दाङका आधा दर्जन वन क्षेत्रमा आगलागी

 

दाङ, चैत १४ । चैत महिना लागेसँगै जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँक अनुसार अहिले ५६ वटा जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको छ ।

दाङका आधा दर्जन वन क्षेत्रमा पनि आगलागी भएको छ । उता पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो लागिरहेको छ ।

तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्य तराई तथा केही पहाडी भेगमा डढेलो निकै फैलिएकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन् ।हिजोदेखि बढेको वायु प्रदूषणको मुख्य कारण पनि डढेलो नै रहेको वातावारण विभागका प्रवक्ता इन्दुबिक्रम जोशीले बताउनुभयो ।

वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।


SHARE THIS