पाँच बुद्धे सहमती पछि यातायात मजदुरको आन्दोलन फिर्ता (यस्तो छ सहमती)

 

दाङ, चैत १७ । दाङका यातायात मजदुरहरुले आह्वान गरेको अनिश्चितकालिन सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् ।प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा मंगलवार विहान घोराहीमा आन्दोलन पक्ष, नेपाल यातायात महासंघ र जिल्लाका यातायात प्रालि तथा सरोकारवालाहरुको बैठकमा छलफल गरी पाँच बुद्धे सहमती भएपछि आन्दोलन स्थगित गरिएको हो । जिल्लाका तिन वटा मजदुर संगठनहरुले सहमती पछि आन्दालन स्थगित गरिएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटिका अध्यक्ष केशव भबहादुर भण्डारी, नेपाल यातायात मजदुर संघ दाङका अध्यक्ष पदम बहादुर वली, ईकाई तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघ, दाङका अध्यक्ष उदय विक (प्रदिप)ले सयुक्त रुपमा विज्ञप्ती जारी गदै आन्दोलन फिर्ता लिएको जानकारी गराएका छन् । बैठकले मजदुरहरुले उठाएको मागलाई सम्वोधन गदै पाँच बुद्धे सहमती १५ दिन भित्र कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

यस्तो छ सहमती

१.यातायात प्रालिहरुले यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउने ।
२.सवै यातायात प्रालिहरुले सुरक्षा कोष ऐन २०७४ कार्यन्वयन गर्ने , गराउने ।
३.नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ र तिन वटै मजदुर ट्रेड युनियन बिच भएको बैठकले गरेको निर्णय कार्यन्वय गर्ने ।
४.कोभिड १९को भ्याक्सिन यातायात मजदुरहरुलाई लगाउने प्राथमिकतामा राख्ने ।
५. यातायात क्षेत्रमा देखीएका समस्याहरु समाधान गर्न तपसिल बमोजिमको गठित समितिले १५ दिन भित्र सुझाव सहित प्रतिबेदन सम्बन्धित निकायमा पेश गर्ने ।यातायात व्यवस्था कार्यालयका प्रमुख संयोजक रहने गरी सदस्यहरुमा तिन वटै मजदुर संघ संगठनका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवसायीहरुको तर्फबाट भरतनाथ योगी, सुमन पोख्रेल , भुवन भुसाल, मिन प्रकास भट्ट, घनश्याम बस्नेत, निम कुमार श्रेष्ठ, प्रह्लाद श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी प्रमुख रहने गरी समिति गठन गरिने भएको छ ।

गएको आईतवार तिन वटै मजदुर संगठनले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए । सोहि अनुसार मंगलवार विहानै देखी सार्वजनिक यातायात सेवा प्रभावित बनेको थियो । जसले गर्दा लामो तथा छोटो दुरीका गाडी नचलेपछि यात्रुहरु मर्कामा परेका थिए ।


SHARE THIS