’ उनले भने ।

नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भएपनि संकटको बेलामा काँग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाई छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्यान्डेट सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने म्यान्डेट पाएको पार्टी नरहेको टिप्पणी गरे ।

नेपाली काँग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकास दिनुपर्ने उनको भनाई छ । उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीको नाममा जुन म्यान्डेट उहाँहरुले पाउनुभयो, त्यो म्यान्डेट अस्तिको सर्वोच्च अदालतको फैसला र त्यो फैसलालाई उहाँहरुले स्वीकार गरिसकेपछि सकियो । त्यसैले यो संसदमा सरकार चलाउने म्यान्डेट पाएको पार्टी छैन । हामीले प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको पाएको । तर यो क्राइसिसको बेलामा अब हामीले सम्हाल्नुपर्ने छ । हामीले सम्हालेर यसलाई निकास दिने, निकास दिएर देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्यान्डेट प्राप्त गर्ने ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उनको भनाई छ । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइ राख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताए ।


SHARE THIS