जनगणनाको लागि दाङमा ९ सय बढी जनशक्ति परिचालन गर्ने तयारी


 दाङ, चैत्र २ । राष्ट्रिय जनगणना २०७८ का लागि दाङमा ९ सय बढी जनशक्ति परिचालन गरिने भएको छ । जनगणनाको लागि सुपरिवेक्षक र गणक गरी ९ सय ६ जना जनशक्ति सङख्या परिचालन गरिने भएको हो । १ सय ६७ सुपरिवेक्षक र ७ सय ३९ जना गणक परिचालन हुने तथ्यांक कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिनुभयो ।

१ जना गणकले २ सय ५० देखि ३ सय घरमा पुगेर तथ्यांक संकलन गर्नुपर्ने छ । १ जना सुपरिवेक्षकको जिम्मामा ४ जना गणक रहने भएका छन् । गणकले तथ्यांक संकलन गर्नु भन्दा पहिले सुपरिवेक्षकले घर सर्बे गर्नेछन् ।

सुपरिवेक्षकहरुले २०७८ साल बैशाख २६ देखि जेठ १४ गते सम्म घरपरिवार सुचिकरण गर्नेछन् । जनगणनाको मुख्य काम घरमा पुगेर गणकहरुले जेठ २५ गते देखि असार ८ गते सम्म गणना गरिने भएको छ ।

यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । अघिल्ला वर्षहरुमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति भर्ना गर्न थालिएको छ । शिक्षकहरुलाइ खटाउदा पठाइमा समेत समस्या पार्ने भएको भन्दै सरकारले करारमा जनशक्ति लिन थालेको हो ।

जनगणनाका लागि चैत १ मा जिल्लाहरुमा जिल्ला जनगणना कार्यालय स्थापना भएका छन् । कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति र जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाई–सराई आदि विवरणहरू संकलन गर्ने गरिनेछ ।


SHARE THIS