देउवा र प्रचण्डबीच भेटवार्ता

  काठमाण्डौ, फागुन २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मङ्गलवार भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा साँझ भएको भेटमा उहाँहरूबीच संसद्को बैठक सञ्चालन, सरकार र आउँदा राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको हो । माओवादी केन्द्रको 

मङ्गलवारको स्थायी कमिटी बैठकले ती विषयमा प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले गएको आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्वावस्थामा बिउँतिने फैसला गरेको थियो । त्यही फैसलाका आधारमा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलग–अलग राजनीतिक दलका रूपमा रहने निर्णय गरिसकेको छ ।   


SHARE THIS