इलाम आमन्त्रण पुरुष भलिबल : विमान ट्रेडर्सको पहिलो जित

 

इलाम, चैत्र ५। इलाममा आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताअन्तर्गत दोश्रो दिनको खेलमा विमान ट्रेडर्सले पहिलो जित हात पारेको छ।

दोस्रो दिन तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश गत वर्षको उपविजेता विमान ट्रेडर्स विर्तामोडसँग ३–० को सोझो सेटमा पराजित भएको हो। ठूलो टुँडिखेल मैदानमा बिहीबार भएको खेलमा भारतीय राष्टिय टोलीका तीन खेलाडी सम्मिलित विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गरेको छ।

आज नै भएको खेलमा विभागीय टोली एपिएफले दोश्रो जित निकालेको छ। दमक नगर भलिबल क्लबलाई ४–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोश्रो जित निकालेको हो। खेल एपिएफले २५–२१ ले पहिलो सेट जितेको थियो।

दोश्रो सेटमा दमकले २२–२५ को जित निकाल्यो। त्यसपछिको दुई सेट एपिएफले २५–११ र २५–१९ ले जित्यो। बिहीबारको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीले पनि दोश्रो जित निकालेको छ।

गौरादह झापाविरुद्ध आर्मीले ३–२ को सेटमा जित्यो। पहिलो सेट २५–२० ले जितेको आर्मीले दोश्रो र तेश्रो सेट क्रमश २२–२५ र २३–२५ ले हार्न पुग्यो। २–१ ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै बाँकी २ सेट आफ्नो पक्षमा पार्न सफल रह्यो। आर्मीले २५–१४ र १५–८ ले खेल जित्यो। बुधबारको खेलमा विमान ट्रेडर्सले आमीविरुद्ध खेल ३–२ को सेटमा हारेको थियो। 

गण्डकीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा हराएको थियो। समूह ‘ए’ बाट हेड टु हेडको आधारमा दुबै खेलमा जितका साथ आर्मी ४ अंकका साथ शीर्ष स्थानमा छ।

विमान २ खेलमा १ मा हार र १ मा जितसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। गण्डकी प्रदेश २ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ तेस्रो स्थानमा छ। गौरादह दुबै खेलमा हारका साथ १ अंक बटुल्दै पुछारमा छ। 

अब शुक्रबार हुने लिगको अन्तिम खेलबाट नै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ। शुक्रबार आर्मीले गण्डकीको तथा विमानले गौरादहको सामना गर्दै छ। समूह ‘बी’मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। पुलिस १ अंकका साथ दोस्रो र दमक अंकविहीन हुँदै पुछारमा छ।


SHARE THIS