ऐतिहासिक भोटे मेलाले निरन्तरता पाउँदै

 

तुलसीपुर, फागुन १९ । तुलसीपुरको पर्सेनीमा ऐतिहासिक भोटेमेलाले यसवर्ष पनि निरन्तरता पाउने भएको छ । मेलाको महत्व बढाउन यसवर्ष फागुन २६ देखि चैत २ गतेसम्म मेला लाग्ने भएको हो ।

हरेक वर्ष शिबरात्रीको दिनमा लाग्दै आएको मेला पछिल्लो समय वि.स. २०५६ सालदेखि बन्द हुँदै आएको थियो । गतवर्षदेखि मेलालाई फेरि निरन्तरता दिन थालिएको हो ।

जुम्ला र हिमाली भेगतिरबाट घोडासहित जाडो छल्न दाङ झर्ने भोटेहरुको सम्झनामा भोटेमेला लाग्दै आएको हो । यसैबिच मेलालाई थप व्यवस्थित बनाउने विषयमा चलचित्र पत्रकार संघ दाङले आज पत्रकार एवं सरोकारवालासंग छलफल गरेको छ ।

संघका अध्यक्ष शिब पुनको अध्यक्षतामा भएको छलफलमा वडा नम्बर ७ अध्यक्ष टोपबहादुर केसी, वडा सदस्य रामबहादुर जिसी, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, रिर्पोट्स क्लबका अध्यक्ष शरद रेग्मी, गोरक्ष राष्ट्रिय दैनिकका देवराज भण्डारी लगायतले मेलालाई थप ऐतिहासिक महत्व झल्काउन सबैसंगको समन्वय र सहयोग आवश्यक रहेको बताउनुभयो ।

मेलामा अहिले राष्ट्रिय स्तरका कलाकारको सहभागिता रहने मूल आयोजक समितिले जनाएको छ । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका उपाध्यक्ष सन्तोष केसीले गर्नुभएको थियो ।


SHARE THIS