बालुवाटार बैठकमा ओलीले भने : नयाँ परिस्थिति बनेको छ, म सधैं खुला छु

 

काठमाडौं, चैत १३ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहका सांसद संसदीय दलको बैठकमा सहभागी भएपछि पार्टीमा नयाँ परिस्थिति निर्माण भएको बताएका छन्। 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाल–खनाल समूहका सांसद पनि सहभागी भएका थिए । बैठकमा झलनाथ खनाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले आफ्नो धारणा राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताएका थिए। 

बैठकबाट बाहिरिएपछि पत्रकारहरूसँग बोल्दै नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीले पार्टीमा नयाँ परिस्थिति निर्माण भएको बताएको जानकारी दिए। 'हामीले जनमतअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ त्यसका लागि अध्यक्षका नाताले तपाईंले पहल गर्नुस् भन्यौं', नेता भट्टराईले भने, 'उहाँले अस्तिको बैठकमा भाग नलिएका साथीहरु पनि आउनुभएको छ, पार्टीमा नयाँ परिस्थिति निर्माण भएको छ, म सधैं खुला छु भन्नुभयो। 

आफूहरुले उत्तेजित नभई संयम र धैर्यताका साथ अघि बढ्न आग्रह गरेको जानकारी दिए। आजकाे बैठकमा बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा नेपाल-खनाल समूहका सांसदहरु बैठकमा सहभागी भएका थिए। माधवकुमार नेपाल भने बैठकमा गएनन्। 


SHARE THIS